तयार भयो जनावरका लागि कोरोनाविरुद्धको खोप

हेल्थपोस्ट नेपाल

काठमाडौं–कोरोना कहरका कारण विश्वभरका मानिस दुई वर्षसम्म घरभित्रै ‘बन्दी’ जीवन बिताउन बाध्य भए। उद्योगधन्दा, अर्थव्यवस्था तहसनहस भयो। मानवजीवन अस्तव्यस्त बनाएको कोरोना महामारीले अब जीवजन्तु पनि प्रभावित हुने सम्भावना व्यक्त गरिँदैछ। यही आशंकालाई दृष्टिगत गर्दै अस्ट्रेलियाका अनुसन्धानकर्ताहरुले जनावरका लागि कोरोना खोप विकसित गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो खोप चाँडै नै जनावरमा परीक्षण गरिँदैछ। फ्लिन्डर्स युनिभर्सिटीका प्राध्यापक निकोलाई पेत्रोव्स्की र पशु चिकित्सक साम कोवाक जनावरका लािग कोभ्याक्स–१९ खोप बनाउन जुटेका छन्। पेत्रोव्स्कीद्वारा विकसित गरिएको कोभ्याक्स १९ इरानमा लाखौं मानिसलाई दिइएको छ भने अस्ट्रेलियामा पनि स्वीकृतिको प्रतिक्षामा छ।

यता, जनावरका लागि गरिने परीक्षणमा यसको विकासमा संलग्न साम कोवाकका ३ वटा कुकुरसहित २५ घरपालुवा जनावरलाई सहभागी गराइनेछ। पेत्रोव्स्कीले मानिसमा यो खोप सुरक्षित भएजस्तै हाल विकसित गरिएको खोप पनि घरपालुवा जनावरमा सुरक्षित हुने विश्वास गरिएको बताए।

वैज्ञानिकहरुले मृगमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारबारे अनुसन्धान गरिरहेका छन्। पहिलोपटक केही समयअघि मृगमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको थियो। उक्त नयाँ भेरियन्ट कतिको खतरनाक छ भन्नेबारेमा पुष्टि हुन सकेको छैन। अनुसन्धानकर्ताका अनुसार कोरोना भाइरसको यो नयाँ भर्सन मृगमा सन् २०२० देखि नै म्युटेट हुँदै आएको छ।

क्यानडाको दक्षिण–पश्चिम ओन्तारियोमा पाइने मृगमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको थियो। कोरोना भाइरसबाट संक्रमित व्यक्ति मृगको सम्पर्कमा रहेकाले सोही व्यक्तिबाट संक्रमण फैलिएको अनुमान गरिएको छ। यस्तो अवस्थामा कोरोनाको खोपबाट घरपालुवा जनावरलाई बचाउन सकिने वैज्ञानिकहरुले बताएका छन्।

युनिभर्सिटी अफ टोरन्टो र सनीब्रुक रिसर्च इन्सिच्युटका भाइरोलोजिस्ट समीरा मुबारेका अनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट मृगमै उत्पन्न भएको थियो। अर्को एक अनुसन्धान समूहले कोरोनाको अल्फा भेरियन्ट अमेरिकाको पेन्सिलभेनियामा पाइने मृगमा रहेको र म्युटेट पनि भइरहेको बताएको छ।

के भन्छ सिडिसी?
तर अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल भने कोभिड १९ का लागि जिम्मेवार मानिएको ‘सार्स कोभ २’ भाइरस जनावरबाट मानिसमा फैलने सम्भावना निकै न्युन रहेको बताउँछ। मानिसबाट जनावरमा भने निकै निकट सम्पर्कबाट मात्र सर्ने सिडिसीको भनाइ छ। यद्यपि जनावरहरु कोभिडबाट कस्तो प्रकारले संक्रमित हुन सक्छन् भन्नेबारे थप अध्ययनहरु आवश्यक भएको सिडिसीले जनाएको छ। त्यसैले आफ्ना घरपालुवा जनावर, चराचुरुंगी र वन्यजन्तुको सम्पर्कबाट टाढै रहनु राम्रो हुने उल्लेख छ।

सन् २०२० को अप्रिलमा अमेरिकाको ब्रोङस चिडियाखानाका बाघ र सिंह कोभिड १९ बाट संक्रमित भएको समाचार सार्वजनिक भएको थियो। त्यसलगत्त सो चिडियाखानामा गरिएको अनुसन्धानमा अन्य दर्जन जनावरमा सार्स कोभ २ का भाइरस फेला परेको थियो।

 



Leave a Reply

Your email address will not be published.