‘युद्धभूमि’ बाट नेपाली उद्धार गर्ने पोल्यान्डका डाक्टर दम्पती

काठमाडाैं-

फेब्रुअरी २४ अर्थात् फागुन १२ गते रुसले युक्रेनमाथि आक्रमण सुरु गर्दैगर्दा पोल्याणन्डमा बस्दै आएका डा. बोधराज सुवेदीको मनमा झट्ट याद आयो, अहो! युक्रेनका नेपाली…!

नभन्दै रुसले पूर्वी युक्रेनबाट सैन्य कारबाही सुरु गरिसकेको थियो र छेउछाउका मानिसले घर छाड्न थालिसकेका थिए। युद्धको त्रास त थियो तर, सुरूमा धेरै नेपाली बस्ने ठाउँमा त्यो युद्ध पुगिहाल्छ जस्तो लागेको थिएन।

लगत्तै अर्को दिनदेखि राजधानी वरिपरिका सहरहरूमा पनि खतराका ‘साइरन’ हरू बज्न थालिसकेका थिए। मानिसहरू भूमिगत मेट्रो स्टेसनहरूमा थुप्रिन थालेका थिए र बंकरहरूमा लुक्न थालिसकेका थिए।

धेरैजसो नेपाली विद्यार्थी भने कलेजकै होस्टेलहरूमा थुनिएका थिए। दुई दिनपछि जर्मन दूतावासले एउटा सूचना जारी गर्दै युक्रेन छाडेर बाहिरिनेहरूका लागि छेउछाउका देशहरूमा रहेका नेपाली प्रतिनिधिका सम्पर्क दियो। सम्पर्क व्यक्तिको त्यो लिस्टमा एउटा नाम डा. बोधराजको पनि थियो।

लगत्तै उनको मोबाइल अनि ह्वाट्सएपमा नेपालीका फोन बज्न थाले। युद्ध साइरनका बीच उनीहरूको आवाज काँपिरहेको थियो।

नेेपालीको उद्धार र व्यवस्थापनमा खटिइरहेका उनले आइतबार आयोमेलसँग छाेटाे भर्चुअल संवाद गरेका थिए।

‘निकै भय र त्रासमा हुनुहुन्थ्यो। हामीलाई यहाँबाट जसरी भए पनि निकाल्नुस् भनेर अनुरोध गर्नुहुन्थ्यो,’ डा. सुवेदी भन्छन्, ‘हामीले त्यो बेलासम्म अब उहाँहरूलाई उद्धार गर्नुपर्छ भनेर तयारी थालिसकेका थियौं।’

झटपट उनी आफ्ना साथी र परिवारका सदस्यहरूसहित त्यतातिर हुँइकिए। युक्रेन र पोल्यान्डबीचको सबैभन्दा ठूलो बोर्डर हो मेडिका। पोल्यान्डको राजधानी वार्साबाट करिब ४ सय ५० किलोमिटर गाडी हाँकेर उनी सिमानामा पुगे।

त्यो बेलासम्म अरु युक्रेनीसँगै नेपाली विद्यार्थी पनि जम्मा भइरहेका थिए। केहीबेरमा ११ नेपाली त्यहाँ जम्मा भए। कयौं घन्टा पैदलसमेत हिँडेर त्यहाँ पुगेका उनीहरू निकै थकित र त्रसित देखिन्थे।

डा. सुवेदीहरूले ती नेपालीलाई वार्सा पुर्‌याए। आफैं पनि डाक्टर भएका नाताले उनीहरूको स्वास्थ्यअवस्था बारे पनि सुवेदीले सोधपुछ गरे।

‘युद्धमा ज्यान जोगिए पनि यस्तो बेलामा धेरै त्रास हुन्छ। मानसिक र अरु पनि स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ,’ उनी भन्छन्, ‘त्यसैले सुरुमा उहाँहरूको स्वास्थ्यस्थितिका बारेमा चिन्ता भएको थियो।’

त्यो बेलासम्म युक्रेनले आफ्नो देशबाट कसैलाई पनि बाहिरिन दिएको थिएन। बरु, उसले सबै नागरिकलाई फौजमा भर्ना हुन र रुसविरूद्ध लड्न आह्वान गरिरहेको थियो।

२८ फेब्रुअरीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा सिमानामा एउटा ‘हेल्प डेस्क’ पनि स्थापना भयो। संघका अध्यक्ष कुमार पन्तसहित केही प्रतिनिध त्यहीँ बसेर नेपालीको उद्धारमा खटिए। त्यो समूहमा डा. बोधराजका आफ्ना छोरा पनि सक्रिय थिए।

उता वार्सा पुगेका नेपालीको टोलीलाई त्यहाँ रहन बस्नका लागि उनकी श्रीमती डा. अलिनी पोख्रेल सुवेदीले चाँजोपाजो मिलाउँदै थिइन्। सहरका होस्टेलहरूसँग सहकार्य भयो। त्यहाँको स्थानीय प्रशासनले सुवेदीहरूकै अनुरोधमा केही होटेलहरूमा पनि नेपालीलाई राख्ने काममा सहयोग गर्‌यो। कतिलाई त नेपालीले आफ्नै निवासमा राखे।

मार्च १ मा फेरि अर्को खबर आयो १५-२० नेपालीलाई त्यहाँको सुरक्षा निकायले बोर्डरमा थुनिराखेको थियो। कागजपत्र अभावमा ‘कस्डटी’ मा परेका उनीहरूलाई सुवेदीका छोराले कुराकानी गरेर छुटाए। अनि, त्यहाँबाट बस, ट्रेन अनि निजी गाडीहरूमा राखेर उनीहरूलाई पनि वार्सा लगियो।

करिब ३२ वर्षदेखि पोल्यान्डमै बस्दै आएका सुवेदी परिवारका सबैजना त्यहीँकै बासिन्दा हुन्। छात्रवृत्ति पाएर पढ्न गएका उनी पढाइ सकेर उतै ‘सेटल’ भए। अहिले उनी युरोपियन हेल्थ सेन्टरका विभागीय प्रमुख पनि छन्। उनी पोल्याण्डको ‘पोलिस नेप्लीज फाउन्डेसन’का अध्यक्ष पनि हुन् र एनआरएनएको राष्ट्रिय समन्वय परिषदका सदस्य पनि। अरू पनि थुप्रै सामाजिक र साहित्यिक संघसंस्थाहरूमा उनी आवद्ध छन्।

‘विदेशमा रहँदा-बस्दा एउटा नेपालीलाई दु:ख पर्दा अर्को नेपालीले साथ दिनुपर्छ’ उनी भन्छन् ‘फेरि युद्ध भनेको भयानक हुन्छ। पढ्न गएका धेरै कलिला विद्यार्थीहरू यसबाट झन आक्रान्त भएका हुन्छन्।’

उनीमात्रै होइन नेपालीलाई युक्रेनबाट उद्धार गर्न, उनीहरूको व्यवस्थापन र स्याहार्नका लागि उनका परिवारै खटिए। उद्धारका लागि जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्का पनि युक्रेन र पोल्याण्डको बोर्डरमा पुगेका थिए।

युक्रेनमा अब कति नेपाली छन्, त्यहाँबाट निस्केकाहरू कहाँ छन्?

युक्रेनमा अब कम्तीमा ५० जना नेपाली अझै छन्। शनिबारमात्रै रूसी फौजले राजधानी किभमाथि आक्रमण गर्दैगर्दा त्यहाँको भुमिगत मेट्रो स्टेशनमा केही नेपाली थुनिएको खबर उनले सुनेका थिए।

‘त्यही दिन नै मैले राजदूत रामकाजी खड्काज्यूसँग कुराकानी गरेको थिएँ’ उनी भन्छन् ‘अब युक्रेनमा धेरै नेपाली हुनुहुन्न। कम्तीमा ४०-५० जनाजति बाँकी हुनुहुन्छ कि भन्ने आंकलन गरेका छौं।’

उनका अनुसार धेरैजसो विद्यार्थीहरूले युक्रेन छोडिसकेका छन्। अब त्यहाँ स्थायी बसोबास गरिरहेका नेपालीमात्रै हुनसक्ने उनको अनुमान छ।

करिब ५ सयभन्दा धेरै नेपालीले युक्रेन छोडिसकेका छन्। तीमध्य करिब ४६६ जना नेपालीलाई सुवेदी परिवार र उनको समूहले उद्धार गरेर पोल्याण्ड पुर्‌याएको थियो। त्यहाँ पुगेका नेपाली पनि लगभग धेरै बाहिरिइसकेका छन्। उनीहरू युरोपियन युनियनकै अरू देशमा पुगेका छन्। सबैभन्दा धेरै पोर्चुगलतिर लागेका छन्। किनकि अरू देशमा भन्दा पोर्चुगलमा कानुनी झमेला अलि कम हुनसक्छ।

युरोपियन युनियनले पनि आफ्ना सबै सदस्य राष्ट्रहरूलाई युक्रेनबाट आएका सबैलाई सजिलो तरिकाले आश्रय दिन भनेको छ। उसको यो निर्णयले अब नेपालीहरूसमेत युरोपियन युनियनका सदस्य राष्ट्र जहाँ पनि रहन बस्न सक्छन्।

उनीहरूलाई ती देशहरूले बिना झन्झट एक वर्षसम्मका लागि बस्न दिनेछन्। पढ्ने विद्यार्थीहरूले पनि सम्बन्धित कलेजसँगको समन्वयमा पढ्न पाउनेछन्।

‘युरोपियन युनियनले सबैलाई एक वर्षका लागि कुनै झन्झटबिना रहनबस्न दिने भनेको छ। विद्यार्थीहरूले पनि आफ्नो विषयअनुसार कलेजहरूसँग अनुरोध गरेमा पढ्न पाउनुहुन्छ’ सुवेदी भन्छन् ‘धेरै नेपालीहरू पोर्चुगलतिर छिरेका छन् र अरू देशमा पनि छरिएका छन्।’

उनका अनुसार धेरै नेपाली अहिले नै नेपाल फर्किन चाहिरहेका छैनन्। युद्ध अनिश्चित छ। फेरि युक्रेनमा शान्ति छाउन थुप्रै समय लाग्नसक्छ। त्यसैले उनीहरू वरिपरिका अरू युरोपेली देशमै रहन चाहन्छन्। अहिलेसम्म भारतको सहयोगमा चारजना नेपाली फर्किएका छन्।

‘बाँकी धेरैले नेपाल फर्किन्छौं भन्नु भएको छैन। उहाँहरू अरू नै देशमा पुगेर सेटल भइरहनुभएको छ’ उनी भन्छन् ‘नेपाल फर्किन चाहनेहरूलाई हामीले पनि सहजीकरण गर्छौं।’

उनका अनुसार युक्रेन छोडेका नेपालीका लागि एनआरएनएले उनीहरु बस्न चाहेको सम्बन्धित देशमा कानुनी सहायता पनि गर्ने भएको छ। पोल्याण्डबाहेक अरू देशमा रहेका एनआरएनएका प्रतिनिधिहरूले पनि त्यहाँ पुगेका नेपालीलाई सहजीकरण गरिरहेका छन्।

युक्रेन वरिपरीका देशमा रहेका नेपालीहरूलाई सहजीकरणका लागि एनआरएनएले एउटा उच्चस्तरीय उद्धार टिम पनि बनाएको छ। त्यसको नेतृत्व रुसनिवासी एनआरएनएका उपाध्यक्ष डा. वद्री केसीले गरिरहेका छन्।

सुरूमा युक्रेनमा करिब २-३ नेपाली रहेको अनुमान गरिएको थियो। तर त्यहाँ धेरै नेपाली रहेको देखियो। पढ्न गएकाहरूदेखि वर्षौंदेखि युक्रेनमै बसिरहेका नेपालीसमेत छन्।

सबैजसो देशमा युद्धको त्रास

‘यहाँको अवस्था हेर्दा यो युद्ध त्यत्ति चाँडै अन्त्य हुने स्थिति छैन’ पोल्याण्डबाट सुवेदीले भने ‘वरिपरी पनि त्यस्तै माहोल छ। रुसले अब कुन देशलाई निशाना बनाउँछ भन्ने त्रास सबैमा छ।’

युद्ध कति भयानक र दर्दनाक छ त्यो त युक्रेनीहरूलाई जति दुखेको छ, त्यो दुखाई अरूले सायदै महसुस गर्लान्। तर त्यहाँको परिस्थिति र अवस्थालाई नजिकैबाट नियालेका सुवेदीलाई लाग्छ, ‘यो चाँडै सकिने युद्ध होइन, सकिए पनि यसको घाउ पछिसम्मै दुख्नेछ।’

केही दिनअघि मात्रै युक्रेनमा ३० वर्षदेखि बस्दै आएका एक नेपाली परिवारले युक्रेन छोडेको छ।

‘यो स्थितिलाई नियाल्दा त्यहाँ अरू पनि लामोसमयदेखि बस्दै आएका नेपालीहरू रहेको अनुमान गर्न सकिन्छ’ सुवेदी भन्छन् ‘अनि अर्को कुरा ३०औं वर्षदेखि त्यहिँ बसिरहेकाहरूले त अब छोड्ने स्थिति आयो भने युद्ध कति भयानक भइरहेको छ भन्ने बुझिन्छ। अनि यो युद्ध अब चाँडै सकिने छैन भन्ने अनुमान लगाउन पनि सकिन्छ।’

अहिलेसम्म लाखौं युक्रेनीहरूले देश छोडिसकेका छन्। तीमध्ये करिब १६ लाख युक्रेनी पोल्याण्डमा आश्रय लिन पुगेका छन्। पोल्याण्डले सारा युक्रेनीहरूलाई सजिलै प्रवेश दिइरहेको छ। उसले करिब ४० लाख युक्रेनी पोल्याण्ड आउनसक्ने भन्दै त्यहीअनुसारको शरणार्थी व्यवस्थापन गरिरहेको छ। करिब २५ लाखभन्दा धेरै मानिसले युक्रेन छोडिसकेको अन्तर्राष्ट्रिय नियोगहरूले जनाएका छन्।

युक्रेनले १८-६० वर्षसम्मका पुरूषलाई भने युक्रेन छोड्न प्रतिवन्ध लगाएको छ। त्यसैले धेरैजसो देश छोड्नेहरू बालबालिका र महिलाहरू छन्।

खारकिभ अनि मारिऊपोलजस्ता महत्वपूर्ण रणनीतिक सहरहरू ध्वस्त बनाएपछि रुसको सेनाले युक्रेनको राजधानी किभलाई सबैतिरबाट घेरा हालेको छ। सुरक्षित स्थानमा जान लागेका मानिसहरूमाथिसमेत रुसका सेनाले आक्रमण गरेर ‘हत्या’ गरेको युक्रेनले आरोप लगाएको छ। किभवरिपरि विष्फोट अनि युद्ध साइरनको आवाजले सहर झनै आक्रान्त भइरहेको छ।



Leave a Reply

Your email address will not be published.