फ्रान्समा सोमबारदेखि कोरोनाविरुद्धको चौथो खोप लगाइने

हेल्थपोस्ट नेपाल

पेरिस–फ्रान्समा कोरोनाविरुद्धको चौथो खोप लगाइने भएको छ। सरकारी अधिकारीहरुले सोमबारदेखि जेष्ठ नागरिकलाई खोप लगाउने तालिका बनाइएको जानकारी दिएका छन्। पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेरका नागरिकलाई खोप लगाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरुको भनाइ छ।

खोपको चौथो मात्रा लगाउनका लागि तेस्रो खोप अर्थात बुस्टर डोज खोप भने लगाइसकेको हुनु पर्ने सर्त राखिएको छ । शनिबार प्रकाशित एउटा अन्तर्वार्तामा प्रधानमन्त्री जेन कास्टेक्सले वृद्धवृद्धाबाट चौथो खोप लगाउने अभियान सुरु हुने जानकारी दिएका हुन्।

प्राथमिकता र आवश्यकताका आधारमा खोप लगाउने वर्ग तथा क्षेत्र विस्तार गरिदै लगिने उनको भनाइ थियो । फ्रान्समा ८० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुको सङ्ख्या ४१ लाख रहेको अधिकारीहरुले जानकारी दिएका छन्। तीमध्ये ४१ लाखले मात्रै बुस्टर डोज खोप लगाएको देखिएको छ।

फ्रान्समा अहिले पनि दैनिक ७० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप ७२ हजार ४४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।



Leave a Reply

Your email address will not be published.