कोरोनाको तेस्रो लहर अन्त्य हुँदै, अब आउला चौथो लहर?

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा गत माघ ६ कोरोनाको तेस्राे लहर उच्च विन्दुमा पुग्यो। उक्त दिन १२ हजार ३ सय ३८ जनाका संक्रमण पुष्टि भयो। त्यसमध्ये आधाभन्दा बढी अर्थात् ६ हजार ९ सय ८१ जना काठमाडौं उपत्यकाका थिए। अर्थात्, काठमाडौं उपत्यका तेस्रो लहरको ‘हटस्पट’ भएको थियो।

त्यसपछि बिस्तारै ओरालो लागेको तेस्रो लहर डेढ महिनापछि दैनिक १ सय २७ मा झरेको छ। फागुन १८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ६ हजार ८ सय ७४ जनाको नमुना परीक्षण गर्दा १ सय २७ जनामा संक्रमण देखिएको छ।

यस्तै, सक्रिय संक्रमित संख्या पनि घटेको छ। उच्चविन्दुमा रहेको माघ ७ का दिन ५७ हजार ३ सय २८ जना रहेकोमा फागुन १९ मा उक्त संख्या घटेर ७ हजार ७ सय ७० मा आईपुगेको छ। निको हुने दर माघ ७ मा ९२ दशमलब २ प्रतिशत रहेकोमा फागुन १८ मा ९८ प्रतिशत रहेको छ।

यसले कोरोनाको तेस्रो लहर अन्त्यतिर आएको देखाए पनि अब चौथो लहर आउने सम्भावना कतिको छ?

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन अब चौथो लहर आइहाले पनि विगतमा जस्तो गम्भीर अवस्था ननिम्तने बताउँछन्। ‘समयक्रमसँगै भाइरसको म्युटेसन भइराख्दोरहेछ, कदाचित अब उतारचढाव देखियो भने पनि दोस्रो लहरमा जस्तो समस्या हुने देख्दिनँ,’ उनले भने, ‘खोप अभियान निरन्तर रुपमा अघि बढिरहेको अवस्थामा आगामी दिनमा कोरोना भाइरसले टाउको उठाउन खोजे पनि पहिलाजस्तो अवस्था आउनेछैन।’

डा पुनले ओमिक्रोन भाइरस फैलिएर तेस्रो लहर सुरु हुँदै गर्दा अब कोरोना भाइरस हरेक वर्ष देखिने सामान्य फ्लुको अवस्थामा जाने प्रक्षेपण गरेका थिए।

‘मैले पहिले पनि ओमिक्रोन भनेको संक्रमितको लहर हो भनेको थिएँ, यो अब स्वाइनफ्लुको मोडलमा जान्छ, भेरियन्टहरु आइराख्ला, खोप पनि अद्यावधिक भइराख्छ, अब हामीबीच भएको फ्लुकै मोडलमा जानसक्छ भन्ने मेरो भनाइ हो,’ उनले भने।

विश्वव्यापी रुपमा लगाइएको खोपका कारण पनि अब विगतमा जस्तो गम्भीर स्थिति सिर्जना नहुने विशेषज्ञहरुको भनाइ छ। दोस्रो लहरका बेला नेपालमा भर्खर कोरोनाविरुद्धको खोप लगाउने क्रम सुरु भएको थियो भने नेपालमा अस्पतालका पूर्वाधारहरु पर्याप्त थिएनन्। अक्सिजन अभाव चरम अवस्थामा थियो।

तर, तेस्रो लहर पार गरिसक्दा बुस्टर डोज लगाउने क्रम सुरु भएको छ। स्वास्थ्य मन्त्रालयले फागुन १८मा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको कूल जनसंख्याको ७४ प्रतिशतले कम्पनीमा पनि एक डोज खोप लगाइसकेका छन्। यो संख्या २ करोड १६ लाख ३ हजार १ सय ८३ छ भने पूर्ण डोज लगाउनेको संख्या ६० प्रतिशत अर्थात् १ करोड ७५ लाख ६७ हजार ८ सय २५ छ।

यस्तै १८ वर्षभन्दा माथिका ९१ दशमलब ७ प्रतिशतले कम्तीमा एक डोज खोप लगाइसकेका छन् भने पूर्ण डोज लगाउनेको संख्या ७९ दशमलब १ प्रतिशत छ। अर्थात् १ करोड ५७ लाख ५९ हजार ७ सय ४ जनाले पूर्ण खोप लगाइसकेका छन्। १२ वर्षदेखि १७ वर्षसम्मका ९० प्रतिशतले पहिलो डोज र ४९ प्रतिशतले दुवै डोज लगाइसकेका छन्। बुस्टर डोज लगाउनेको संख्या ११ लाख ९९ हजार ५ सय ८ छ। सरकारले तेस्रो लहरका बेला सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेपछि पनि खोप लगाउनेका संख्यमा उल्लेख्य वृद्धि भएको बताइएको छ।

‘दोस्रो लहरमा नेपाललगायत विश्वभर जुन त्रास थियो, खोप अभियान सञ्चालन भइरहेको र बुस्टर डोजसमेत लगाउनेका संख्या बढ्दै गएकाले अब त्यस्तो अवस्था नहोला, यसका साथै भाइरस पनि बिस्तारै कमजोर हुँदै जाला,’ डा पुनले भने।

उनका अनुसार पहिलो, दोस्रो र तेस्रो लहर जसरी लगालग महामारी आए पनि अब चौथो लहर त्यसरी आउनेछैन। ‘वर्षौंपछि अप एण्ड डाउन भन्ने कुरा अलग हो, तर पहिलो र दोस्रो लहरजस्तो लगालग देखिने अवस्था अब नहोला,’ उनले भने।



Leave a Reply

Your email address will not be published.