दालभात उत्तम खाना

सन् २०१९, सेप्टेम्बर १० मा विश्व प्रसिद्ध बेलायती ‘नेचर जर्नल’मा दाल, भात, रोटी, शब्जी र भान्सामा दैनिक रुपमा प्रयोग गरिने मसलाहरुका बारेमा महत्वपूर्ण अनुसन्धान प्रकाशित भयो। दाल भातको सट्टा छोडेर पत्रु परिकारहरु बर्गर, पिज्जा, स्यान्डविच, चाउमिन, चाउचाऊ खाँदा मुटुरोग, मधुमेह रोग हुन्छ भन्नेबारे यस अनुसन्धानमा विशेष चर्चा गरिएको छ ।

जर्मनीको ल्युबेक युनिभर्सिटीका प्राध्यापक राल्फ लुडविजको नेतृत्वमा भारतीय डा. यास्क गुप्ता र उनका दुईजना वैज्ञानिक साथीहरुको समूहले मिलेर गरेको उक्त अनुसन्धानबाट नेपाल र भातरको भान्सामा पाक्ने दालभात र तरकारीको परिकारलाई स्वस्थकर रहेको पुष्टि गरेको थियो।

चारजना विशेषज्ञ वैज्ञानिकहरूले २ वर्षको समय लगाएर गरेको अनुसन्धानमा परम्परागत दालभात र पत्रु खानाहरूको तुलनात्मक अनुसन्धानले देखाएको छ कि दालभात उत्तम खाना हो।

भलाकुसारी गर्दा ‘भात खानुभयो?’ भनेर सोधिन्छ।

दालमा (प्रोटिनयुक्त) र सब्जी (भिटामिन र मिनिरल्सयुक्त) सबै सँगै खाँदा शरीरलाई सञ्चो गर्छ। अतः ‘भात खानु भयो?’ भनेर सोध्नुको अर्थ ‘सञ्चै हुनुहुन्छ नि’ भन्नु हो।

मौलिक पकाउने शैली, तरकारीहरुको विविधता, मसलाहरुको औषधीय गुण, ताजा अचार आदिले खाना सन्तुलित एवं दालभातलाई रुचिकर बनाउँछ। यसरी पाकेको खानाले शरीरलाई स्वस्थ बनाउँछ। स्वस्थ भोजनले मानव शरीरका खर्बौं कोषहरुलाई लगातार उर्जा सञ्चार गर्छ। कोष थाक्न दिँदैन फलतः शरीर थाक्न पाउँदैन।

यस्तो खान छाडेर मानिसहरु प्रोटिन, क्याल्सियमको चक्की खान्छन्। हिजोआज पोषणको कुरा गर्दा प्रोटिन, क्याल्सियम, आइरन, जिंक आदि क्याप्सुलका रुपमा दिए मात्र स्वास्थ्य राम्रो हुन्छ भन्ने भ्रमपूर्ण धारणा छ।

अहिलेचाहिँ थालमा भात खाने परम्परागत चलनलाई व्यापारीहरुले थाली भनेर पस्कन्छन्। महंगो पैसा लिन्छन्।

अहिले नेपाली खानाको रुपमा सबै भात, दाल, तरकारी, अचार, दही, कढी, पापड हुन्छ। गुन्द्रुक, गोलभेडा र टिमुरको अचार पनि हुन्छ। अर्थात वैज्ञानिकरुपमा हेर्दा त्यस व्यञ्नजमा शरीरलाई आवश्यक ‘सूक्ष्म पोषक’ तत्वहरु भरिपूर्ण हुन्छन्। दालभात मिलाएर खाए पेटमा शोषण पनि राम्रोसँग हुन्छ।

चामल सहजरुपमा उपलब्ध नहुने ठाउँहरुमा पनि त्यसको विकल्पमा अन्य अनाजहरु र स्थानीयरुपमा फल्ने गेडागुडीलाई दालको परिकार बनाएर खाने गरिन्छ।

आयुर्वेदको चरक संहिता अध्यााय एकमा आहार चर्चा गरिएको छ। जसमा खानाको प्रकृति, पकाउने विधि, मात्रा, ठाउँ, काल (मौसम अनुसारको खानपिन), उपयोग संस्था (भोजन गर्ने बेलाको अनुशासन) बारे पनि लेखिएको छ। एकै प्रकारको खाना मात्र खाँदा एक त त्यसबाट स्वाद प्राप्त हुँदैन भने अर्कोतिर शरीरमा पोषक तत्वहरु पाइन्न।

कारोना महामारीको बेलामा स्वास्थ्यको झनै ख्याल राख्नुपर्छ। रोगसँग लड्ने शक्ति बढाउन भान्छामा पाकेको दालभात, सब्जी, नास्तामा ताजा फलफूल र खाजामा स्वस्थकर परम्परागत खाना नै खाने गर्नुपर्छ।



Leave a Reply

Your email address will not be published.