युद्धग्रस्त युक्रेनको दर्दनाक तस्बिरः बंकरमा चलाइएका अस्पताललाई बिरामी बचाउने चिन्ता

हेल्थपोस्ट नेपाल

काठमाडौं–रुसले आक्रमण तीव्र बनाउँदै लगेपछि युक्रेनका अस्पताल तथा स्वास्थ्य संस्थाहरु बंकरमा सञ्चालित हुन थालेका छन्। रुसले नियन्त्रणमा लिएको मारिउपोल र खार्किभ सहरका अस्पताल बंकरमा सञ्चालन भएका हुन्।

किभस्थित युक्रेनको सबैभन्दा ठूलो बाल अस्पताल ‘ओख्मात्दित’ ले केही क्यान्सरका बिरामीहरुलाई उपचार गर्दै आएको थियो। तीमध्ये तत्काल कुनै स्वास्थ्य खतरा नभएका बिरामीलाई डिस्चार्ज गरिसकेको छ। तर केही बिरामीहरु भने हलचल गर्न नसक्ने अवस्थामा छन्। यसका साथै युद्ध सुरु भएपछि घाइते भएका बालबालिकाहरु पनि अस्पतालमा थपिने गरेका छन्। ती सबैको उपचार बंकरमा हुने गरेको छ।

डाक्टर र नर्स आफ्नो क्षमताले भ्याएसम्म उपचारमा खटिइरहेका छन्। तर आवश्यक मेडिकल सामग्री, खाना, पानीको अभाव हुँदै गइरहेको छ।

‘यदि हामीले उपचार गर्न छाड्यौं भने उनीहरु (बिरामी) मर्नेछन्,’ अंको–अप्थाल्मोलोजिस्ट लेसिया लिसित्सिया भन्छिन्, ‘हामी उपचार छाड्न सक्दैनौं, युद्धका बीच पनि उनीहरु दैनिक क्यान्सरसँग संघर्ष गरिरहेका छन्।’

हलचल गर्न नसक्ने बालबालिकाहरुले अस्पतालका बंकर बेसमेन्टमा सीमितमात्रै उपचार पाइरहेका छन्। बंकरमा हरेक सेकेण्डमा बम र हवाई हमलाका त्रासदीपूर्ण आवाज आइरहेका छन्। किभको क्षेत्रीय अंकोलोजी केन्द्रमा रगत सकिएका छन्। बालबालिकाको क्यान्सर च्यारिटीकी कार्यक्रम निर्देशक जुलिया नोगोभित्स्यानाका अनुसार रगत अभाव पूर्ति गर्न डाक्टरहरुले बालबालिकाका अभिभावककै रगत लिन थालेका छन्।

यसबीचमा अस्पतालले केही गम्भीर बिरामीलाई पोल्याण्ड पठाउन सफल भएको छ। अलि कम गम्भीर खालकालाई घर पठाइएको छ। अस्पतालका मुख्य सर्जन भोलोदोभिर झोभनिरका अनुसार अस्पतालले दैनिक रुपमा ६ देखि ७ बालबालिकाको उपचार गर्ने गरेको छ। ती पनि तत्काल उपचार आवश्यक पर्ने एपेन्डीसाइटिसका बिरामी हुन्।

उनका अनुसार अस्पताल आउने बिरामीको संख्या स्वाट्टै घटेको छ। ‘उनीहरु यहाँसम्म आउन पनि त सक्दैनन्,’ उनी भन्छन्। उनका अनुसार विगतमा दैनिक ६ सयको संख्यामा बिरामी आउने अस्पतालमा अहिले २ सयको संख्यामा रहने गरेका छन्।

 

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुख टेड्रोस घेब्रेयेसससले युक्रेनमा तत्काल स्वास्थ्य सामग्री आपूर्तिको आवश्यकता रहेको बताएका छन्। कच्चा पदार्थ पुग्न नसक्दा युक्रेनमा अहिले मेडिकल अक्सिजनको अभाव हुन थालेको छ। यसबीचमा ३ वटा अक्सिजन प्लान्ट बन्द भएका छन्। युद्धप्रभावित र कोभिडका गम्भीर खालका बिरामीलाई अक्सिजन आवश्यक भएको छ। अक्सिजन चाहिने अवस्थाका मात्र २ हजार बिरामीहरु रहेको डब्लुएचओले जनाएको छ।

युद्ध सुरु भएयता स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी पटक–पटक आक्रमणको निशानामा परेको डब्लुएचओले जनाएको छ। दोनेत्सक क्षेत्रको भुहलेदार सहरस्थित अस्पतालअगाडि रुसी मिसाइल बिस्फोट गराइएको थियो भने २ दिनपछि किभस्थित ओखमात्दित बाल अस्पतालमा आक्रमण भएको थियो। यस्ता क्रियाकलाप जेनेभा महासन्धीविपरीत भएको डब्लुएचओ प्रमुखको भनाइ छ।



Leave a Reply

Your email address will not be published.