‘नक्कली डाक्टर’ बनेर १८ विवाह गरेका यी ६७ वर्षीय ‘ल्याब असिस्टेन्ट’

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतको ओडिशा प्रहरीले एकल, सम्बन्धविच्छेद वा विधवा महिलाहरूलाई नक्कली डाक्टर बनेर आफ्नो मायाजालमा पार्ने बिहु पीएसलाई पक्राउ गरेको छ। भुवनेश्वर प्रहरीका डिसिपी सञ्जीव सतपन्थीका अनुसार आरोपीले ४५ देखि ५० वर्ष उमेर समूहका एकल सफल महिलालाई लक्षित गर्ने गरेका थिए।

उनले विवाहका लागि पार्टनर खोज्ने वैवाहिक साइटहरूमा आफूलाई ५१ वर्षीय डाक्टरको रूपमा वर्णन गर्थे। उनले नक्कली परिचयपत्र र प्रमाणपत्रका माध्यमबाट आफूलाई बढाइचढाइ गर्ने गरेका थिए। प्रहरीले अभियुक्तको वास्तविक उमेर ६७ वर्ष रहेको बताएको छ।

प्रहरी अधिकारी सतपन्थीका अनुसार उसले पैसाको लागि र कहिलेकाहीँ यौनसम्पर्कका लागि यस्तो गर्ने गरेको खुलासा भएको छ। बूढो भइसकेका वा सम्बन्धविच्छेद भइसकेका वा पुनः विवाह गरेका विधवा महिलाले लाजका कारण प्रहरीमा गुनासो नगरेका र यसकै फाइदा उनले उठाउने गरेका थिए।

अनुसन्धानका क्रममा सबै श्रीमतीको नम्बर आरोपीको मोबाइलमा म्याडम दिल्ली, म्याडम युपी र म्याडम असम आदि नाममा सेभ गरिएको थियो। केही बलिउड फिल्महरूमा जस्तै अभियुक्तले नयाँ श्रीमतीसँग केही दिन खुसीसाथ बिताउने गर्थे र त्यसपछि आपतकालिन बहानामा पैसा वा गहना उधारो लिने गर्थे। यस क्रममा उनले अहिलेसम्म १८ जना महिलालाई ठगिसकेको अनुसन्धानकर्ताहरुको अनुमान छ।

प्रहरीका अनुसार मे २०२१ मा ४८ वर्षीया महिलाले पहिलो पटक बिहुको गुनासो गरेकी थिइन्। एफआइआर दर्ता गराएकी ति महिलाले बिहुले आफूलाई धोका दिएर विवाह गरेको र अहिलेसम्म कम्तीमा पनि सातजना महिलासँग विवाह गरिसकेको बताएकी थिइन्। सोही महिलाले चुपचुप थप सात महिलाको जानकारी प्रहरीलाई दिइन्। ती महिलालाई विश्वासमा लिएर सोधपुछ गर्दा उनीहरुलाई पनि बिहुले ठगी गरेको थाहा भयो।

उड़ीसाको सानो गाउँमा जन्मेका बिहुले सन् १९७८ मा पहिलो विवाह गरेका प्रहरीको दाबी छ। त्यो विवाहबाट तीन छोराछोरी जन्मेका थिए। जसमध्ये दुई डाक्टर र एक डेन्टिस्ट छन्। परिवारसँगको विवादका कारण बिहु ओडिशाको राजधानी भुवनेश्वर आएका थिए। पेशाले ल्याब असिस्टेन्टको रूपमा काम गर्ने बिहुले आफूलाई भुवनेश्वरमा डाक्टरको रूपमा परिचित गराएका थिए। उनले सन् २००२ मा एक डाक्टरसँग दोस्रो विवाह पनि गरे। त्यसपछि उनले इन्टरनेटमा आफ्नो नाम परिवर्तन गरेर कहिले आफूलाई डाक्टर त कहिले प्रोफेसर भनेर राख्दै श्रीमती खोज्न थाले।

यो ठगीमा बिहु एक्लै संलग्न नभएको प्रहरी आशंका छ। भारतको प्रमुख अंग्रेजी अखबार हिन्दुस्तान टाइम्सले दाबी गरेको छ कि बिहुले १० राज्यमा कम्तीमा २७ जना महिलासँग विवाह गरेका छन्। उनीमाथि १३ वटा बैंकबाट १ करोड रुपैयाँ ढगी गरेको पनि आरोप छ। यसका लागि उनले १२८ नक्कली क्रेडिट कार्डको सहारा लिएका थिए। अखबारको रिपोर्टले यो पनि दाबी गरेको छ कि, बिहुले मेडिकल ल्याबको एक चेन खोलेका छन् जसमा काम गर्ने डाक्टर र कर्मचारीहरूलाई धेरै महिनादेखि तलब दिइएको छैन।



Leave a Reply

Your email address will not be published.