रुसी आक्रमणका कारण तहसनहस हुँदै युक्रेनी स्वास्थ्य प्रणाली

हेल्थपोस्ट नेपाल

काठमाडौं–रुसी आक्रमण तीव्र हुँदै जाँदा गत आइतबार युक्रेनी स्वास्थ्यमन्त्रीले स्वास्थ्य उपचारका लागि सहयोग गर्न अन्य मुलुकका चिकित्सक र स्वास्थ्य कार्यकर्तालाई आग्रह गरे। उनले भनेका थिए, ‘फ्रन्टलाइन र पछाडि रहेर सहयोग गर्ने स्वास्थ्य जनशक्तिको तत्काल खाँचो छ।’

रुसी आक्रमणका कारण यतिखेर युक्रेनको स्वास्थ्य प्रणालीमा गम्भीर असर पर्न थालेको छ। अस्पतालहरुमा कोभिड तथा युद्धका कारण गम्भीर बिरामी परेकाहरुलाई अत्यावश्यक अक्सिजनसमेत सकिन थालेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले राजधानी किभलगायत अन्य स्थानका अस्पतालमा अक्सिजन आपूर्ति गर्न नसकेका कारण आउँदो २४ घण्टामा अक्सिजनको गम्भीर अभाव हुने चेतावनी दिएको छ। डब्लुएचओले केही साझेदार संस्थासँग मिलेर तात्कालिक सामग्रीहरु पोल्याण्डबाट लगिरहेको जनाएको छ।

‘अक्सिजनको आपूर्ति निकै खतरनाक विन्दुमा पुगेको छ,’डब्लुएचओ प्रमुख टेड्रोस घेब्रेयेसस र युरोपका लागि क्षेत्रीय निर्देशक हान्स क्लगले भनेका छन्। यो अवस्थाका कारण धेरै मानिसको जीवन खतरामा परेको उनीहरुको भनाइ छ।

हाल युक्रेनी अस्पतालहरुमा भर्ना भएका करिब १ हजार ७ सय बिरामी अक्सिजन चाहिने अवस्थामा रहेको जनाइएको छ। यसका साथै युक्रेनका अक्सिजन प्लान्टहरुले मेडिकल अक्सिजनका लागि आवश्यक अत्यावश्यक वस्तु जियोलाइटको पनि अभाव बेहोरिरहेका छन्।

यस्तै, कतिपय अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले युक्रेनमा सञ्चालनमा ल्याएका कार्यक्रमसमेत रुसी आक्रमणपछि स्थगित गरेका छन्। मेडिकल सान्स फ्रन्टियर्सले युक्रेनमा सञ्चालित एचआईभी, क्षयरोगसहितका अन्य आधारभूत स्वास्थ्य सेवाका थुप्रै क्लिनिक बन्द गरेको छ।

उक्त संस्थाले गत २५ फेब्रुअरीमा विज्ञप्ति जारी गर्दै युद्धका कारण वृद्धवृद्धा र दीर्घरोगीहरुलाई गम्भीर असर गर्नसक्नेतर्फ आफू चिन्तित रहेको जनाएको थियो।

यस्तै, युक्रेनमा सञ्चालित जनस्वास्थ्यका कार्यक्रमहरुसमेत प्रभावित भएका छन्। गत जनवरीमा त्यहाँको सरकारले पोलियोविरुद्धको राष्ट्रिय अभियान सुरु गरेको थियो। गत वर्ष पश्चिमका रिभ्ने र जाकारपत्तिय क्षेत्रमा २० जना बालबालिकामा पोलियो रोग फेला परेपछि यसवर्ष पोलियोविरुद्धको बुस्टर खोप अभियान सुरु गरिएको थियो।

अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)का अनुसार रुसको आक्रमणका कारण पूर्वी क्षेत्रको दोनेत्स्क क्षेत्रका दुई प्रमुख खानेपानीका पम्पिङ स्टेशन क्षतिग्रस्त भएका छन्। जसबाट त्यहाँका करिब १० लाख मानिसले स्वच्छ खानेपानीको पहुँच पाउन सकेका छैनन्।

आइसीआरसीले आन्तरिक र बाह्य रुपमा विस्थापितहरुले गम्भीर स्वास्थ्य समस्याको सामना गर्नसक्ने चेतावनी दिँदै शरणार्थी शिविरहरुमा सरुवा रोगको प्रकोप फैलनसक्ने पनि बताएको छ। हालसम्म ५ लाखभन्दा बढी मानिसहरु विस्थापित भएका छन्। युद्ध जारी रहे ४० लाख मानिसहरु विस्थापित हुनसक्ने राष्ट्रसंघले जनाएको छ।

 



Leave a Reply

Your email address will not be published.