‘बिरामी खोज्दै आउँदा आफ्नै घरका मानिस भेटेजस्तो लाग्छ’

चितवन छाडेको ६ महिना भइसकेछ। त्यहाँ नियमित हेरिरहेका बिरामी खोज्दै खोज्दै वीर अस्पताल आउनुहुँदा स्वाभाविक रुपमै आफ्नै घरका मान्छे भेट्दै आत्मीय अनुभव हुन्छ।
‘डाक्साब उतै आउनुभए हाम्लाई कति सजिलो हुन्थ्यो नि,’ बाले समस्याको पेटारो खोल्नुभयो।
‘आउन त महिनाको एक फेर चितवन आउछु बा। डाक्टरी फी त ल म मिनाहा गरिदिउँला। तर उताको ल्याब महंगो पर्छ। उता एक पटक जचाउँदा लाग्ने खर्चले यहाँ कम्तीमा तीन पटकलाई पुग्छ नि,’ आर्थिक पक्ष केलाउँदै बालाई ढाढस दिने मन भयो।
‘बा’ ले एक–एक हिसाबको फेहरिस्त निकाल्नुभयो–आउँदा जाँदाको बस भाडा तिर्नैपर्यो। एकै दिनमा रिपाेर्ट पाइदैन। होटलमा दूई दिन बस्नै पर्यो। खानै पर्यो। सबै खर्च जोड्दा हजुर उतै आउँदा हामीलाई सस्तो पर्छ नै, सजिलो पनि हुन्छ।
बाको मिहिन हिसाबकिताबका अगाडि नतमस्तक हुँदै मनमनै गमियो–आर्थिक,सामाजिक र मनोवैज्ञानिक पक्षहरुसँग कस्तोसँग सामन्ज्यस्ता मिलाउँदै अघि बढेको छ नि है मानव जीवन?