ज्येष्ठ नागरिक ऐन ओझेलमा

हेल्थपोस्ट नेपाल

काठमाडाैं-ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को कार्यान्वयनमा बेवास्ता हुन थालेको छ। ऐनमा उल्लेख भएअनुसार सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी तथा चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा दुईवाट सिट सुरक्षित राख्नुपर्ने र भाडादरमा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेपनि त्यसको कार्यान्वयनमा चासो नदिएको गुनासो बढेको छ।

ऐन कार्यान्वयनमा आएको सात वर्षपछि सरकारले ‘सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई छुट र सुविधा दिने सम्बन्धी कार्यविधि,२०७०’ मा पचास प्रतिशत छुटलाई कार्यान्वयनमा ल्याउन, सरकारले तोकेको स्वास्थ्य संस्थामा उपचारमा लाग्ने शुल्कमा ५० प्रतिशत छूट दिनुपर्ने व्यवस्था गरिए पनि त्यसको कार्यान्वयन हुनसकेको छैन।

ऐनमा सार्वजनिक सवारीसाधन, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिकस्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा, सुविधा र सहयोग उपलब्ध गराउन गराउनु सबैको कर्तव्य हुनेछ भनिएको छ।

संविधानको धारा ४१ को ज्येष्ठ नागरिकको हकमा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनिएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले ऐनमा व्यवस्था भएको अधिकार नै कार्यान्वयन नभएकाले सरकारले नै पहल गर्नुपर्नेमा जोड दिए।

उनले ज्येष्ठ नागरिकलाई भाडामा छुट दिनुपर्ने भएकाले गाडीमा चढाउन र भाडा छुट दिन आनाकानी गर्ने गरेकोसमेत गुनसो गरे। ज्येष्ठ नागरिकहरुले परिचयपत्रको आधारमा सार्वजनिक यातायातामा र सरकारी अस्पताल (स्वास्थ्य उपचारमा)मा ५० प्रतिशत छुट दिने व्यवस्थालाई व्यवहारिक रुपमै कार्यान्वयनमा ल्याइनुपर्ने माग गर्दै आएका छन्।

५-६ वर्षदेखि ७७ वटै जिल्लामा रहेका महिला बालबालिका कार्यालयबाट ज्येष्ठ नागरिक परिचयपत्र वितरण हुँदै आएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्राललयले जनाएको छ । सरकारले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई मात्र वृद्ध भत्ता दिने गरेकाले ६० वर्षदेखि नै दिनुुपर्ने मागसमेत जेष्ठ नागरिएकको छ ।



Leave a Reply

Your email address will not be published.