भारतमा थपिए ३९९३ संक्रमित

हेल्थपोस्ट नेपाल

नयाँदिल्ली-भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएकाे छ। पछिल्लो २४ घण्टामा थप ३९९३ जनामा संक्रमण पुष्टि भएकाे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएकाे छ।

योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ४९ हजार ९४८ रहेकाे अधिकारीहरुले जनाएका छन्। सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०‍.१२ प्रतिशत रहेको समाचारमा जनाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा आठ हजार ५५  सङ्क्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो।

भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ६ हजार १५० छ। सङ्क्रमण मुक्त दर ९८.६८ प्रतिशत रहेको समाचारमा जनाइएको छ। कोरोनाका कारण भारतमा अहिलेसम्म पाँच लाख १५ हजार २१० को मृत्यु भएको छ। तीमध्ये १०८ को पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।

गत आइतबार एक दिनमा भारतमा आठ लाख ७३ हजार ३९५ को कोरोना परीक्षण गरिएको छ। भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड ४३ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ । भारतमा २०२१ को जनवरी १६ बाट कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ७९ करोड १३ लाख भन्दा बढी डोज खोप लगाइएको छ।



Leave a Reply

Your email address will not be published.