युक्रेनकाे द्वन्द्वग्रस्त क्षेत्रका २४४ नेपाली सुरक्षित स्थानमा : एनआरएनए

हेल्थपोस्ट नेपाल

काठमाडाैं – रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले युक्रेन छाडेर पोल्याण्डामा ६०, स्लोभाकिया र रोमानियामा १२-१२, हंगेरीमा चार र माल्डावामा दुईजना सकुशल पुगेका जनाएको छ।

सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १३०, स्लोभाकियाको सीमामा १२, रोमानियाको सीमामा १० र माल्डावाको सीमामा दुई नेपालीलाई दोस्रोमुलुक जान रोकिएकाे छ।

उनीहरूले आज साँझसम्म सीमा क्रस गर्न सक्ने अनुमान गरिएको छ। गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन्।

उच्चस्तरीय समितिका अध्यक्ष जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो।

बैठकमा राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ नेपालीलाई दूतावासले यात्रा अनुमतिपत्र जारी गरेको जानकारी गराएका थिए।

उच्चस्तरीय समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा‌. बद्री केसीले संघका अध्यक्षकुमार पन्त नेपालीको उद्धारका लागि पोल्याण्डको सीमा क्षेत्रमा आफैं परिचालित भएको जानकारी दिए।



Leave a Reply

Your email address will not be published.