तपाईंको वैवाहिक सम्बन्धमा समस्या नबनोस् ‘उमेर अन्तर’

हेल्थपोस्ट नेपाल

काठमाडौं – भनिन्छ, प्रेममा उमेर, रूप, धन र सामाजिक भिन्नताले फरक पार्दैन। तर जब दम्पतीबीचको उमेरको अन्तर धेरै हुन्छ तब मानिसलाई यस्तो सम्बन्ध स्वीकार गर्न गाह्रो हुन्छ। मानिसहरूले यस्तो सम्बन्ध पछिसम्म चल्नेमा संका व्यक्त गर्दछन्। यस प्रकारको सम्बन्धमा जोडीहरुले धेरै समस्याहरू पनि सामना गर्नुपर्ने हुनसक्छ। तर, थोरै समझदारी र आपसी सहयोगले यस्ता सम्बन्धलाई सजिलै अगाडि बढाउन सकिन्छ र सफल पनि हुन्छ। उमेरमा धेरै भिन्नता भएका जोडीहरूले कसरी आफ्नो सम्बन्धलाई बलियो र सफल बनाउने त?

आफ्नो अपेक्षाहरुका बारेमा खुलेर छलफल गर्नुहोस्

कुराकानी वा संवाद कुनै पनि सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यद्यपि, जब दुई साथीहरूको उमेरको भिन्नता ठूलो हुन्छ उनीहरूको विचार, अपेक्षा र मनोवृत्ति पनि धेरै फरक हुनसक्छ। यस्तो अवस्थामा आफ्नो पार्टनरसँग विभिन्न विषयमा छलफल गर्नुहोस्। तपाईं जीवनबाट के चाहनुहुन्छ, तपाईं आफ्नो करियरमा अगाडि बढ्न के गर्न चाहनुहुन्छ र परिवार हुर्काउने, सम्पत्तिहरू खरिद गर्ने वा विदेशमा बसोबास गर्ने जस्ता मुद्दाहरूमा तपाईंको र तपाईंको पार्टनरको अपेक्षाहरू के छन् खुलेर कुरा राख्नुस्।

तपाईंका कुरा मान्न जबरजस्ती नगर्नुहोस्

प्रायजसो युवा जोडीहरूमा एउटा पार्टनरले अर्को पार्टनरको सबै कुरा स्वीकार गरेको देखिन्छ। यस्तै अर्को पार्टनरले आफ्नो पार्टनरलाई आफ्ना कुरामा सहमत गराउन जबरजस्ती गरिरहेको हुन्छ। तर, उमेर बढ्दै जाँदा व्यक्तिहरूले यस्तो व्यवहारलाई कम व्यावहारिक र कहिलेकाहीँ केटाकेटीपन पनि मान्छन्। यस्तो अवस्थामा जब पार्टनरबीच उमेरको अन्तर हुन्छ, तब एकअर्काको भावना र विचार बुझेर आफ्नो कुरा मान्न दबाब कहिल्यै नदिनुहोस्।

एकअर्कालाई दिनुहोस् ‘पर्सनल स्पेस’

धेरै उमेर अन्तर भएका जोडीहरूले एकअर्काको व्यक्तिगत कुराको विशेष ख्याल गर्नुपर्छ। पार्टनरहरुको उमेर अन्तरका कारण, करियर र सामाजिक सर्कलमा पनि फरक-फरक विचार वा धारणा हुनसक्छ। त्यसैगरी पार्टनरलाई उनीहरुको परिवार वा आफन्तहरुसँग भेटघाटका लागि कहिल्यै नरोक्नुहोस्। कम उमेरको पार्टनरलाई आमाबाबु, साना भाइबहिनी र साथीहरूसँग समय बिताउनबाट रोक्नु उचित मान्न सकिँदैन। त्यसैगरी, आफ्नो पार्टनरको व्यावसायिक जीवनसँग सम्बन्धित निर्णयहरूमा हस्तक्षेप नगर्नुहोस्। कतै जानबाट पनि नरोक्नुहोस्।



Leave a Reply

Your email address will not be published.