नेपालीले खान्छन् औसतभन्दा बढी नुन : अध्ययन

हेल्थपोस्ट नेपाल

काठमाडौं – नेपालीले औसतभन्दा बढी नुन खाने गरेका तथ्य सार्वजनिक भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेका पछिल्ला अध्ययनमा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले तोकेको भन्दा बढी मात्रामा नेपालीले नुन खाने गरेका बताइएको छ।

सन् २०१९ मा गरिएको र त्यसको अर्को वर्ष सार्वजनिक भएको नसर्ने रोगसम्बन्धी एउटा अध्ययन प्रतिवेदनमा नेपालीले औसतमा भन्दा बढी नुन खाने गरेका उल्लेख छ। उक्त अनुसान्धान अनुसार नेपालीले औसतमा दैनिक ९.१ ग्राम नुन खाने गरेको देखिएको छ। तर, डब्लुएचओले दैनिक ५ ग्रामभन्दा कम नुन खानुपर्ने सिफारिस गरेको छ।

नेपालमा औसतमा पुरुषहरूले दैनिक ९.६ ग्राम र महिलाले ८.७ ग्राम नुन खाने गरेको उक्त अनुसन्धानले देखाएको छ। अनुसन्धानकर्ताहरूका अनुसार विभिन्न स्थानका व्यक्तिहरूको पिसाब परीक्षण गरेर उक्त विवरण निकालिएको हो।

नेपालीहरूमा नुन धेरै खानाले हुने स्वास्थ्यसम्बन्धी समस्या बढ्न थालेको र त्यो चिन्ताको विषय भएको चिकित्सक तथा अनुसन्धानकर्ताहरूले बताएका छन्। नेपालमा नसर्ने रोगहरूमा देखिएको वृद्धि पनि नुनको अधिक प्रयोग एउटा प्रमुख कारण हुनसक्ने उनीहरुको तर्क छ‍।



Leave a Reply

Your email address will not be published.