रुसी हमलाका कारण युक्रेनको परमाणु प्लान्टमा आगलागी हुँदा विकिरण फैलने खतरा

हेल्थपोस्ट नेपाल

काठमाडौं–रुसी सेनाको आक्रमणबाट युक्रेनस्थित यूरोपकै सबैभन्दा ठूलो परमाणु पावर प्लान्टमा आगो लागेको छ। आगो लागिरहे परमाणु दुर्घटना हुन सक्ने चेतावनी परमाणु सुरक्षा विशेषज्ञहरुले दिएका छन्।

आगो लागिरहे सन् १९८६ मा चेर्नोबिलमा भएको दुर्घटनाजस्तै विकिरणको स्तर बढ्ने र त्यसको असर वर्षौंसम्म रहने उनीहरुको भनाइ छ।

अहिले रुसी सेनाले प्लान्टलाई अफलाइन गर्दै युक्रेनमा विद्युत आपूर्ति अवरुद्ध गर्ने प्रयास गरिरहेको छ। युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले परमाणु प्लान्टमा रुसी आक्रमणको खबरका बीच आपतकालीन सहयोगको अपिल गरेका छन्। उनले परमाणु संकट निम्तने चेतावनी दिँदै भनेका छन्, ‘युरोपका नागरिकहरु अब जाग्नुहोस्।’

इन्टरनेशनल एटोमिक इनर्जीका महानिर्देशक रफाइल ग्रोसीले प्लान्ट आसपास सैन्य अभियान रोक्न अपिल गरेका छन्। आइएइएले प्लान्टको रिएक्टरसम्म आगो पुगे गम्भीर रुपमा खतरनाक साबित हुने चेतावनी दिएको छ। यद्यपि हालसम्म प्लान्टको विकिरणको स्तरमा कुनै परिवर्तन नआएको बताइएको छ। उक्त परमाणु प्लान्टबाट युक्रेनमा २५ प्रतिशत बिजुली आपूर्ति हुन्छ।

यसअघि रुसी सेनाले राजधानी किभभन्दा करिब १ सय किलोमिटर टाढा रहेको चेर्नोबिल प्लान्टलाई नियन्त्रणमा लिएका थिए।



Leave a Reply

Your email address will not be published.