कोभिडको कारणले हुनसक्छ डिमेन्सिया?

हेल्थपोस्ट नेपाल

काठमाडौ–विश्व अहिले कोभिड महामारीको तेस्रो वर्ष सामना गर्दैछ। यसबीचमा कोरोनाका विभिन्न भेरियन्ट पनि विश्वले महसुस गर्‍यो। कोरोनाका विभिन्न लक्षण र यसका असरबाट पनि विश्व गुज्रियो। तीमध्ये कतिपय लक्षण केही साता या दिनमा निको भए। तर केही यस्ता लक्षण छन्, जो कोरोना निको भएपछि पनि मानिसलाई प्रभाव पारिरहन्छन्।

त्यसमध्ये ‘लङ कोभिड’ त्यो स्थितिलाई मानिन्छ, जो लक्षण सुरु भएपछि हप्तौं या महिनौंसम्म पनि ठीक हुँदैन। कोभिडले शरीरलाई मात्र नभई मस्तिष्कलाई पनि असर गर्छ। कोभिड १९ को मनोवैज्ञानिक असरमा ब्रेन फग, चिन्ता, मूड परिवर्तन हुनु, ध्यान केन्द्रित गर्न नसक्नु या कुनै पनि कुरालाई सम्झन नसक्नु र निद्रा नलाग्नु आदि पर्छन्।

तर के यी लक्षणले डिमेन्सियाको खतरा सिर्जना गर्छन्?

कोभिड भाइरस नाक, मुख या आँखाको माध्यमबाट शरीरमा प्रवेश गर्छ र घाँटीसम्म पुग्छ। घाँटीबाट फोक्सो या शरीरका अन्य अंगमा प्रवेश गर्न सक्छ। तर केही परिस्थितिमा मस्तिष्कमा हुने रक्तसञ्चारमा पनि अवरोध गर्न सक्छ। भाइरस मस्तिष्कको केन्द्रीय तन्त्रिका प्रणालीमा पनि प्रवेश गर्नसक्ने विज्ञहरु बताउँछन्।

अध्ययनका अनुसार भाइरस मस्तिष्कमा प्रवेश गरेपछि चेतनाको स्तरमा कमी, स्ट्रोक तथा अन्य जटीलताको अनुभव हुन्छ। मस्तिष्कको सुन्निने समस्या जति बढी हुन्छ, कोभिड १९ को लक्षण उति नै गम्भीर हुन्छ।

डिमेन्सिया
हालसम्म गरिएका अध्ययनबाट डिमेन्सिया र कोभिड १९ संक्रमणबीच सम्बन्ध रहेको पत्ता लागेको छ। डिमेन्सियाबाट पीडित मानिसहरुमा कोभिड संक्रमण हुने खतरा रहने र कोभिड पीडितहरुमा डिमेन्सियाको जोखिम बढ्नसक्ने हुन्छ। कोभिडप्रभावितमा ‘थ्रम्बोसिस’ हुने सम्भावना पनि रहन्छ। थ्रम्बोसिस स्ट्रोकको सबैभन्दा ठूलो कारण हो र कोभिडको सामना गरिरहेका मानिसहरुमा मृत्युको कारण पनि बन्न सक्छ। यद्यपि कोभिड १९ डिमेन्सियाको कारण बन्न सक्छ या पहिलेदेखि नै भएको डिमेन्सियालाई अझ गम्भीर बनाउन सक्छ भन्नेबारेमा प्रमाणित भएको छैन।

तर, कोभिडको सम्बन्ध न्युरोलोजिकल अवरोधसँग रहेको भने स्पष्ट रहेको विशेषज्ञहरुको भनाइ छ। शारीरिक रुपमा सक्रिय र शारीरिक अभ्यास गर्ने व्यक्तिहरु कोभिडको मनोवैज्ञानिक समस्याको सामना गर्न सक्छन्। साथै, दैनिक ७ देखि ८ घण्टा राम्ररी निदाउने र सन्तुलित खाना भने खानुपर्छ।

के हो डिमेन्सिया?
दैनिक क्रियाकलापमा असर गर्ने गरी सोच्ने, याद गर्ने र तर्क गर्ने क्षमतामा प्रभाव पर्ने समस्या नै डिमेन्सिया हो। उमेर बढ्दै जाँदा मानिसमा कुनै न कुनै रुपमा डिमेन्सियाका लक्षण देखिन्छन्। यो विभिन्न कारणले हुन्छ। यद्यपि डिमेन्सिया हो कि होइन भन्नेबारेमा थाहा पाउन चिकित्सकीय परीक्षण नै गर्नुपर्छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को एक तथ्यांकअनुसार डिमेन्सियाबाट विश्वभर साढे ५ करोड मानिसहरु प्रभावित छन् भने बर्सेनि १० लाख मानिसहरुमा यो रोग पहिचान हुन्छ। अल्जाइमर डिमेन्सियाकै एक रुप हो। डिमेन्सियाबाट प्रभावितमध्ये अल्जाइमरको हिस्सा ६० देखि ७० प्रतिशत हुन्छ।

डब्लुएचओका अनुसार डिमेन्सिया विश्वमा मृत्युको प्रमुख कारणमा सातौं नम्बरमा पर्छ। डिमेन्सियाले शारीरिक, मानसिक, सामाजिक, आर्थिक प्रभाव पार्नेमात्र नभई पीडितको करिअर, परिवार र समाजमा पनि ठूलो असर पार्छ।



Leave a Reply

Your email address will not be published.