क्रमबद्ध भ्रम

त्यस दिन मलाई सजाय सुनाउने दिन थियो । ब्रह्ममुहूर्तमा उठेर, नित्य कर्म सकिवरी म तोकिएकै समयमा विष्णुलोकस्थित न्यायालयको द्वारमा पुगी सभाकक्ष जाने टोकन लिईसकेको थिएँ । चार–चार जनाको समूह बनाई भित्र प्रवेश दिने व्यवस्था मिलाईएको रहेछ । चार जना पुग्नासाथ हामी अपराधीहरुको पहिलो समूह न्यायालयमा पुर्‍याइयौं । वर्णानुक्रमअनुसार फैसला सुनाईने मेरो पालो एक नम्बरमै परेको थियो।

‘बैकुण्ठ वाटिकामा परस्त्री स्पर्शको अभियोग लागेका सोही वाटिकाका कर्मचारी, तपाईंलाई मर्त्यलोकको समयलाई आधार मानि कम्तिमा ५० वर्ष अर्थात् विष्णु लोकको ६ महिना अवधिका लागि मर्त्यलोकमै रहनुपर्ने गरी सजाय तोकिएको र सो अवधिभर निलम्वन गरिएको व्यहोरा तपाईंलगायत सबै विष्णुलोकवासीलाई अवगत गराउन चाहन्छौं ।’

सजाय सुनाउनासाथ म बेहोस भएँ । केही बेरमा होस आउँदा मलाई बाटिकाकै वैद्यखानामा राखिएको पाएँ । म बेहोस भएको खवर विष्णुजीसमक्ष पुगिसकेको रहेछ ।

‘सजाय कडा भयो ?’, विष्णु भगवानले मेरो नजिकै आएर सोध्नु भयो ।

‘मबाट गल्ति भएको थिएन ख्वामित ! थोरै असावधानीमात्र भएको हो, मैले गलत नियतले ती महिलालाई स्पर्श गरेको थिईनँ । म पुष्पालय जाँदै गर्दा निकै साँघुरो मोडका कारण अनायास तिनीलाई स्पर्श हुन पुग्यो,’ मैले प्रभुका अघि बिन्ति बिसाएँ ।

केहीबेर ध्यानदृष्टिले विचार गरेपछि प्रभुले मेरो सजाय केही कम गरिदिनु भयो । अब म मर्त्यलोकमा ३० वर्षभन्दा बढ़ी बस्नु नपर्ने भयो ।

मलाई केही राहत महसूस भयो । मत्र्यलोकमा ५० वर्ष बिताउनु पर्ने कहालीलाग्दो र कष्टदायक समयमध्ये, लगभग आधा समयजस्तै कटौती गरिएकोमा म निकै हर्षित बनें ।

तर अब यो बैकुण्ठ लोकबाट प्राप्त हुने सबै सुख सुविधाबाट भने म पूर्ण रुपले वञ्चित बनिसकेको थिएं । अब यहाँंको भोजनालयमा तयार हुने चौरासी व्यन्जन मेरा लागि कागलाई बेलसरह बनेको थियो । आकाश बाटिकामा सुप्रसिद्ध कालिगढहरुले तयार पारेको आराम कक्षमा आजैका मितिदेखि म जान नपाउने भएँ । यतिमात्र होईन, मैले प्रयोग गर्ने गरेको पुष्पालयको मिनी पुष्पकवाहन, हरेक १५ दिनमा गर्न पाउने स्वर्गलोकको आन्तरिक भ्रमण, मेरो नियमित प्राप्त हुने लोभलाग्दो मासिक पारिश्रमिक र मलगायत मेरा परिवारले प्रयोग गर्नें गरेको त्यो अत्याधुनिक सुविधासम्पन्न आवास गृहसमेत त्यसै मितिदेखि मैले त्याग गर्नु पर्ने भयो ।

निस्कने समयमा भगवानबाट आज्ञा भयो, ‘वत्स, त्यहाँ पाईला टेकेको दिन तिमीले यहाँको सबै कुरा सम्झन सक्छौ, आफू अपराधको सजाय भोग्न आएको र आफ्नो कारावास अवधि त्यहाँको प्रचलित गणनाअनुसार ३० वर्ष रहेकोसमेत तिमीलाई हेक्का हुनेछ । क्रमशः त्यहाँको बसाई बढ्दै जाँदा स्मरणशक्ति मन्द गतिमा क्षय हुँदै जानेछ । जब तिमी त्यहाँका अन्य अपराधीसँग दोहोरो बोल्न सक्ने अवस्थामा पुग्ने छौ, तिम्रो स्मरणशक्ति अत्यन्त कम हुनेछ, तिनिहरुकै जस्तो । यसैगरी युवावस्थामा पुग्दा तिम्रो स्मरणशक्ति शून्यमा झर्ने छ । अब तिमी विष्णुलोकबाट त्यस लोकमा अपराध गरेबापत सजाय काट्न आएको हुँ भन्नेसमेत बिर्सने छौ ।’

मैले शंका लागेर पुनः प्रभुसँग बिन्ती बिसाएँ, ‘स्मरणशक्ति हराएपश्चात् मेरो त्यो कारावासको अवधि ३० वर्षभन्दा बढी हुन सक्छ प्रभु । मलाई कुनै प्रकारको संकेत पठाई दिनुपर्छ ।’ त्यस विषयमा पनि प्रभुले सकारात्मक उत्तर दिँदै भन्नुभयो, ‘तिम्रो आजसम्मको ईमान्दारिता, त्याग र कामप्रतिको लगन देख्दा त्यो मागसमेत पुरा हुनेछ । धेरै चिन्ता नलिई जाऊ, त्यहाँ सजाय भोग्न जाने तिमी एक्लै होईनौं, तिमीजस्ता अरबौं मान्छेहरु हुनेछन् । तर याद राख, ३० वर्ष बितेपछि भने तिमी तुरुन्त फर्कनु पर्छ ।’

म यस धरामा एउटा बच्चाको रुप लिएर अवतरित भएँ । विसं २०२१ साल फाल्गुन शुक्ल तृतीयाका दिनमा । भारत वर्षको नेपाल भन्ने देश, जहाँ एउटा गोरखा नाम गरेको जिल्ला छ । त्यस जिल्लाको उत्तर पूर्वमा रहेको तान्द्राङ भन्ने एउटा सानो गाउँमा । म जन्मिएपछि मेरो शरीरमा लेखिएको उत्पादन मिति र समाप्ति मिति हेर्न बिर्सिईन मैले ।

स्पष्ट देवपुरी लिपीमा लेखिएको थियो । हातका हत्केलामा हेरेपछि म विश्वस्त भएँ । प्रभुले भनेका कुराहरु अक्षरसः हातका हत्केलामा अंकित थियो, प्रमाणका रुपमा । मनमनै भगवानलाई धन्यवाद दिएँ ।

बिस्तारै म खेल्ने–खाने क्रममा अल्मलिन थालेँ । मेरो घर भनिएको स्थान, जहाँ मैले यस धर्तिमा रहुन्जेल ३० वर्षको कारावासको समय त्यसैमा बिताउनु छ । त्यहाँ पनि धेरै नै मान्छेहरु थिए । म हरेकको अनुहार हेर्थें, तिनीहरुको अनुहार हेरी सोच्थें–यो के अपराधको सजाय काट्न आएको होला?

म आफैँलाई प्रश्न गर्थें ।

सोधौं, मसँग आवाज थिएन । मेरो ईसारा कसैले बुझ्दैनथ्यो । मेरो उमेररुपी अपराधको सजायँ, दिन–महिना–वर्ष गरि घट्दै थियो, त्यसैलाई मान्छेहरु मेरो उमेर बढदै गरेको सम्झिरहेका थिए । यता मेरो स्मरण शक्तिमा भने तीव्र रुपमा ह्रास आईरहेको प्रत्यक्ष महसुस गर्दै थिएँ म ।
अब मलाई मर्त्यलोकको यस कारागारमा राखिएको ३ पुगेर ४ वर्ष लागिसकेको थियो, म अन्य मान्छेहरुसँग दोहोरो बातचित स्पस्ट तरिकाले गर्न थालेको थिएँ ।

त्यसैले होला अब मलाई कारागार जीवन बिताउन आएको सम्झना पटक्कै हुन छाड्यो ।

अब म यो सिंगों कारागाररुपी मुलुकलाई आफ्नो देश भन्न थालें । आफ्नो गाउँ, आफ्नो हजुरबा, हजुर आमा, बा, आमा, दाजु, भाइ, दिदी, बैनी र अरुले प्रयोग गर्ने गरेका शव्दहरु सापटी लिई म पनि मान्छेहरुलाई अनेकौं नाता लगाएर बोलाउन लागें । मलाई यहाँको सरकार, अड्डाअदालत, खेतबारी, घर सबै आफ्नैजस्तो लाग्थ्यो । हुन पनि ती सबैलाई म आफ्नै भन्थें ।

आफूंले परस्त्री स्पर्शजस्तो गम्भीर अपराधको सजाय भोग्दै गरेको कुरा बोली फुटेपछि मैले कुनै दिन पनि सम्झन सकिनँ ।

त्यसताका म यस धर्तिमा सजायँ भोग्न आएको लगभग ३० वर्ष पुग्नै लागेको हुँदो हो । यस धर्तिमा उपभोग मिति सकिएर शिशाको बोतलमा मान्छेहरुले राखेको सिटामोल झोलजस्तै बनेको छु म । जसलाई उपयोग गर्न पनि नहुने र राखिराख्नुको पनि कुनै औचित्य थिएन । त्यसैले उपभोग्य मिति समाप्त भै सकेको त्यो सिटामोलको झोल र ममा कुनै तात्विक भिन्नता थिएन ।

जुन दिन मलाई आकाशवाणी भएको थियो । वीर अस्पतालको नयाँ भवन, जसभित्र रहेको नेफ्रोलोजी विभागको शल्यकक्षमा मेरो यहाँ भनिने गरेको शल्यक्रिया हुँदै थियो । यस लोकमा सजाय भोग्न आएकी एक महिला, जसलाई यहाँ सजाय भोगिरहेका केही मेरा आफन्त र परिवारका सदस्यहरूले यहाँको परम्परा अनुसार मेरो अर्धांगिनी बनाईदिएका थिए । जसलाई यहाँ सजिलोका लागि श्रीमती भनिन्थ्यो।
हो उनको र मेरो शरीर सँगै रहेका अलग–अलग दुई कोठामा धमाधम चिर्दै थिए केही नाम चलेका डाक्टरहरु । मानौं बैकुण्ठलोकको नरक विभागमा अपराधीहरुलाई चिर्ने काम धमाधम भइरहेको छ । मत्र्यलोककै कुरा गर्दा दशैंमा शिरछेदन गरी खुईल्याईएको खसीलाई खुकुरीले चिरेजस्तै चिर्दै थिए उनीहरु ।

त्यो शल्यक्रिया गर्दा बनाईने बेहोसीको समयमा यी सबै पुराना घटनाक्रम मेरो मानसपटलमा एक पछि अर्को गर्दै अत्यन्त क्रमबद्ध तरिकाले ताजा बनेर आईदिए ।

‘वत्स, तिम्रो सजाय अवधि पुरा भयो ।’

अब भने म प्रभुकै स्मरणमा लागें । मलाई आकाशवाणी भएजस्तो लाग्यो ।

‘ओहो ! प्रभु त्यसो हो भने मेरो यो शल्यक्रिया असफल रहोस् ।’

दुर्भाग्यवश डाक्टरहरु पुनः एक पटक शल्यक्रिया सफल भएको घोषणा गर्दै बाहिर निस्के । यता मलाई भने ठूलो असफलता हात प¥यो । सायद भगवानले मेरो प्रार्थना सुनेनन् वा सुन्न चाहेनन् ।

अब म छाँगाबाट खसेजस्तै भएको थिएँ ।

अर्को कुनै दिन म अब यहाँको प्रचलित समय अनुसार ४३ वर्ष पुगेको दिन थियो सायद । एक्कासी पुनः बेहोस भएको थिएँ, झटपट मैले भगवान सम्झिएँ ।

‘प्रभु बेहोसीमा पाएको संकेतको कुनै अर्थ रहेन छ । मलाई स्पस्ट संकेत चाहियो । मेरो सजाये अवधि त तोकिएभन्दा १३ वर्ष बढ़ी नाघिसकेछ।’

‘म स्वयं उपस्थित भइ तिमीलाई ठीक ३० वर्ष पुग्नासाथ सम्झाएकै हो । तिमी यति व्यस्त भइसकेका थियौ कि मेरो संकेत तिमीले बुझ्न सकेनौ । तिम्रो मानसपटलमा सजायका लागि आएको भन्ने कुरा कहिले ताजा बनेर आएन ।’

बैकुण्ठलोकको त्यो पद र प्रतिष्ठा, मान सम्मान, अनि त्यो स्वर्गीय आनन्दलाई स्मृतिमै हराई दिएर यो कारागारमा अझै रहनका लागि म्याद थपमाथि म्याद थप गर्दै रहेको छु म । यो कारागारभित्र मान्छेहरुले कैयौं अरु साना कारागारहरु निर्माण गरेका थिए । बैकुण्ठलोकको कारागार र मान्छेले निर्माण गरेको कारागारभित्रको कारागारमा निकै भिन्नता थियो । यहां परस्त्री स्पर्श गर्नेलाई मात्र होईन ठूला–ठूला बलात्कारीहरुलाई समेत ल्याईन्न थियो । भ्रष्टाचारीहरुलाई समाएर सजाय दिने प्रचलन थिएन । त्यसैले होला भ्रष्टहरु लाजै नमानि शिर उँचो गरेर डुलिरहेका देखिन्थे । यहाँ आफ्ना भाइ भारदार एवं आफन्तहरुलाई छुट गरिन्थ्यो तर बैकुण्ठलोकमा भने सबै प्रकारका अपराधीलाई सानै किन नहोस्, मत्र्यलोक नाम गरेको यही कारागारमा जसरी पनि पठाईन्थ्यो । कारागार राख्ने अवधि भने अपराधको प्रकारले निर्धारण गरिन्थ्यो । यहाँ र त्यहाँको सबैभन्दा ठूलो भिन्नता यही नै रहेछ ।

यहाँ सजाय भोगिरहेका सबै अपराधीलाई भगवानले पूर्वस्मृति दिएको भए यहाँ लाखौं उपभोग्य मिति समाप्त भएका हरु पटक–पटक म्याद थप गरेर बसिरहने थिएनन् होला । बैकुण्ठलोकको स्वर्गीय आनन्द लिन अनेक बहाना बनाएर उतै गईसक्थे सायद । मान्छेहरु संसार झुटो भन्छन् । तर म भन्छु झुटो होईन यो त बैकुण्ठलोकमा आपराधिक घटनामा संलग्न हुनेहरुलाई पठाईने साँच्चैको कारागार हो । जहाँ रहेर सजायँ सकिएपछि वास्तविक संसारमा फर्कनु पर्ने छ सबैले ।

मलाई ३० वर्षंको सजाय तोकिएर यस कारागारमा राखिएको अवधि क्रमशः बढ्दै गइरहेको छ । तोकिएको ३० वर्षको सजाय ५५ वर्षदेखि म यहीँ रहेर भोग्दैछु । थाहा छैन अझैं बाँच्ने लोभमा केही वर्ष अझै कैदको समयमा बढ़ोत्तरी हुने सम्भावना देखिरहेको छु । यसका लागि अन्जानमा म स्वयं रातदिन खटिरहेको छु, मात्र बाँच्ने झुटो अभिलाषा बोकेर । किनकि म यहाँ सजायँ भोग्न आएको कुरा मलाई हेक्का रहँदैन । जब म बेहोस हुन्छु वा बेहोस पारिन्छु, त्यसबखत म यहाँबाट निस्किएर जान सक्ने अवस्थामा हुन्न ।

यस अवधिमा बैकुण्ठलोकमा मैले भोग्न पाउने सबै सेवासुविधाबाट म वन्चित भएको छु । सजायका ३० वर्ष नाघेर लगभग त्यति नै अवधि मैले समय थपिसकेको छु । यतिका समय बढ़ी कैद बसेको क्षतिपूर्ति मागौं त कुन नैतिकताका आधारमा मागौं । होईन नमागौं भने मेरो निलम्वनको अवधि घटाउँदा मेरा कनिष्ट साथीहरु बढुवा हुनेछन् । म भने सधैं पछि परिरहने छु ।

मेरा लालाबाला र बैकुण्ठलोकमा रहेका मेरा परिवारसँग भेटघाट नभएको वर्षौं भइसक्यो । त्यहाँ रहँदा मैले प्रयोग गर्ने गरेको त्यो शक्तिशाली दूरभाष यन्त्र यो कारागार ल्याउन पूर्ण निषेध नगरिएको भए मेरा बैकुण्ठलोकमा रहेका परिवारसँग मेरो सम्पर्क भइरहन्थ्यो होला । मेरो सजाय ३० वर्ष पुरा भएको जानकारी समयमा पाईन्थ्यो होला ।

यो कैदभित्रको कैदमा भने बाँकी सजाय मिनाहा गरी रिहा गर्ने परिपाटी रहेछ । यहाँ कैद भोगिरहेकाहरु भने थप बाँच्ने बहानामा स्वयं कैदको समय थपिरहेका छन्, मैले जस्तै । कति फरक छ यी दुवै कारागारको कार्यशैली ।

अब एउटा आन्दोलनको खाँचो टड्कारो देखिन्छ । त्यो हो, कैद भुक्तान भएको जानकारी सहज रुपमा पाईयोस् ।

बैकुण्ठलोक पुग्नासाथ मेरो प्रमुख माग यही हुनेछ अब ।

०००

‘बिरामीको होस आएजस्तो छ,’ एकजना होची र अल्लि मोटी–मोटी देखिने एउटी नर्स भन्दै थिईन् । ‘ठ्याम्मै १० घण्टा लाग्यो होस आउन,’ डाक्टरले लामो सुस्केरा हाले ।

मलाई अचम्म लाग्यो–सबैलाई शल्यक्रिया गर्दा यस्तै अनुभूति मिल्छ होला कि मलाईमात्रै यस्तो भएको हो ?

सपना देखेको भए यति लामो र क्रमैसँग लगातार सिनेमाको दृश्यजस्तो नदेखिनु पर्ने । के यो साँच्चै मलाई उतै फर्काउने संकेत नै थियो त ? हामी दुईको शल्यक्रिया गर्ने टिमका सबै सदस्य त्यहाँ मौजुद थिए । उनीहरु मलाई केही सोध्ने प्रयास गर्दै थिए। तर म भने केही बेरअघिसम्म देखिएको सपना, कल्पना वा यथार्थ के थियो भन्ने शंका र आशंकाहरुमा अल्झिरहेँ । मेरो होस आए पनि म अघिकै दृश्यमा हराईरहेको छु ।
डा पुकारचन्द्र श्रेष्ठ, जसले मेरो मिर्गौला प्रत्यारोपण गरिदिएका थिए । उनी मेरो नजिकै थिए । उनको मुहारमा स्पष्ट खुसीका भाव देख्न सकिन्थ्यो । सायद जीवनमा थप अर्को एउटा सफल प्रत्यारोपण गरेको खुसीका रेखाहरु थिए होलान् ती ।

अस्पताल बस्दा उनले देखाएको माया र सद्भावबाट म निकै प्रभावित थिएँ । उनलाई आदर साथ भित्री मनैदेखि नमन गर्न मन लाग्यो मलाई। हात उठाउन सकिनँ, मुखले बिस्तारै नमस्कार गरें । मेरो हात समाउँदै भने, ‘बधाइ छ तपाईंले दोस्रो जीवन पाउनु भएको छ ।’ सकि–नसकि मैले पनि बिस्तारै भनें, ‘ हजुरलाई पनि धन्यवाद, मलाई दोस्रो जीवन दिनु भएको छ ।’

एकछिन उठ्न खोजें । तर उठ्न त के, यताउता चल्न र फर्कन पनि असमर्थ रहें ।

एक–दुई जनाबाहेक सबै नर्स अत्यन्त सह्रृदयी थिए । बोली र व्यवहार निकै मिठो थियो उनीहरुको । निकै मिहिनेत गरेर मलाई उठाउने, हिंडाउने, खोकाउने, कोल्टो फर्काउनेजस्ता कार्यहरु प्रयोगात्मक तरिकाले सिकाएर दुई दिनमा नै निकै फूर्तिलो बनाई दिए।

डाक्टर हरेक दिन मलाई राखिएको आईसीयू कक्षमा आउथें । कस्तो छ भनेर सोध्थे । एक दिन मैले अप्रेशन गर्दाका समयमा देखेको सबै कुराको बेलिबिस्तार उनैलाई सुनाएँ ।

बेस्सरी हाँसे उनी र भने, ‘त्यो तपाईंको भ्रम हो । एकदम क्रमबद्ध भ्रम ।’

मलाई राखिएको कोठामा भित्ते घडी र नेपाली च्यानलहरु मात्र आउने एकथान टेलिभिजन पनि थियो । अघिपछिसमेत ठूलै प्लस पावरको चस्मा लगाउनु पथ्र्याे मलाई । त्यसैले मेरा लागि त्यो टेलिभिजन र घडी हुनुको कुनै अर्थ थिएन ।

एक दिन डाक्टरले सोधे, ‘टेलिभिजन हेर्न मन पर्देन ?’

मैले आँखाले राम्ररी नठहर्ने कारण नखोल्ने गरेको बताएपछि उनले मेरो चस्मा मगाई दिए ।

एक दिन राति राम्ररी निन्द्रा परेन । कति बज्यो होला भनेर घडीमा आँखा पुर्‍याएँ । तर आश्चर्य । घडीका सबै अंकहरु अन्दाजी ४० किलोमीटर प्रतिघण्टाका दरले सवारी साधन कुदेजस्तै गरी घडीको एउटा कुनामा थुप्रो लाग्न पुगे ।

के देख्दै छु म ? एक प्रकारको भयले सताउन थाल्यो । कोठाबाहिर त्यस दिनको पालोमा रहेकी नर्सलाई बोलाएँ । उनी केही काम गर्दै थिईन् सायद । केही बेरमा आएर सोधिन्, ‘किन बोलाएको ?’

मैले यतिमात्रै सोधें, ‘अहिले कति बज्यो ?’

भित्तामा झुण्डिएको घडीमा देखाउँदै निकै रुखो स्वरमा तिनले भनिन्, ‘ उ त्यो घडी हेर्नुस् ।’ यति मात्रै भनेर तिनी बाहिर निस्किईन् ।

मनमनै रिस उठ्यो । मैले अंकहरु किन दौडेको भनेर बोलाएको थिईनँ । कति बज्यो भन्नमात्र बोलाएको थिएँ । घडी हेरेर उत्तर दिनसमेत उचित लागेनछ तिनलाई ।

भोलिपल्ट चिया बिस्कुट आईसकेछ । ब्युँझाइदिए । डाक्टर पनि त्यसैबेला आईपुगे । हिजोको घडी काण्डबारे उनलाई सबै कुरा भनें । ‘डाक्टर साहब ! यो पनि भ्रम नै थियो ?’

उनले भने, ‘भ्रममात्र होईन, तपाईंको आँखाको पनि कमजोरी हुन सक्छ । नआत्तिनुस्, यस्ता भ्रमहरु अझै कयौं पटक आउन सक्छन् ।’
भएको के रहेछ भने मेरो चस्मा पठाईंदिँदा भुलवस विना पावरको चश्मा पठाईएछ । त्यसैदिन मेरो पावरवाला चश्मा आईपुग्यो।
अब म घडी हेरेर समय थाहा पाउने भएँ ।

रातिको समयमा लगाउने इन्जेक्सन, खाने औषधि, तातो पानीलगायतका चिजबिजहरु भनेकै समयमा उपलब्ध हुन्थ्यो । बाहिर बसेर कसले गरिरहेको छ योसमेत थाहा पाउन असमर्थ थिएँ म । भाउजुले केही दिन खाना बनाएर पठाउनु भयो । एक दिन एकजना नर्स भन्दै थिईन्, ‘तपाईंको ज्वाईं त गजबको मान्छे हुनुहुँदो रहेछ । एउटा पछेउरा ओढेर सुत्नु हुन्छ, जतिखेर गएर बोलाए पनि तुरुन्तै उठ्ने । कुनै दिन केहीको हर्जा बनाउनु भएन । दिनभरि कता जानु हुन्छ ? साँझ परेपछि आएको मान्छे रातभरि काम गरेर बिहान जानुहुन्छ । बिरामी कुरुवाहरु सबै यस्तै भइदिए हामी च्याँठ्ठिदै हिड्नु पर्दैन थियो ।’

मिर्गौला प्रत्यारोपण गरेका दाहालको बजारमा आउन लागेको पुस्तक ‘मुमूर्षा’ को एक अंश

 



Leave a Reply

Your email address will not be published.