किन बढ्दैछ हृदयघात?

हेल्थपोस्ट नेपाल

काठमाडौं-प्रख्यात क्रिकेटर शेन वार्नले शुक्रबार बिहान आफ्ना मित्र रोड मार्शको निधनप्रति दुःख व्यक्त गर्दै ट्वीट गरे। ट्वीटमा उनले रोड मार्श क्रिकेटका लिजेन्ड रहेको र थुप्रै युवाका प्रेरणा स्रोत भएको भन्दै श्रद्धान्जली व्यक्त गरेका थिए। तर शुक्रबार साँझ नै उनको मृत्यु भयो। कारण थियो–हृदयाघात।

हृदयाघातबाट निधन हुनेहरुको सूची बनाउने हो भने निकै लामो हुन्छ।

विश्वव्यापी रुपमा भइरहेको जीवनशैली परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्ने गरेको छ। विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार मुटुजन्य रोगका कारण सन् २०१९ मा १ करोड ७९ लाख मानिसको मृत्यु भएको थियो। विश्वको कूल मृत्युमध्ये यो रोगबाट मृत्यु हुनेको दर ३२ प्रतिशत रहेको छ। जसमा ८५ प्रतिशत मृत्यु हृदयाघात र स्ट्रोकबाट हुने गरेको छ।

मृत्यु हुनेमध्ये एक तिहाई मानिसहरु न्युन र मध्यम आय भएका मुलुकका हुने गरेका छन्।

यस्तै, अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार अमेरिकामा पनि यो मृत्युको प्रमुख कारक बन्ने गरेको छ। सिडिसीको तथ्यांकअनुसार मुटुजन्य रोगबाट अमेरिकामा हरेक ३६ सेकेण्डमा एक जनाको मृत्यु हुने गरेको छ भने हरेक वर्ष ६ लाख ५९ हजार मानिसको मृत्यु हुने गरेको छ, जुन प्रति ४ मृत्युमा एक जनाको मृत्युको कारण मुटुजन्य रोग हुने गरेको छ।

सिडिसीका अनुसार मुटुजन्य रोगका कारण अमेरिकामा २०१६ देखि २०१७ सम्ममा ३ खर्ब ६३ अर्ब डलर खर्च भएको थियो। बेलायतमा भने बर्सेनि १ लाख ६० हजार मानिसको मृत्यु हुने गरेको छ। जुन दैनिक ४६० र हरेक ३ मिनेटमा एक जना रहने गरेको छ ।

के हाे हृदयघात?

मुटुको रगतको नसा ब्लक भई हुने रोग हार्टअट्याक अथवा हृदयघात हो। हृदयघात हुँदा मुटुको रगतको नली साँघुरिन गई १०० प्रतिशत ब्लक हुने गर्दछ। त्यतिबेला बिरामीलाई एकदम जोडले छाती दुख्ने, खलखली पसिना आउने गर्दछ। यदि कसैलाई एक्कासी यस्तो समस्या भए तुरुन्त नजिकैको अस्पताल लैजानु उत्तम हुन्छ।

डाक्टरहरुले रोगको पहिचान गरी हृदयघात भएको हो या होइन पत्ता लगाउँछन्। यदि हृदयघात भएको पुष्टि भएमा तुरुन्तै बन्द रगतको नसा खोल्नुपर्छ। यस्तो प्रकारको उपचार विधिलाई ‘प्राइमरी एन्जियोप्लाष्टि’ भनिन्छ। यो तालिमप्राप्त डाक्टरहरुले बिनाचिरफार रगतको नसाको माध्यमबाट बेलुन छिराएर गरिने पद्धति हो।

एन्जियोप्लाष्टिको अर्को राम्रो पक्ष के हो भने हृदयघात हुनुअघि शंकास्पद बिरामीको एन्जियोग्राफी गरी हेर्ने र यदि गम्भीर अवस्थामा छ भने बेलैमा एन्जियोप्लाष्टि गरी हृदयघात हुनबाट जोगाउन सकिन्छ।

युवामा देखिने हृदयघातका कारण

यो रोग साधारणतया बढी उमेर भएकालाई देखिने गरेको छ। तर, हिजोआज कम उमेरका युवालाई पनि देखिन थालेको छ। यसको प्रमुख कारण चुरोट तथा सूर्तिजन्य पदार्थ तथा लागुऔषधको सेवन नै हो। यस्ता पदार्थ सेवन गर्ने व्यक्तिलाई जुनै उमेरमा पनि हृदयघात हुनसक्छ।

सामान्यतः १७/१८ वर्षका युवालाई कहिले पनि हृदयघात हुँदैन। त्यस्तै, जन्मदै जीन (वंशाणु) मा खराबी छ भने रगत बाक्लो हुने कारणले पनि हृदयघात हुनसक्छ। योसँगै सुगरको बिरामी, किड्नीका बिरामी, कोलेस्ट्रोल बढेका बिरामी, थाइरोइड, प्रेसरका बिरामीहरुलाई पनि हृदयघात हुने सम्भावना उत्तिकै बढी हुन्छ।

महिलाभन्दा पुरुष बढी जोखिममा

हृदयघातको समस्या महिला र पुरुषमा भने फरक हुन्छ। एउटै उमेर समूहका पुरुषमा हृदयघातको समस्या धेरै हुन्छ भने महिलामा कम हुन्छ। महिलामा हुने महिनावारीका कारण उनीहरुमा उत्पादन हुने हर्मोनका कारण हृदयघात न्यून हुन्छ।

महिनावारी भएको समयमा महिलाको हर्मोन निस्किने गर्दछ। हृदयघात हुँदा बन्द हुने नसा उक्त हर्मोनले खुलाएर वा फुकाएर राख्ने गर्दछ। नसालाई साँघुरो हुन दिँदैन, जसका कारण हृदयघात हुनबाट जोगाउँछ। तर, पुरुषमा यस्ता खाले हर्मोन नहुने भएका कारण जोखिम बढी हुन्छ।

महिनावारी नभएको वा मनोपज भइसकेका महिलामा भने हृदयघातको सम्भावना पुरुषको जतिकै हुन्छ।

तर, विभिन्न रोग जस्तै, थाइरोइड, सुगर, कोलेस्ट्रोलजस्ता समस्या महिलामा पहिलेदेखि नै छ भने उनीहरुमा युवा अवस्थामै पनि हृदयघात हुनसक्छ।

किन हुन्छ अकस्मात हृदयघात?

हृदयघात अचानक हुनुका पछाडि पनि विभिन्न कारण छन्। जो व्यक्तिलाई हृदयघात हुन्छ, उसमा पहिलेदेखि नै अन्य दीर्घ रोग, खानपान तथा मदिरापानको स्वभाव भएको हुनुपर्छ।

त्यस्तै, रक्तचाप भएका व्यक्तिहरुमा झन् हृदयघात हुने सम्भावना हुन्छ। रक्तचाप भएको थाहा भएर पनि औषधि नखाने तथा लापरबाही गर्ने मानिसलाई मुटुभित्र समस्या हुनसक्छ।

मुटुको नसामा निक्कै प्रेसर परेको हुन्छ, जुन शरीरले धानेर बसेको हुन्छ। भित्रीरुपमा असर भइराखे पनि बाहिर देखिँदैन जसका कारण समस्या झन्झन् बढ्दै जान्छ। पछि एक्कासी हृदयघात हुन्छ।

तनाबका कारण मात्र हृदयघात हुँदैन। हृदयघात हुनलाई व्यक्तिको मुटुको नसा साँघुरिएको हुनुपर्छ। सबै मानिसको मुटुमा थोरैथोरै बोसो जमेकै हुन्छ, तर कतिपयको ५० देखि ६० प्रतिशत बोसो जमेर बसेको हुनसक्छ। सामान्य अवस्थामा केही हुँदैन, तर जब तनाब बढ्छ वा एन्जाइटी बढ्छ, एकैचोटी हृदयघात हुन्छ।

कसरी बँच्ने?

हृदयघात हुनबाट बच्न स्वस्थकर खानेकुरा खानुपर्छ। हाल मानिसमा बाहिर रेष्टुराँहरुमा पाकेको खाना बढी खाने बानी छ। त्यस्तै, प्लास्टिकमा प्याक गरेका जंक फुड (कृतिम खानेकुरा) खाने बानी छ। यसले गर्दा भविष्यमा हृदयघातको सम्भावना बढाउँछ।

प्याकेटमा राखिएको खानेकुरामा पछिसम्म खान मिल्ने गरी केमिकल राखिएको हुन्छ, जुन मुटुलाई नकारात्मक असर पार्दछ।

त्यसैले हामीले कृतिम खानेकुराको सेवन (बोतल र प्याकेटका) बन्दगरि अर्गानिक खाने बानी बसाल्ने र दैनिक ब्यायाम गर्न सक्यौं भने पनि हार्टअट्याकजस्तो खतरनाक रोगबाट आफूलाई जोगाउन सक्छौं।

चुरोट खाने मानिसलाई हृदयघात कति गुणाले बढ्छ?
यदि ५० वर्षभन्दा कम उमेरका मानिसले चुरोट सेवन गर्छ भने उसलाई हृदयघात हुने सम्भावना चुरोट नखाने मानिसको तुलनामा आठ गुणाले बढी हुन्छ। त्यसैगरी, ५० देखि ६५ वर्षसम्ममा पाँच र ६५ वर्षभन्दा माथि तीन गुणाले बढ्छ।

त्यसकारण, जति सानो उमेरमा चुरोट खान सुरु गर्छ, उसलाई हृदयघात हुने सम्भावना त्यही उमेर समूहको तुलनामा बढी हुन्छ।

चुरोटले सबैभन्दा खतरा कसलाई गर्छ?

एक अध्ययनले के देखाएको छ भने १८ देखि ३९ बर्षसम्मका चुरोट खाने महिला र पुरुषलाई हेर्दा चुरोट खाने महिलालाई १३ गुणा हृदयघात हुने सम्भावना हुन्छ। यसमा पनि परिवार नियोजनको चक्की र चुरोट खाने मानिसलाई हृदयघात हुने सम्भावना एकदमै बढी हुन्छ।

त्यसकारण युवा अवस्थामा (स्कुल जाने) उमेर समूहका मानिसलाई चुरोट र खैनी खाने बानीलाई तुरुन्तै रोक्नु पर्ने हुन्छ।

एक मानिसले चुरोट छाड्नेबित्तिकैका फाइदा
–२० मिनेटमा ब्लड प्रेसर नर्मल हुन्छ
–तीन दिनमा श्वास फेर्न सजिलो अनुभव गर्छ
–एक वर्षमा हृदयघात हुने सम्भावना ५० प्रतिशतले कम गर्न सकिन्छ।
–चुरोट खान छोडेको १० वर्षभित्र हृदयघात हुने सम्भावना चुरोट नखाने मानिससँग बराबर हुन्छ।
–दुई वर्षमा फोक्सोले गर्ने काम ३० प्रतिशतले राम्रो काम गर्छ।



Leave a Reply

Your email address will not be published.