कैलालीमा सरुवा रोग अनुसन्धान केन्द्रको भवन शिलान्यास

हेल्थपोस्ट नेपाल

कैलाली – कैलालीको टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्रको भवन निर्माण गर्न लागिएको छ। सुदूरपश्चिम प्रदेशले उपलब्ध गराएको बजेटमा निर्माण हुन लागेको उक्त केन्द्र टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले आज शिलान्यास गरे। उनले पछिल्लो समय विभिन्न खालका सरुवा रोगको सङ्क्रमण बढ्दै गएको अवस्थामा केन्द्रले पुर्याउने सेवा महत्वपूर्ण हुने बताए।

स्वास्थ्यका क्षेत्रमा टीकापुर धेरै अगाडि बढेको र त्यसमा पनि प्रदेश सरकारको लगानीमा निर्माण हुने यो केन्द्रले थुप्रै सम्भावनालाई बोकेकाले यस्ता कार्यमा नगरपालिकाको पनि साथ र सहयोग रहने नगरप्रमुख रावलले बताए।

रु ४ करोडको लागतमा निर्माण सुरु गरिएको केन्द्रलाई बहुवर्षीय आयोजनाको रुपमा लिइएको टीकापुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष दीपक रावलले बताए। उनले केन्द्रका लागि रु १६ करोड बजेट आवश्यक पर्ने बताउँदै यसबाट टीकापुर अस्पतालको क्षमता वृद्धिमा समेत टेवा पुग्ने बताए।

प्रदेश सरकारले गत आर्थिक वर्षमा उक्त केन्द्रका लागि रु २ करोड बजेट विनियोजन गरेकामा कोरोना संक्रमणका कारण काम अगाडि बढ्न नसकेकाले त्यसलाई क्रमागतमा राखेर चालु आर्थिक वर्षमा पुनः रु २ करोड बजेट प्रदेश सरकारले विनियोजन गरेको थियो।



Leave a Reply

Your email address will not be published.