सुदूरपश्चिम प्रदेशमा आँखा, नाक, कान, घाँटी तथा मुखसम्बन्धी प्रशिक्षण तालिम सम्पन्न

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा आँखा, नाक, कान, घाँटी तथा मुखसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ। तालिम धनगढीमा आयोजना गरिएको थियो।
प्रदेशका सबै ९ जिल्लाका अस्पताल तथा स्वास्थ्य कार्यालयका फोकल पर्सन, चिकित्सक, सेवाप्रदायकलगायतका स्वास्थ्यकर्मीलाई दुई ब्याच गरी ३६ जनालाई तालिम दिइएको थियो।
कार्यक्रमको शुभारम्भ सामाजिक विकास मन्त्रालयका सचिव रीता भण्डारीको प्रमुख आतिथ्यता, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उपचारात्मक महाशाखाका आँखा, नाक, कान, घाँटी प्रमुख डा. प्रकाश बुढाथोकीको विशिष्ट आतिथ्यता, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदिश जोशीको आतिथ्यता तथा स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्रसिंह कार्कीको अध्यक्षता भएको थियो।
डा. जगदिश जोशीले सुदूरपश्चिम प्रदेशका हरेक स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्ने गरी तयारी स्वरुप संघीय सरकारबाट हरेक प्रदेशमा तालिम दिन लागिएको बताए। प्रदेशले स्वास्थ्यक्षेत्रमा सूचकहरुमा सुधार गरेको र अझ धेरै गर्न लागिपरेको उनले बताए।
तालिम कार्यक्रममा मुख स्वास्थ्यतर्फ केन्द्रका डा. प्रकाश बुढाथोकी र सामाजिक बिकास मन्त्रालयका डा. नरेश जोशी, आँखा स्वास्थ्यतर्फ गेटा अस्पतालबाट डा. रमेश भट्ट र नाक, कान घाँटीतर्फ सेती प्रादेशिक अस्पतालका डा. अशोक श्रीपाईलीले प्रशिक्षण सहजीकरण गरेका थिए।
स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाले प्रदेश तथा स्थानीय तहका नीति निर्माता, कार्यान्वयन, योजनाकारलाई संवेदनशील बनाउन प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक, प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक, सामाजिक विकास तथा प्रदेश स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखलाई यसअघि अभिमुखीकरण गरिसकेको छ।