चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

हेल्थपोस्ट नेपाल

भक्तपुर–चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। चाँगुनारायण नगरपालिका–४ हुचीढुङ्गामा २०७७ मंसिरबाट सञ्चालनमा ल्याएको चाँगुनारायण नगर अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्टको सोमबार नगरप्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गरे।

चाँगुनारायण फाउण्डेशनको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा जडान गरिएको अक्सिजन प्लाण्टको उद्घाटनपछि बोल्दै उनले नगर अस्पतालको सेवा सुविधालाई गुणस्तरीय बनाउन नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेर लागिरहने बताए।

अस्पतालमा रु एक करोड ५७ लाख बराबरको अक्सिजन प्लाण्ट जडान गरी सुरु गर्न सफल भएको उनले बताए।

नगरपालिकाले सबै स्वास्थ्यचौकी र नगर अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप सञ्चालन गरेर १०५ प्रतिशतभन्दा बढीलाई खोप दिलाउन सफल भएको बताउँदै उनले स्थापना दिवसमा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिने बताए। चाँगुनारायण नगरपालिकाका बासिन्दाले अब अस्पतालमा अक्सिजन नपाएर वा शय्या नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआउने दाबी गर्दै उनले स्वास्थ्य र शिक्षामा नगरपालिकाले धरै प्रगति गरेको चर्चा गरे।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चौलागाईँले अस्पतालमा गुणस्तरीय सेवा सञ्चालन गर्दै यसको व्यवस्थापनमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताए। अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष साधुराम दाहालले अस्पतालसम्म पुग्ने सडकको स्तरोन्नति अत्यावश्यक रहेको भन्दै यसमा नगरपालिकाले चासो दिनुपर्ने औँल्याए।



Leave a Reply

Your email address will not be published.