हप्तामा ५५ घण्टाभन्दा बढी काम गर्नुहुन्छ?, यदि गर्नुहुन्छ भने तपाईं मृत्युको जोखिममा हुनुहुन्छ

हेल्थपोस्ट नेपाल

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय श्रम संगठनको अध्ययनअनुसार हप्तामा ५५ घण्टाभन्दा बढी काम गर्दा हृदयाघात र स्ट्रोकबाट मृत्यु हुने जोखिम बढ्छ। विश्व लगातार दोस्रो वर्ष कोरोना भाइरससँग जुधिरहेको अवस्थामा यो प्रतिवेदन सार्वजनिक भएको छ। मानिसहरू घरबाट काम गरिरहेका छन् र काम गर्ने तरिकामा पनि परिवर्तन आएको छ।

सन् २०२० देखि नै विश्वभरका मानिसको जीवनशैलीमा अचानक परिवर्तन भएको छ। यसको मुख्य कारण कोरोना भाइरस नै हो। लकडाउन र प्रतिबन्धका कारण मानिसहरू घरबाटै काम गरिरहेका छन्, जसका कारण धेरै पटक कामको लागि बढी समय निकाल्नु परेको छ।

इन्भाइरोमेन्टल इन्टरनेशनल जर्नलमा प्रकाशित यो अनुसन्धान लामो समयसम्म काम गर्दा जीवन र स्वास्थ्यमा पर्ने जोखिमहरूको पहिलो विश्वव्यापी विश्लेषण पनि हो। अनुसन्धान महामारीअघिको अवधिमा ध्यान केन्द्रित गरिएको थियो र अनुसन्धानका लेखकहरूले लाखौं मानिसहरूमा गरिएका दर्जनौं अध्ययनहरूबाट प्राप्त डाटा प्रयोग गरेका छन्।

विश्व स्वास्थ्य संगठनको वातावरण, जलवायु परिवर्तन र स्वास्थ्य विभागकी निर्देशक मारिया नेइराका अनुसार हप्तामा ५५ घण्टा वा सोभन्दा बढी काम गर्नु स्वास्थ्यका लागि गम्भीर खतरा हो। ‘यसमा हामी सबै देशका सरकार, रोजगारदाता र कर्मचारीले ध्यान दिनुपर्ने बेला आएको छ। यो तथ्य हो कि लामो समय काम गर्दा अकालमा मृत्यु हुन सक्छ’, उनले भनिन्।

यो अनुसन्धानले हप्तामा ३५ देखि ४० घण्टा काम गर्नेहरूको तुलनामा ५५ घण्टा वा सोभन्दा बढी काम गर्नेहरूमा स्ट्रोकको जोखिम ३५ प्रतिशत र मुटुसम्बन्धी रोगको जोखिम १७ प्रतिशतले बढी पाइएको देखाएको छ।

विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय श्रम सङ्गठनले सन् २०१६ मा हप्तामा ५५ घण्टाभन्दा बढी काम गर्ने ३ लाख ९८ हजार व्यक्तिको मृत्यु स्ट्रोक र ३ लाख ४७ हजार व्यक्तिको मृत्यु हृदय रोगका कारण भएको अनुमान गरेको थियो।

सन् २००० र २०१६ को बीचमा लामो समयसम्म काम गर्नेहरुमा हृदय रोगका कारण हुने मृत्युमा ४२ प्रतिशतले वृद्धि भएको पाइएको थियो भने स्ट्रोकबाट हुने मृत्युमा १९ प्रतिशतले वृद्धि भएको पाइएको थियो।

रेकर्ड गरिएका मृत्युमध्ये धेरै जसो ६० देखि ७९ वर्ष उमेर समूहका मानिसहरू थिए। उनीहरुले ४५ देखि ७४ वर्षको बीचमा प्रतिहप्ता ५५ घण्टा वा सोभन्दा बढी काम गरेका थिए।

लामो समयसम्म काम गर्नेको संख्या बढ्दै गएकाले यो प्रवृत्तिप्रति डब्लुएचओ चिन्तित छ। हाल विश्वको जनसङ्ख्याको ९ प्रतिशतले लामो समय काम गरिरहेका छन्।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसस भन्छन्, ‘कोभिड-१९ ले धेरै मानिसहरूको काम गर्ने तरिकामा उल्लेखनीय परिवर्तन ल्याएको छ। धेरै उद्योगहरूमा टेलिवर्किङ एक सामान्य बनिसकेको छ। जसले प्रायः घर र काम बीचको सीमाहरू धमिलो पार्छ। धेरै व्यवसाय वा उद्योगले पैसा बचाउन थोरै जनशक्तिमा धेरै काम पनि गराइरहेका छन् भने सञ्चालन समय पनि कम गरेका छन्। जसले गर्दा धेरै घण्टा काम गर्नेहरुको संख्या पनि बढिरहेको छ र यसले उनीहरुको स्वास्थ्य जोखिम पनि बढाएको छ।’



Leave a Reply

Your email address will not be published.