नगरस्तरीय कोभिड अस्पताल निर्माण सुरु

हेल्थपोस्ट नेपाल

तनहुँ – तनहुँको व्यास नगरपालिकाले दुम्सीचौरमा नगरस्तरीय कोभिड अस्पताल निर्माण सुरु गरेको छ। व्यास–१० स्थित पिसिआर प्रयोगशालाको आडमै रहेको सार्वजनिक जग्गामा नगरपालिकाले नगरस्तरीय कोभिड अस्पतालको भवन निर्माण सुरु गरेको हो।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उक्त भवनको आज शिलान्यास गर्दै सङ्घीयताका कारण जनताले गाउँघरमै सेवा लिन पाएको बताए। स्थानीय तह नभएको भए कोभिडको महामारीमा जनताले अकालमा मृत्युवरण गर्नुपर्ने स्थिति आउने जनाउँदै उनले भने, ‘संविधानले व्यवस्था गरेबमोजिमको सङ्घीयताले आज जनताले वडावडामै स्वास्थ्य सेवा पाउन सफल भएका छन्।’

स्वास्थ्यको क्षेत्रमा सिंहदरबारले मात्र केही गर्न नसकेको जनाउँदै उनले कोभिड महामारी नियन्त्रणका लागि स्थानीय सरकारले गरेको प्रयास प्रशंशायोग्य रहेको बताए। कोभिड अस्पतालले यस क्षेत्रका बासिन्दालाई गुणस्तरीय सेवा दिने विश्वास पनि उनले व्यक्त गरे।

रु १ करोड ५६ लाखमा अस्पताल निर्माणका लागि बोलपत्र आह्वान गरे पनि रु ८९ लाख ९४ हजार ३१४ मा ठेक्का लागेको छ। अस्पताल निर्माणको जिम्मा क्वालिटी इन्द्रावती कन्स्ट्रक्सन प्रालिले पाएको छ। आठ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको छ।

अस्पताल २५ शय्या क्षमताको हुनेछ। अस्पताल भवनमा चिकित्सकको आवाससमेत व्यवस्था गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। नगरपालिकाले सोही ठाउँमा पिसिआर प्रयोगशाला सञ्चालन गरिरहेको छ। कोभिड-१९ को महामारीका बेला पिसिआर रिपोर्ट आउन नौ/दश दिन लागेपछि विभिन्न सङ्घसंस्था, व्यक्ति र नगरपालिकाको लागत सहभागितामा प्रयोगशाला सञ्चालन भइरहेको छ। उक्त प्रयोगशालाबाट नगरपालिकाले निःशुल्करुपमा पिसिआर परीक्षण गरिरहेको छ।



Leave a Reply

Your email address will not be published.