यी हुन् मिर्गौला रोगका लक्षण, कसरी बँच्न सकिन्छ?

काठमाडौं–विश्व मिर्गौैला दिवस आज ‘सबैका लागि स्वस्थ मिर्गौला’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ।
यो वर्ष अगंदान र अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ व्यक्तिबराबर स्वस्थ हुन सक्छन् भन्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम गरिँदैछ।
हरेक वर्ष मिर्गौलासम्बन्धी सचेतना फैलाउने गरिए पनि मिर्गौला रोगका बिरामी प्रत्येक वर्ष बढिरहेका छन्। अस्वस्थ खानपान, नियमित स्वास्थ्य परीक्षणको अभाव, अस्तव्यस्त जीवनशैलीका कारण मिर्गौला रोगका बिरामी विरामी बढिरहेको वीर अस्पतालकी मिर्गौला रोग विशेषज्ञ सुधा खकुरेलले बताइन्।
स्वास्थ्यमा हेलचेक्र्याइँ गर्ने बानीले पनि मिर्गौला रोगका बिरामी बढिरहेका छन्। नेपालमा प्रत्येक वर्ष ३ सयभन्दा बढी मानिसहरुको मिर्गौलामा खराबी आउने गरेको तथ्याङ्क छ। नेपालको कुल जनसंख्याको १० प्रतिशतमा मिर्गौलाका कुनै न कुनै समस्या हुने गरेको पाइएको छ।
मिर्गौला रोगका बारेमा कतिपय अवस्थामा मेडिकल चेक नगरी थाहा पाउन मुस्किल पर्छ। तर पनि पिसाब कम आउनु, खुट्टा सुन्निनु, सास फर्न गाह्रो हुनु, पिसाबमा रगत आउनु, पिसाब पोल्नु, रातो पिसाब आउनु मिर्गौला रोगका लक्षण हुन्।
मिर्गौला रोगका लक्षण
-शरीर सुन्निने,
-खुट्टा सुन्निने,
-पिसाबको मात्रा घट्ने वा बढ्ने,
-पिसाबमा फिँज आउने
-पिसाब पोल्ने
-पिसाबको रंगमा परिवर्तन हुने,
-कमजोरी हुने,
-जति बेलै जाडो मात्रै भइरहने,
-छाला चिलाउने,
-वान्ता हुने,
-स्मरण क्षमता घट्ने,
-एलर्जी हुने,
-भोक नलाग्ने,
-निन्द्रा नलाग्ने,
-पेट फुल्ने,
-मुटुको धडकनमा समस्या आउने,
-शरीरमा खटीरा निस्कने।
यस्ता खालका लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श लिने, सल्लाह, सुझाव अनुसार उपचार गर्दा मिर्गौला रोगको जोखिमबाट बच्न सकिने डा. खकुरेलले बताइन्।
अस्वस्थ खानपान, जीवनशैली, मुधुमेह, उच्च रक्तचापको समस्याले गर्दा नेपालमा हरेक वर्ष मिर्गौला रोगका बिरामी बढिरहेको डा. खकुरेलले बताइन्। स्वास्थ्य जाचमा हेलचेक्र्याइँका कारण मिर्गौला रोगको उपचार जटिल बन्दै गएको छ। स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको थाहा नहुने र पछि स्वास्थ्य जटिल बनेपछि मात्र उपचारका लागि अस्पताल आउने प्रवृत्तिका कारण पनि समस्या बढेको डा. खकुरेलको भनाइ छ।
मिर्गौला रोगबाट बँच्न वा लाग्न नदिन बिहान उठ्ने बित्तिकै पानी पिउन, हिँडडुल गर्न, समयमा सुत्न र उठ्न, धेरै गुलियो तथा चिल्लो खाना नखान, उचाई अनुसारको तौल ब्यबस्थापन गर्न डाक्टररुको सुझाव छ।
सरकारले पनि मिर्गौला रोग लागेका विपन्न बिरामीलाई सहयोग गर्दै आइरहेको छ। रोग लागेका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, आवश्यक उपचार तथा औषधिका लागि १ लाख रुपैयाँसम्म सहयोग गर्दै आइरहेको छ।
स्वास्थ्य मन्त्रालयले मिर्गौलाको उपचार र डायलिसिसका ७० वटा अस्पताललाई सूचीकृत गरेको छ। मिर्गौला खराब भएपछि कम्तिमा पनि हप्तामा २ देखि २ पटक नियमति डायलिसिस गरी रगत सफा गर्नुपर्ने वा मृगौंला प्रत्यारोपण गर्नु पर्ने हुन्छ।