फाइजर खोप साना बालबालिकामा कम प्रभावकारी रहेको तथ्यपछि एफडीएले स्थगित गर्‍यो स्वीकृति प्रक्रिया

हेल्थपोस्ट नेपाल

काठमाडौं–ओमिक्रोन भेरियन्टविरुद्ध सुरक्षा गर्न कम प्रभावकारी रहेको निस्कर्षपछि अमेरिकाको नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) ले साना बालबालिकामा लगाउने भनिएको फाइजर–बायोएनटेकको खोपको स्वीकृति प्रक्रिया स्थगित गरेको छ।

गत फेब्रुअरीको सुरुमा एफडीएले बालबालिकालाई दिइने फाइजर–बायोएनटेकको खोपबारे मूल्यांकन गरेर स्वीकृति दिने जनाएको थियो। तर, त्यसको १० दिनपछि नै उक्त उमेर समूहमा खोपको प्रभावकारिताबारेमा केही शंकाहरु रहेको बतायो।

लगत्तै वैज्ञानिकहरुले ५ देखि ११ वर्ष उमेरसमूहका बालबालिकालाई ओमिक्रोन भेरियन्टको संक्रमणबाट बचाउन फाइजर खोप कम प्रभावकारी भएको रिपोर्ट दिए।

यही रिपोर्ट र तथ्यांकका आधारमा हालै आएको एक भनाइले वैज्ञानिक तथा अभिभावकलाई झस्काएको छ। सोमबार फ्लोरिडाका जनरल सर्जनले स्वस्थ बालबालिकामा यो खोप नलगाउन भनेका हुन्। यसलाई ह्वाइटहाउसका प्रेस सेक्रेटरी जेन साकीले ‘गहिरोसँग विचलित गराउने’ विषय भनेका छन्।

यद्यपि विज्ञहरुले ओमिक्रोन भेरियन्टले प्रतिरोधी क्षमतामा असर पारी संक्रमण गराउने भएकाले खोपलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै आएका छन् र खोपले स्वास्थ्य अवस्था गम्भीर हुनबाट र मृत्यु हुनबाट बचाउने उनीहरुको भनाइ छ।

फाइजरले गत डिसेम्बरमा २ देखि ४ वर्ष उमेर समूहका बालबालिकामा गरेको परीक्षणमा खोपको दुई डोजले बलियो र यथेष्ठ रुपमा प्रतिरोधी प्रतिक्रिया नजनाएको बताएको थियो। फाइजरले २ देखि ४ वर्षका बालबालिकामा ३ माइक्रोग्रामको डोज तय गरेको थियोभने ५ देखि ११ वर्षउमेर समूहका लागि १० माइक्रोग्राम डोज तय गरेको थियो।

फाइजरले साना बालबालिकामा दिइने खोपको स्वीकृतिका लागि आतुरता देखाएको थियो। तर अनुसन्धानकर्ताहरुले २ देखि ४ वर्ष उमेरसमूहका बालबालिकामा सन्तुष्ट रुपमा प्रतिरोधी प्रतिक्रिया नदेखाएको जनाएका थिए। फाइजरका सिइओ अल्बर्ट बोरुलाले भने हाल देखिएको या भविष्यमा देखिने भेरियन्टबाट उच्चस्तरको सुरक्षाका लागि ६ महिनादेखि ४ वर्षसम्मका बालबालिकालाई तेस्रो डोज दिइनुपर्ने बताएका थिए।

 



Leave a Reply

Your email address will not be published.