‘कोभिडबाट भएको मृत्यु वास्तविक तथ्यांकभन्दा ३ गुणा बढी’

हेल्थपोस्ट नेपाल

काठमाडौं–कोभिडका कारण आधिकारिक तथ्यांकभन्दा ३ गुणा बढी अर्थात् १ करोड ८० लाख मानिसको मृत्यु भएको हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन्।

अनुसन्धानकर्ताहरुले २०२० को सुरुदेखि २०२१ को अन्त्यसम्मको २ वर्षको अवधिमा गरेको अध्ययनबाट यस्तो आँकलन गरेका हुन्। आधिकारिक तथ्यांकमा भने कोभिड संक्रमणका कारण विश्वभर ६० लाख मानिसको मृत्यु भएको उल्लेख छ।

अमेरिकाको वाशिङटन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानमा केही मृत्यु प्रत्यक्ष रुपमा कोरोना भाइरसका कारण भएको पाइएको थियो भने केही संक्रमणसँग सम्बन्धित भएको पाइएका थिए।

मुटु र फोक्सोको रोगबाट पीडित मानिसहरुमा कोरोना भाइरसले बढी समस्या पारेको थियो।

रोगपहिचान र सूचना संकलनको अभावका कारण केही मृत्यु आधिकारिक तथ्यांकमा पर्न नसकेको र महामारीका बेला प्रभावित भएको स्वास्थ्य सेवा र आर्थिक संकटका कारण अप्रत्यक्ष प्रभाव परेको अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन्। यसकारण पनि महामारीका बेला भएका सबै मृत्युको वास्तविक कारण पहिचान हुन नसकेको बताइएको छ।

वाशिङटन युनिभर्सिटीका हेडङ वाङ नेतृत्वको टोलीले साप्ताहिक र मासिक तथ्यांकलाई प्रयोग गर्दै १८७ मुलुकमा भएको मृत्युको सबै कारणको विश्लेषण गरेको थियो।

‘लान्सेट’ पत्रिकामा प्रकाशित अध्ययनअनुसार कम आय भएका ल्याटिन अमेरिका, युरोप र सब सहारा अफ्रिकाका मुलुकहरु बोलिभिया, बुल्गेरिया, उत्तरी मेसेडोनिया, इस्वातिनी र लेसोथोमा बढी मृत्युदर पाइएको थियो। ती मुलुकमा प्रति १ सय जनामा ६ जनाको मृत्यु भएको पाइएको थियो भने आइसल्याण्ड, अस्ट्रेलिया, सिंगापुर, न्युजिल्याण्ड र ताइवानमा कम मृत्युदर पाइएको थियो।

बेलायतमा भने उक्तअवधिमा सरकारी तथ्यांकअनुसार नै कोभिडसम्बन्धित मृत्यु भएको पाइएको थियो। त्यहाँको मृत्युदर प्रति १ लाखमा १३० रहेको पाइएको छ। प्रमुख अनुसन्धानकर्ता डा हेडङ वाङ भन्छन्–महामारीको वास्तविक मृत्यु जनस्वास्थ्यको नीति निर्माणमा महत्वपूर्ण हुन्छ।’

वाङका अनुसार यी मुलुकमा भएका कडा लकडाउनका कारण ट्राफिक दुर्घटनाजस्ता अन्य मृत्युका घटनामा भने कमी आएको पाइएको छ भने धेरै मुलुकमा मास्क र सामाजिक दूरीका कारण रुघाजस्ता सरुवा रोगबाट हुने मृत्यु पनि घटेका छन्।

उनका अनुसार स्वीडेन र नेदरल्याण्डसहित धेरै मुलुकमा भएको अधिकांश मृत्यु कोभिडका कारण भएको पाइएको छ भने केही मुलुकमा भएका मृत्युको वास्तविक कारण पत्ता लाग्न सकेको छैन।

कति मृत्यु कोभिडको प्रत्यक्ष कारणले भयो र कति महामारीको अप्रत्यक्ष प्रभावले भयो भन्नेबारेमा थप अध्ययन आवश्यक पर्ने अनुसन्धानकर्ताहरुको भनाइ छ। अब खोप र नयाँ खालका उपचार पत्ता लागिसकेकाले कोरोनासम्बन्धित मृत्युदर भने घट्ने उनीहरुको भनाइ छ।

‘तर, कोरोनाको महामारी अझै सकिएको छैन, नयाँ–नयाँ खालका खतरनाक भेरियन्टहरु अझै आउनसक्छन्,’ अनुसन्धानकर्ताहरुले भनेका छन्।

विश्व स्वास्थ्य संगठनले पनि कोभिडसम्बन्धी मृत्युलाई फराकिलो दायराबाट बुझ्नुपर्ने बताएको छ। फेब्रुअरी २०२१ मा यसबारे अध्ययन गर्न राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला निकायसँग सहकार्य गरेको थियो।



Leave a Reply

Your email address will not be published.