चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा चैत १८ देखि

हेल्थपोस्ट नेपाल

काठमाडौं–चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा आगामी चैत १८ देखि सुरु हुने भएको छ।

चिकित्सा शिक्षा आयोगले बिहीबार सूचना निकाल्दै फागुन ६ गतेभित्र अनलाइन आवेदन दिने परीक्षार्थीहरुको एकीकृत प्रवेश परीक्षाको मिति तोकिएको जनाएको हो।

जसअनुसार एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएएसएलपी, बी पफ्युजन टेक्नोलोजी विषयको प्रवेश परीक्षा चैत १८ गते बिहान ११ देखि २ बजेसम्म हुने गरी तोकिएको छ।

यस्तै, बीएएमएस, बीएनएस, बीएस्सी एमएलटी, बीएस्सी एमआइटी, बी फर्मा, बी अप्टोमेट्री र बीपीटी विषयका लागि चैत २० गते बिहान ११ देखि २ बजे तय गरिएको छ भने बीपीएचको प्रवेश परीक्षा चैत २१ गते सोमबार हुनेछ।

परीक्षा केन्द्र काठमाडौं उपत्यकाभित्र रहनेछ भने प्रवेशपत्र सुरु हुने दिनभन्दा ५ दिनअघिदेखि अनलाइनमा उपलब्ध हुने र परीक्षार्थी आफैंले आफ्नो अनलाइन प्रोफाइलमार्फत् प्रिन्ट गर्नुपर्नेछ। परीक्षार्थीले साथमा प्रवेशपत्र र नागरिकता वा पासपोर्टको सक्कलप्रति ल्याउनुपर्नेछ।



Leave a Reply

Your email address will not be published.