प्रदूषणका कारण बालबालिकामा बढ्दै ‘एडीएचडी’को समस्या, कस्तो हुन्छ यसको लक्षण?

हेल्थपोस्ट नेपाल

काठमाडौं-उद्योगधन्दा तथा गाडीबाट निस्कने धुवाँ र अन्य कारणबाट वायु प्रदुषणको समस्या तीव्र रुपमा बढिरहेको छ। यसबाट विभिन्न खालका स्वास्थ्य समस्यामा पनि वृद्धि भएको छ। वायु प्रदूषणका कारण बालबालिका पनि अछुतो छैनन्। खासगरी, सहरी क्षेत्रमा बस्ने बालबालिकामा वायु प्रदूषणको गम्भीर असर पर्ने गरेको छ।

बार्सिलोना इन्सिच्युट फर ग्लोबल हेल्थले हालै गरेको एक अनुसन्धानअनुसार वायुप्रदूषणका कारण बालबालिकामा एडीएचडी (अटेन्सन डेफिसिट हाइपरएक्टिभ डिस्अर्डर) को समस्या बढ्न थालेको छ।

हावामा रहेका स–साना कणबाट संक्रमण भएपछि बालबालिकामा व्यवहारसम्बन्धी समस्या बढ्ने गरेका अनुसन्धानमा उल्लेख छ। कम प्रदूषणयुक्त वातावरणमा बस्ने बालबालिकामा भने यो समस्या ५० प्रतिशतले कम हुने जनाइएको छ।

सन् २००० देखि २००१ सम्ममा जन्मिएका बालबालिकामा अध्ययन गरिएपछि त्यसबाट प्राप्त तथ्यांकलाई अस्पताल र प्रशासनको रेकर्डसँग तुलना गरिएको थियो। जसअनुसार पिएम २.५ कणका कारण उच्चस्तरको वायु प्रदूषण भएको क्षेत्रमा रहने बालबालिकामा एडीएचडीबाट पीडित हुने खतरा रहन्छ। यो एक खालको न्यूरोडेभलपमेन्ट समस्या हो। यो समस्याबाट करिब ५ देखि १० प्रतिशत बालबालिका प्रभावित हुने अनुसन्धानले उल्लेख गरेको छ।

के हो एडीएचडी?

यो एक खालको मानसिक समस्या हो, जुन बालबालिकाको व्यवहारसँग सम्बन्धित हुन्छ। परीक्षण र उपचार सुविधाको कमीका कारण यो दिनानुदिन गम्भीर बन्दै  गएको बताइन्छ। भारतमा विद्यालय जाने ११ प्रतिशत बालबालिकामा यस्तो समस्या रहेको एक अध्ययनले देखाएको थियो।

यो समस्याबाट पीडित बालबालिकाको व्यवहार परिवर्तन हुन थाल्छ। स्मरणशक्ति कमजोर हुन्छ। कुनै चिजमा ध्यान केन्द्रित गर्ने क्षमताको सही प्रयोग गर्न सक्दैनन्।

यसका लक्षणहरु

कुनै पनि कार्य सही ढंगले गर्न नसक्नु

अर्‍हाएका काम मान्न समस्या हुनु

अरुका कुरा नसुन्नु

बढी कुरा गरिरहनु

कुनै पनि कुरा सम्झन नसक्ने

सधैं उदास भइरहने

अरु व्यक्तिलाई सताइरहने

उपचार सम्भव छ?

बालबालिकाको व्यवहारसँग जोडिएको यस्तो समस्याको कुनै विशेष खालको परीक्षण छैन। लक्षणका आधारमा उपचार गरिन्छ। यस्तो खालको लक्षण देखिएपछि विशेषज्ञको सल्लाह लिनुपर्छ। चिकित्सकले बच्चाको मेडिकल हिस्ट्रीका आधारमा परीक्षण र उपचार गर्छन्।

चिकित्सकले बच्चाको सुन्ने र देख्ने क्षमता, चिन्ता, उदासीपना र अन्य व्यावहारिक समस्याको परीक्षण गर्छन्। यसका लागि विशेषगरी मनोवैज्ञानिक, मनोचिकित्सक या न्युरोलोजिस्टकहाँ लैजानुपर्छ। यसमा बच्चाको आइक्यू लेभल पनि जाँच गर्न सकिन्छ।



Leave a Reply

Your email address will not be published.