छालाबाट बच्चा जन्माउने?

सुशील देवकाेटा

जनसंख्या वृद्धिदर घट्नु अहिलेको विश्वको ठूलो समस्या हो। त्यो समस्याको घेरै प्रकारका समाधान हुन सक्छन्। म वैज्ञानिकहरुले के गर्दैछन्, त्यो बारेमा लेख्दैछु। पहिलो कुरा त इन भिट्रो फर्टिलाइजेशन (आइभीएफ) भइहाल्यो। यो लहरो आइभीएफका बारेमा नभए पनि थोरै पृष्ठभूमिका बारेमा प्रकाश पार्नु ठीक होला।

आइभीएफ भनेको आमाको पाठेघरमा जे हुन्छ, त्यो बाहिर ‘पेट्री–डिस’ मा गर्ने हो। जब आमाको पाठेघरमा वीर्य र अण्डाको भेट हुन्छ, त्यो प्रकृयालाई ‘फर्टिलाइजेशन’ भनिन्छ। वीर्यले आफ्नो आधा जेनेटिक पदार्थ अण्डामा लगेर खसाल्छ, अनि आधा आमाको अण्डामा भएको डिएनए मिलेर एक कोषको जाइगोट बन्छ।

हामी सबैको जीवनको शुरुवात त्यही हो। त्यही एउटा कोष विभाजित हुँदै २-४-६–८ हुँदै हाम्रा हात, खुट्टा, आँखा, मुखसहित सबै अँग बनेर बच्चा जन्मिने हो। याद गर्नुस् है, त्यही एउटा कोषसँग यी सबै अँग बनाउने क्षमता हुन्छ। तर, एकचोटि कान बनिसके पछि, त्योबाट प्राकृतिक रुपमा नाक बन्दैन। तर, बिरुवामा गुलाबको हाँगा गाडेपछि नयाँ गुलाबको विरुवा आऊँछ। तर, मान्छेको हात काटेर नयाँ मान्छे बनाउन सकिन्न। भनेपछि हाम्रो शरीर बन्ने प्रकृया ‘वान–वे–रोड’ (एकतर्फी) हो।

अब, आइभीएफ जाऊँ (तल चित्र)। आइभीएफमा वीर्य र अण्डाको मिलन (चरण ३) पाठेघरमा नभएर बाहिर ‘पर्टि–प्लेट’ मा गराउने हो। त्यसपछि त्यो भ्रुणलाई फेरि आमाको पाठेघरमा लगेर राखिन्छ। त्यहाँबाट बच्चाको विकास सुरु हुन्छ।

आइभीएफ गजबको प्रविधि भए पनि त्यसका केही सीमा छन्। जस्तै कुनै महिलाको पाठेघरको क्यान्सर भएर पाठेघर नै छैन रे। उनीले त आफ्नो अण्डा उत्पादन गर्न सक्दिनन्। आइभीएफले उनलाई आफ्नै डीएनए भएको बच्चा दिन सक्दैन। अथवा, कुनै पुरुषले वीर्य नै निकाल्न सक्दैन रे१ त्यो समस्या पनि आइभीएफले समाधान गर्न सक्दैन। तर, अब त्यसको समाधान पनि आऊँदैछ। तपाईले आफ्नै छालाको कोष प्रयोग गरेर बच्चा जन्माउने क्षमताको विकास हुँदैछ।

कुरा के भने, अण्डा र वीर्य पनि त हाम्रै शरीरमा भएका कोष हुन्। अण्डा महिलाको अण्डाशयमा बन्छ, वीर्य पुरुषको वीर्यग्रन्थीमा बन्छ। यदि केही गरेर हामीले केही प्रविधिको विकास गरेर अण्डा र वीर्य बनाउन सक्यौँ भने त त्यो समस्या समाधान भो। तर, मैले अघि भनेझैँ, हाम्रो शरीर त गुलाब हैन, एकतर्फी हो, कुनै अँग बनेपछि बन्यो, फिर्ता हुन सक्दैन। तर, यो कुरालाई एक वैज्ञानिकले पुरै परिवर्तन गरिदिए, जसका कारणले नोबेल पुरस्कार पनि पाए। उनले प्रकृतिले बनाएको एकतर्फी प्रक्रियालाई दुईतर्फी बनाईदिए, जापानी वैज्ञानिक शिन्या यामानाकाले (तल चित्र)।

उनले के गरे त? उनको कामले के देखायो भने कुनै पुरै बनिसकेको अँगलाई पछाडी फिर्ता लगेर फेरि अर्को अँग बनाउन सकिन्छ। जस्तै, कल्पना गरौँ न, कुनै एउटा कोषलाई विकास क्रममा पछाडी धकेलेर लाने, अनि त्यो चरणलाई ‘प्लुरिपोटेन्ट स्टेम सेल’ भनिन्छ। स्टेम सेल बनेपछि आफ्नो इच्छाअनुसार अरु जुनसुकै अँग बनाए पनि भो।

‘डिफरिसियटेड सेल’ (बनिसकेको अंग) लाई बलजफ्ती स्टेम सेल बनाएकाले यामानाकाले बनाएको कोषलाई ‘आइपीएससी अर्थात् इन्ड्युस्ड प्लुरिपोटेन्ट स्टेम सेल’ भनिन्छ।

के गरे त यामानाकाले?
वैज्ञानिक यामानाकाले शरीरमा पाईने (छालामा समेत) फाइब्रोब्लास्टलाई ४ वटा जिन हालेर स्टेम सेल बन्छ भनेर पत्ता लगाए। कति सजिलो! जम्मा ४ वटा जिन थप्दैमा पुरै बनिसकेको सेल पछाडी फर्किन्छ। अनि, पछाडि फर्केको सेललाई आफ्नो इच्छाअनुसार जुनसुकै सेल बनाए पनि भो। यो त मान्छेको उपचारमा ठूलो कुरा भो। हामीलाई रोग लाग्नु भनेको कुनै अँग काम नगर्नु हो। यो प्रविधिले त अब तपाईको कुनै अँग काम नगरेमा तपाईको छाला लिने, फाइब्रोब्लास्ट निकाल्ने, त्यसलाई ४ वटा जिन हालेर ‘आइपीएससी’ बनाउने, अनि जुन अँग बनाउने हो, त्यही अनुसार बनाउने।

अहिले आइपीएससी बनाउने काम एकदमै सजिलो छ। मेरो दिन(दिनैको काम यही हो। तर, सबै वैज्ञानिकहरु आ-आफ्नो इच्छाअनुसार कसरी अरु सेल बनाउनेमा लागिरहेका छन् किनभने आइपीएससीबाट मुटुको सेल बनाउने र न्यूरोन बनाउने ‘ककटेल’ फरक हुन्छ।

मेरै कुरा गर्नु हुन्छ भने, मैले अहिले गर्ने काम भनेको आइपीएससीलाई प्रतिरोधी कोष (इम्युन सेल) मा परिवर्तन गरेर क्यान्सरलाई आक्रमण गर्ने कोष बनाउने हो।

जे होस्, अहिले पढिरहेकाहरुलाई स्टेम सेल मिल्छ भने पढ्नुस् भन्छु, यसको करिअर र अनुसन्धानको सम्भाव्यता असीमित छ।

अर्को कुरा शिन्या यामानाकाको बारेमा।

उनी मेरो आइडियल वैज्ञानिक हुन्। वैज्ञानिक भनेपछि गम्भीर खालको, धुम्म पर्ने मान्छे भनेर सोचिन्छ। म पनि रमाइलो, मजाक गर्ने भएर कहिलेकाही डिएम आउँछ, वैज्ञानिक भएर यस्तो कुरा गर्ने भनेर। शिन्या यामानाका कति रमाइला छन्, मजाक गर्छन्, अनि विज्ञान सजिलो तरिकाले बुझाउछन्। अरु कुरा छोड्दिम्, नोबेल पुरस्कार बाँड्ने कार्यक्रममा समेत मजाक गर्दै थिए। यो भिडियो हेर्न विनम्र अनुरोधः

अब फेरि विषयमा।
आइपीएसीले जुनसुकै कोष बन्ने भएपछि, बच्चा बनाउने अण्डा र वीर्य पनि बनाउन सकिने भो। सैद्धान्तिक रुपमा छालाबाट फाइब्रोब्लास्ट लिने, आइपीएससी बनाउने, अनि विशेष ककटेलअनुसार अण्डा र वीर्य बनाउने।

अहिलेको मुख्य अनुसन्धानको कुरा यहीँ छ, कसरी त्यो ककटेल बनाउने भनेर। किनभने त्यो ककटेल अनुसार सबै अँग बनाउन सकिन्छ। अब हेर्नुस् है, त्यो ककटेल बनाउन सजिलोचाहिँ छैन। तल चित्रमा शरीरमा अण्डा र वीर्य कसरी बन्छ भनेर देखाईएको छ।

शरीरमा के–के हुन्छ त्यो हेरेर बाहिर ‘पेट्री–प्लेट’ मा रिप्लिकेट गर्न खोज्ने हो। मुसामा फाइब्रोब्लास्टबाट अण्डा र वीर्य बनिसक्यो। मान्छेमा पनि भएका केही रिपोर्ट छ। तर, अनुसन्धानका लागि बनाउनु र व्यावसायिक रुपमा बनाउनुमा फरक छ। किनभने, प्रक्रिया प्रभावकारी हुनुपर्‍यो। अनुसन्धानमा एक सय वटा फाइब्रोब्लास्टबाट १ वटा वीर्य बने पनि सफल भो।

तर, व्यावसायिक कम्पनीले फाईदा कमाउन १०० वटा फाइब्रोब्लास्टबाट एक सय वटै अण्डा र वीर्य बनेमात्र फाईदा हुन्छ।

अब एउटा रमाईलो कुरा–
अब बच्चा जन्माउन अर्को यौन पार्टनर नै नचाहिने भो। आफ्नै फाइब्रोब्लास्ट लिने, एउटा वीर्य बनाउने, ककटेलमा राख्ने, अर्को अण्डा बनाउने, अनि त्यो बच्चामा पुरै आफ्नो डिएनए हुनेभो। न पुरुषलाई महिला चाहियो, न महिलालाई पुरुष। तर, अहिलेसम्म बच्चा हुर्काउन पाठेघर चाहिए पनि, वैज्ञानिकहरु आर्टिफिसियल पाठेघरसमेत बनाउदै छन्, अनि महिलाको पाठेघर भाडामा लिनेजस्तो नैतिक रुपमा जटिल कुरा नगरे पनि हुने भो। तर, दुवै आफ्नै डिएनएमा जेनेटिक भेरियसन नहुने भएकाले लामो समयका लागि राम्रो हैन। खास कुरा त्यही हो।

फाइब्रोब्लास्ट लिएर अण्डा र वीर्यको कोष बनाउने अनि निशेचन गर्ने। त्यसपछिको चरण त आइभीएफजस्तै हो।

अबको केही वर्षमा यो प्रविधि बजारमा आउने पक्कै सम्भावना छ। त्यसैले तपाईंको पार्टनरले धोका दिएर तपाईलाई विपरीत लिँगप्रति दिक्क लागेको छ तर, बच्चा जन्माउने इच्छा छ भने आशा अझै बाँकी छ है। अर्को कुरा यो प्रविधिमा नैतिक कुरा पनि छ। कम्पनीले लगानी गरेपछि, फाईदा त खोज्छ नै। अनि त्यो महँगो हुन्छ। बच्चा जन्माउन त धनी–गरिब सबैको इच्छा हुन्छ। तर, मान्छेहरुले स्टकमा लगानी गरेर रिस्क लिएका छन्, फाईदा-घाटा दुवै रिस्क छ। तर, यो पनि अरु प्रविधिजस्तै धनीको पहुँचमा हुने भो। कसरी यस्ता प्रविधिलाई सबै मान्छेमा पुर्‍याउन आवश्यक छ भनेर सोच्नु पनि जरुरी छ। (देवकाेटाकाे ट्वीट थ्रेडबाट साभार )



Leave a Reply

Your email address will not be published.