काभ्रेमा कोरोना संक्रमणदर शून्यमा झर्दै

हेल्थपोस्ट नेपाल

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको सात स्थानीय तह कोरोना संक्रमणमुक्त भएका छन्। दुई नगरपालिका र पाँच गाउँपालिका संक्रमणमुक्त भएपछिको पछिल्लो दुई दिनदेखि थप संक्रमित देखिएका छैनन्। कोरोना संक्रमणमुक्त हुनेमा नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौंदेउराली गाउँपालिका रहेका छन्।

पाँचखाल नगर र भुम्लु गाउँपालिकामा एक/एक सक्रिय संक्रमित रहेका जिल्लास्थित कोभिड-१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार केन्द्र (डिसिसिएमसी) ले जनाएको छ।

केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप संक्रमण नपाइएको र बिहीबार १३ जना संक्रमणमुक्त भएका छन्। जिल्लामा ६ नगरपालिका र सात गाउँपालिका छन्। जिल्लामा हाल १६ सक्रिय संक्रमितमध्ये धुलिखेल नगरमा ६, बनेपामा दुई, पनौतीमा चार र रोशी गाउँपालिकामा चार संक्रमित रहेका केन्द्रको तथ्यांकले देखाएको छ।

जिल्लामा हालसम्म १७ हजार ५५० मा संक्रमण देखिएकामा १९५ को मृत्यु भएको छ। कोरोना संक्रमणको तेस्रो लहरमा जिल्लामा एक पुरुषको मृत्यु भएको थियो। हालसम्म कूल सङ्क्रमितमध्ये ९८.७९ प्रतिशत अर्थात् १७ हजार ३३९ संक्रमणमुक्त भइसकेका छन्।



Leave a Reply

Your email address will not be published.