पाेखरामा स्तन तथा पाठेघर मुखको क्यान्सर शिविर

हेल्थपोस्ट नेपाल

पाेखरा-पोखरा महानगरपालिका–११ रानीपौवामा महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निः शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

मार्गदर्शन महिला समूहद्वारा आयोजित सो शिविर गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाको आर्थिक सहयोगमा भएकाे हाे। थापाले प्रदेशसभा सदस्य भएदेखिनै आफूले पाउने तलब, भत्ताबापतको रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएका छन्।

शिविरको शुभारम्भ गर्दै मन्त्री थापाले प्रदेश सरकारले समेत क्यान्सर तथा पाठेघर मुखको क्यान्सरबाट पीडित महिलालाई उपचारका लागि सहयोग गर्दै आएको जानकारी दिए।

त्यस्ता बिरामीलाई सङ्घीय सरकारले रु एक लाख र प्रदेश सरकारले रु ५० हजार उपचारार्थ उपलब्ध गराउँदै आएको छ । शिविरमा गण्डकी मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा अनु हीराचनसहितको स्वास्थ्यकर्मीको टोलीले १६१ महिलाको स्वास्थ्य परीक्षण गरेको थियो।

सो अवसरमा १० महिलाको थप उपचार गर्नुपर्ने देखिएकाले अस्पतालमा सिफारिस गरिएको कार्यक्रम संयोजक अंशु शेर्पाले जानकारी दिइन्। कार्यक्रममा आवश्यक औषधि पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले उपलब्ध गराएको शाखा प्रमुख सविना श्रेष्ठले जानकारी दिइन्। पोखरा महानगरपालिका–११ का वडाध्यक्ष मोहन बास्तोलाले मार्गदर्शन महिला समूह समाजका लागि एक उदाहरण बनेको उल्लेख गर्दै शिविरबाट समाजका विपन्न एवं असहाय वर्गले बढी फाईदा लिने गरेको बताए।

 



Leave a Reply

Your email address will not be published.