५२ जिल्ला ‘कोरोनाशून्य’

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ५२ जिल्लामा ‘कोरोनाशून्य’ रहेको पाइएको छ। हाल २५ जिल्लामा कोरोना संक्रमण देखिएको र अन्य ५२ जिल्ला संक्रमणमुक्त रहेको पाइएको हो।
पछिल्लोपटक कोरोना संक्रमण पुष्टि भएका जिल्लामा खोटाङ, झापा, मोरङ, महोत्तरी, सप्तरी, काठमाडौं, धादिङ, नुवाकोट, भक्तपुर, मकवानपुर, ललितपुर, कास्की, गोरखा, नवलपरासीपूर्व, बागलुङ, अर्घाखाँची, गुल्मी, दाङ, प्युठान, बर्दिया, बाँके, रुपन्देही, जाजरकोट, कन्चनपुर र कैलाली रहेका छन्।
यस्तै, काठमाडौं उपत्यकामा अझै १११९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। जसअनुसार काठमाडौंमा ४७९, भक्तपुरमा ५५ र ललितपुरमा ५८५ सक्रिय संक्रमित रहेका छन्। हाल नेपालभर सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५० छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा जम्मा २४ जनामा कोरोना संक्रमित भेटिएका छन् भने भक्तपुरमा १ जना र ललितपुरमा ६ जनामा संक्रमण पुष्टि भएको छ।
सोमबार नेपालमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार ६ सय ३८ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। यो अवधिमा १ जनाको मृत्यु भएको छ भने ३ सय ७६ जना संक्रमणमुक्त भएका छन्।