कोरोनाविरुद्धको खोप र खोपपछिको मृत्युबीच कुनै सम्बन्ध छैनः अध्ययन

काठमाडौं–कोरोनाविरुद्धको दोस्रो डोज र खोप लगाएपछिको मृत्युबीच कुनै सम्बन्ध नरहेको एक अध्ययनले देखाएको छ। खोपको साइड इफेक्टका बारेमा अमेरिकामा भएको अनुसन्धानले यस्तो देखाएको हो।
सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले फाइजर र मर्डना खोपपछि देखिएका ९२ प्रतिशत साइड इफेक्टहरु सामान्य भएको जनाएको हो।
अमेरिकामा खोप लगाएपछि जुन २०२१ सम्म ४५ सय मानिसहरुको मृत्यु भएपछि खोप र मृत्युबीच कुनै सम्बन्ध छ कि छैन भनेर अनुसन्धान भएको थियो।
अनुसन्धानकताहरुले सन् २०२० को डिसेम्बर देखि २०२१ को जुनसम्म दिइएका करिब ३० करोड खोपका बारेमा अनुसन्धान गरेका थिए।
जसअनुसार नागरिक, स्वास्थ्य कार्यकर्ता र औषधि कम्पनीले सम्भावित साइडइफेक्टका बारेमा ‘भ्याक्सिन एडभर्स इभेन्ट रिपोर्टिङ सिस्टम’ (भेइर्स) मार्फत् जानकारी दिने व्यवस्था गरिएको थियो। यस्तै, नागरिकले भी–सेफ विधिमार्फत मोबाइलमार्फत् सर्भे फर्म भरे पनि जानकारी दिनसक्थे।
भेइर्सविधिमार्फत् सिडीसीले ३ लाख ४० हजार रिपोर्ट प्राप्त गरेको थियो, जसमा ९२ प्रतिशत साइडइफेक्टस सामान्य रहेको पाइएको थियो। जसमा टाउको दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिएका थिए। २२ हजार रिपोर्टमा श्वास फेर्न कठिनाई हुनेजस्ता अलिक गम्भीर समस्या देखिएका थिए।
अन्य गम्भीर खालका साइडइफेक्टमा मायोकार्डाइटिस भनिने मुटु सुन्निने समस्या देखिएको थियो, जुन निकै कम भेटिएको थियो।