विदेशबाट आउनेहरूलाई अझै पीसीआरको झन्झट

काठमाडौं–क्याथे ड्रागन एयरलाइन्सको जिएसए एवं अमरावती ट्राभल्सका प्रमुख कार्यकारी जुगेश श्रेष्ठ मंगलबार नयाँदिल्लीबाट काठमाडौं फर्कँदा त्रिभुवन विमानस्थलमा पीसीआर रिपोर्ट मागियो। कोरोनाविरुद्धको दुवै डोज लगाएको प्रमाणपत्र देखाएपछि जान दिइए पनि फर्कँदा पीसीआर रिपोर्ट मागियो।

‘मैले आफ्नै मुलुक आउँदा पनि पीसीआर रिपोर्ट खोजियो,’ उनले भने, ‘अरु देशले दुवै डोज लगाएको प्रमाणपत्रलाई मान्यता दिइसकेका छन् भने नेपालले किन रोकेको छ, मैले बुझ्न सकेको छैन, नेपाल सरकारकै प्रमाणपत्रलाई सरकारले नै मान्यता नदिएपछि के काम लाग्यो?’ नेपालको यही नियमका कारण आफूले विदेश आउजाउका क्रममा कम्तीमा पनि १८ पटक पीसीआर गरिसकेको उनले बताए।

७२ घण्टाको पीसीआर रिपोर्ट देखाउनुपर्ने नियम विभिन्न मुलुकले हटाइसक्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने यो नियम अझै कायमै छ। भारत, ओमान, कुबेत, कतार, युएईसहित ८२ भन्दा बढी मुलुकले पीसीआर रिपोर्ट अनिवार्यको नियम हटाइसकेका छन्। तर अन्तर्राष्ट्रिय विमानस्थलले भने ४८ घण्टाअघिको पीसीआर परीक्षणको रिपोर्ट माग्दै आएको छ।

अरु मुलुकमा हटिसकेको यो नियमबाट खासगरी स्वदेश फर्कने नेपाली र विदेश उड्न खोज्नेहरु आजित छन्। यसको असर नेपालको पर्यटन उद्योगमा पनि परेको छ। ‘विमानस्थलमा पीसीआर परीक्षण गर्नुपर्ने झन्झटका कारण कतिपय विदेशी पर्यटकले नेपाल भ्रमणलाई समेत रद्द गरेका उदाहरण छन्,’ श्रेष्ठले भने, ‘अरु देशले नेपालको प्रमाणपत्रलाई मान्यता दिएका छन् भने नेपालमा चाहिँ पीसीआर किन?’

पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत दीपकराज जोशीले पनि पर्यटकहरु सहज ठाउँमा मात्र जान चाहने भएकाले सरकारको यो निर्णयले पर्यटन व्यवसायमै असर पर्ने बताए। उनका अनुसार कोरोनाको तीव्र लहर भएको सन् २०२१ को समयमा माल्दिभ्सले १३ लाख पर्यटक भित्र्यायो भने श्रीलंकाले प्रतिमहिना १ लाखको हाराहारीमा पर्यटक भित्र्याइरहेको छ।

‘तर, हामीकहाँ भने अहिले मुस्किलले प्रतिमहिना १५–१६ हजार पनि पुग्न गार्‍हो भइरहेको हुन्छ, यो सबै यस्तो खालका अवरोधले हो, यसलाई छिटो हटाउनुपर्छ’ उनले भने, ‘यसैले नेपालको इन्ट्री प्रोटोकल तत्काल सुधार्नुपर्ने देखिएको छ।’

नेपाल आउने क्रममा सम्बन्धित विमानस्थलमा भर्न लगाइएको फर्मका कारण पनि पर्यटकले झन्झट बेहोरिरहेको उनको भनाइ छ। त्यसरी भर्न लगाइए पनि विमानस्थलमा भने त्यसलाई जाँच गर्ने नगरिएको उल्लेख गर्दै उनले भने, ‘नेपाल जान अझै सहज छैन भन्ने मेसेज बाहिर गएको छ, यद्यपि भित्र हामीले फ्रन्टलाइनर तथा समुदायलाई खोप लगाउनेलगायतका तयारी राम्रोसँग गरिरहेका छौं।’

संयुक्त अरब इमिरेट्स (युएई)ले ६ घण्टाअघिको र्‍यापिड पीसीआर रिपोर्ट अनिवार्य गरेपछि (युएईले १ फागुनबाट यस्तो नियम हटाएको छ) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गत साउन २६ मा सूचना निकालेर आवेदन दिन कोभिड १९ पीसीआर प्रयोगशालाहरुलाई आव्हान गरेको थियो। एक दिनको म्याद राखेर प्रकाशित सूचनामा ‘त्रिभुवन विमानस्थलसँग समन्वय गरी र्‍यापिड पीसीआर गर्नुपर्ने भएकाले परीक्षणका लागि तोकिएको मूल्यमा परीक्षण तुरुन्त प्रारम्भ गर्न साउन २७ गतेभित्र निवेदन दिन’ भनिएको थियो।

उक्त सूचनामा हालसम्म एक लाखभन्दा बढी कोभिडको पीसीआर परीक्षण गरेको हुनुपर्ने, विदेश जाने यात्रुको पीसीआर परीक्षण गर्न मान्यता प्राप्त गरेको हुनुपर्नेलगायतका मापदण्ड तोकिएका थिए।

त्यसपछि स्वास्थ्य मन्त्रालयले विमानस्थल परिसरमा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनसम्बन्धी कार्यविधि २०७८ जारी गर्दै स्टार अस्पताल, सुमेरु अस्पताल र महेन्द्रनारायण निधि मेमोरियल अस्पताललाई विमानस्थलमा ल्याब सञ्चालनको अनुमति दियो। तर, अरु ल्याबहरुले पनि भटाभट विमानस्थलमा कलेक्सन सेन्टर राखेर पीसीआर परीक्षण सुरु गर्न थाले। गत माघमा गरिएको अनुगमनका क्रममा अन्य ९ वटा ल्याबले अनुमति नलिएको पाइएकाले तिनीहरुलाई परीक्षण नगर्न जनस्वास्थ्य प्रयोगशालाले निर्देशन दिएको थियो। अनुगमनका क्रममा टीजी मेडिसिन डिस्ट्रिब्युटर्स, क्रिस्टल डायग्नोस्टिक, सिद्धि पोलिक्लिनिक, अल्फा डायग्नोस्टिक सेन्टर र कोरोना ट्रेडिङ कम्पनीले अनुमति नलिएको पाइएको थियो। तर अनुगमनपछि क्रिस्टल र सिद्धि पोलिक्लिनिकलाई अनुमति दिइएको थियो।

यस्तै, भारतले अनिवार्य पीसीआर रिपोर्टको प्रावधान हटाएपछि गत १६ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई पत्र लेख्दै सहजीकरण गर्न आग्रह गरेको थियो। जसअनुसार अनलाइन एयर सुविधा पोर्टलमा भएको स्वघोषणा फारममा पूर्ण र वास्तविक जानकारी भर्ने, नेगेटिभ रिपोर्ट अपलोड गर्ने वा कोभिड खोपको पूर्ण प्राथमिक तालिका पूरा गरेको प्रमाणपत्र अपलोड गर्ने र यसो गर्न अनुमति रहेका मुलुकमा नेपाल पनि रहेको जानकारी गराउँदै भारत जाने यात्रुलाई सहजीकरण गर्न आग्रह गरेको थियो।

त्यसपछि महाशाखाले फागुन ११ गते कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रलाई पत्र लेखी नेपालबाट भारत प्रस्थान गर्ने यात्रुहरुलाई यात्रामा सहजीकरणलाई अनुरोध गरेको थियो। सोहीअनुसार अहिले भारत जाने यात्रुसँग भने पीसीआर रिपोर्ट अनिवार्य गरिएको छैन। नेपाल र भारतबीच कोभिड १९ खोप प्रमाणपत्रलाई आपसी मान्यता दिइएको छ।

पीसीआर परीक्षणको प्रावधान हटाउने प्रक्रिया सुरु हुँदै
स्वास्थ्य मन्त्रालयले भने त्रिभुवन विमानस्थलमा लागू भएको ४८ घण्टाको पीसीआर परीक्षण अनिवार्य गर्ने प्रावधान हटाउने प्रक्रिया सुरु भएको जनाएको छ। ‘फाइल उठिसकेकाले अब यो विषय निर्णयप्रक्रियामा छ,’ मन्त्रालयकी प्रवक्ता डा. संगीताकौशल मिश्रले भनिन्। उनले यहाँ जति कूटनीतिक निकाय छन्, ती मुलुकमा कहाँ, कस्तो निर्णय भएको छ भनेर सबै थाहा नहुने भएकाले सबै मुलुकका लागि एकैपटक निर्णय गर्न लागिएको जानकारी दिइन्।



Leave a Reply

Your email address will not be published.