महिलामा समर्पित गुगल डुडल, कसले बनायो यसलाई?

काठमाडौं–अन्तर्राष्ट्रिय महिला दिवसमा गुगलले महिलालक्षित डुडल सार्वजनिक गरेको छ। विश्वभरका विभिन्न संस्कृतिका महिलाको दैनिक जीवनमा आधारित एनिमेसन भिडियोको डुडल गुगलले राखेको हो। उक्त एनिमेसन भिडियोमा महिलाले आफू, आफ्नो परिवार र समुदायबीच आफूलाई कसरी प्रस्तुत गर्छन् भन्ने देखाइएको छ।
भिडियो महिलाले बच्चा बोकेर ल्यापटपमा काम गर्दै गरेको र अर्को बच्चाको ध्यान राख्दै गरेकोबाट सुरु हुन्छ। त्यसपछि क्रमैसँग बिरुवामा पानी हाल्दै गरेको, अस्पतालमा शल्यक्रिया गर्दै गरेको, मोटरसाइकल मेकानिकले अर्को पुस्तालाई सिकाउँदै गरेकोलगायतका भिडियो समावेश गरिएको छ।
यो वर्षको डुडल कलानिर्देशक थोका माइरको टोलीले बनाएको हो। जसमा प्रोड्युसरमा लिन्ड्से एल्जिन, इन्जिनियरिङमा क्याथरिन ली र ज्याकोब हाउक्राफ्ट, मार्केटिङमा पर्ला क्याम्पोस र सियरा मेन्जिस र डुडल टिममा जेसिया यु र एरिच नाग्लेर छन्।