कोभिड महामारीमा स्वास्थ्यजन्य फोहोरको ‘प्रकोप’

८ अर्ब खोपबाट १ लाख ४४ हजार टन फोहोर उत्पादन

हेल्थपोस्ट नेपाल

काठमाडौं-सन् २०२० को सुरुदेखि विश्वभर फैलिएको कोरोना महामारीबाट बँच्न मानिसहरुले विभिन्न उपाय अपनाउने गरेका छन्। सबैभन्दा बढी मास्कको प्रयोग भएको छ। पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) प्रयोग हुने गरेको छ। विभिन्न चरणमा खोप लगाएका छन्। हातमा लगाउने पञ्जाकाे प्रयाेग पनि बढी नै भयाे।

तर कोरोनाबाट बँच्न प्रयोग गरिने साधनकै कारण अर्को समस्या थपिएको छ–वातावरणीय प्रदूषण।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार विश्वमा हालसम्म दिइएको ८ अर्ब खोपका कारण १ लाख ४४ हजार टन फोहोर सिर्जना भएको छ। जसमा खोपका ग्लास भायल, सुई र सेफ्टीबक्स समावेश हुन्छन्। यसकारण स्वास्थ्यजन्य फोहोरको विसर्जनको सुधारका लागि डब्लुएचओले आव्हान गरेको छ। यो संस्थाले वातावरणमैत्री प्याकेजिङ, पीपीईको पुनःप्रयोग र नगल्ने साधनको पुनःउत्पादनमा जोड दिएको छ।

डब्लुएचओका अनुसार विश्वभर आपूर्ति गरिएको १४ करोड टेस्ट किटका कारण २६ हजार टन फोहोर उत्पादन हुन्छ, जसमा अधिकांश प्लास्टिक र ७ लाख ३१ हजार लिटर रासायनिक फोहोर उत्पन्न हुनेगर्छ।

डब्लुएचओकी प्राविधिक अधिकृत म्याग्गी मोन्टगोमेरी भन्छिन्,‘कोभिड १९ ले स्वास्थ्यजन्य फोहोरमा १० गुणा वृद्धि भएको हामीले पाएका छौं।’

यसबाहेक समुद्रमा हरेक वर्ष ८ अर्ब टन प्लास्टिक पुग्ने गर्छ भने करिब १५ करोड टन प्लास्टिक चक्रीय हिसाबले घुमिरहेको हुन्छ।

सुरक्षाको भ्रम
कोभिड सुरु भएदेखि मानिसहरुमा विभिन्न किसिमका भ्रम रहे। संक्रमितले छोएको ठाउँमा सम्पर्कमा आएपछि आफू पनि संक्रमित भइन्छ भन्ने भ्रम रह्यो, जसका कारण प्रोटेक्टिभ गियर, पन्जालगायतका सामग्रीको उत्पादन तथा प्रयोग बढ्यो।

डब्लुएचओले राष्ट्रसंघीय पहलस्वरुप मार्च २०२० देखि नोभेम्बर २०२१ सम्ममा विभिन्न विकसित तथा अल्पविकसित मुलुकमा पठाएको ८७ हजार टन पीपीईका आधारमा यसले वातावरणमा पार्ने प्रभावका बारेमा विश्लेषण गरेको हो। डब्लुएचओले कोलम्बिया, बेलायत, घाना, भारत, लाइबेरिया, मडागास्कर, मलावी, नेपाल र फिलिपिन्सजस्ता मुलुकको केस स्टडी गरेको हो।

नेपालको विषयमा डब्लुएचओले भनेको छ–नेपालमा खोप लगाइसकेपछि बक्सहरु खोप केन्द्रमा छाडेको पाइयो र वातावरणीय खतरालाई समेत बेवास्ता गर्दै खुला रुपमा जलाइएको पाइयो।

भारतमा कोरोनाको पहिलो लहरमा स्वास्थ्यजन्य फोहोरमा १७ प्रतिशतले वृद्धि भएको पाइएको थियो भने फिलिपिन्समा संक्रमणजन्य फोहोरमा २५ प्रतिशतले वृद्धि भएको पाइयो। फिलिपिन्सका ५१ अस्पतालबाट थप ७० टन फोहोर सिर्जना भएको थियो, जुुन कोरोनापूर्वको समयमा भन्दा १२ प्रतिशत बढी थियो।

बेलायतमा पीपीईको प्रयोगबाट सन् २०२० को फेब्रुअरीदेखि अगष्टसम्मको अवधिमा कार्बन उत्सर्जनमा १ प्रतिशत वृद्धि भएको पाइयो। त्यहाँ सबैभन्दा बढी पन्जाको प्रयोग भएको पाइएको थियो भने ३ अर्ब पीपीई प्रयोग भएको थियो। यसअवधिमा दैनिक ५९१ टन फोहोर उत्पादन भएको थियो।



Leave a Reply

Your email address will not be published.