महिनावारीसम्बन्धी उत्पादन : कतै अभाव, कतै अन्योल

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो शताब्दीमा धनी देशहरूमा महिनावारीमा हुने असुविधालाई कम गर्न थुप्रै प्रकारका डिस्पोजेबल ट्याम्पोन र प्याडहरू उपलब्ध भएका छन्। तर यी उत्पादनहरू सुविधाजनक त छन् उत्तम भने छैनन्। यी उत्पादनहरूमा महिलाहरुले धेरै पैसा खर्च गर्नु परिरहेको छ। कतिपय जो सँगै जागिर र पैसा छैन उनीहरुलाई यसको उपयोग गर्न झनै गाह्रो छ। यी उत्पादनहरू अन्ततः डस्टबिनमा फालिन्छन्। जसले वातावरणलाई हानि पुर्‍याएको छ। बेलायती अनुसन्धानकर्ताहरूका अनुसार एक सामान्य गैर-अर्गानिक प्याड पूर्ण रूपमा नष्ट हुन ५००-८०० वर्ष लाग्छ।

यति मात्र होइन एक खराब ट्याम्पोन ‘टक्सिक सक सिन्ड्रोम’ को कारण बन्न सक्छ। यो दुर्लभ तर घातक प्रकारको संक्रमण हो। यद्यपि, यी उत्पादनहरू विश्वभरका धेरै महिनावारी भएका महिलाहरूमा व्यापक प्रयोग भएका छन्।

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) का अनुसार हरेक महिना १ अर्ब ८ करोड महिला महिनावारी हुने गरेका छन्। तर, कसैको लागि यी साधनको प्रयोग सजिलो छ भने कसैको लागि छैन। महँगो उत्पादन खरिद गर्न नसक्नेलगायत महिनावारीसँग सम्बन्धित सामाजिक लाज र हिचकिचाहट, सुविधाजनक उत्पादन र आधारभूत सरसफाइ सुविधाको अभावले पनि अधिकांश महिलाहरु महिनावारीको समयमा विद्यालय जान सक्दैनन्। बंगलादेश, भारत, युगान्डा र बेलायतका केही महिलाहरु महिनावारी हुँदा यी विविध कारणले घरमै बस्न बाध्य हुने गरेका अध्ययनले देखाएको छ।

विकल्प के-के छन्?

डिस्पोजेबल ट्याम्पोन र प्याडहरूबाट दिक्क भएकाहरूसँग अब नयाँ विकल्पका रुपमा पुन: प्रयोग गर्न मिल्ने महिनावारी कप, महिनावारी अन्डरवेयर, कपडाबाट बनेका प्याड र पिरियड डिस्क आइसकेका छन्।

डिस्पोजेबल उत्पादनहरुको विकल्पमा आएको सबैभन्दा लोकप्रिय महिनावारी कप हो। यसलाई १० वर्षसम्म प्रयोग गर्न मिल्छ। यसको एक लोकप्रिय ब्रान्ड हो डिभाकप। यसको वेबसाइटका अनुसार यसलाई लगातार १२ घण्टासम्म लगाउन सकिन्छ। यसलाई पानी र साबुनले धोएपछि फेरि लगाउन मिल्छ।

यद्यपि, यो कपहरू केही महँगो पनि छ। यसलाई निसंक्रमण गर्न तातो पानीमा उमाल्नु पनि पर्छ। यो केही झन्झटिलो छ। पानीको अभाव भएका वा उमाल्ने साधन नभएकालाई यो गर्न असहज हुन्छ। अनुसन्धानले यो कप पनि सही तरिकाले प्रयोग नगरे ट्याम्पोनहरू जस्तै टक्सिक सक सिन्ड्रोमको कारण बन्नसक्ने देखाएका छन्।

पिरियड अन्डरवेयर पनि एक राम्रो विकल्प हुन सक्छ। तर, तिनीहरूले त्यस्तो प्रभावकारी रुपमा काम गर्न सक्दैनन् जसले गर्दा तिनीहरूबाट चुहावटको जोखिम हुन्छ। यो उत्पादनको समीक्षा गर्ने केही वेबसाइटहरुले पूरै पिरियडमा नधोइकन यसलाई लगाउने हो भने कम्तीमा तीनदेखि चार जोडी किन्नुपर्ने बताएका छन्। यसले लामो समयका लागि पैसा बचाउने भए पनि तत्कालका लागि खर्च बढी हुने देखाइएको छ।

पिरियड डिस्कहरू पनि पिरियड कप जस्तै योनीभित्र राखिन्छ। तर ट्याम्पोन जस्तै डिस्पोजेबल हुन्छ। कप वा ट्याम्पोनहरू जस्तो नभई डिस्कहरू पाठेघर (गर्भाशयको तल्लो भाग) मा राखिन्छन् र योनीमा प्रवेश गर्नु अघि रगत डिस्कमा जम्मा हुन्छ। यसबाट यौनसम्पर्कमा कुनै बाधा पनि आउँदैन र सुरक्षित तरिकाले गर्न सकिन्छ। हालसम्म डिस्कको प्रयोगले टक्सिक सक सिन्ड्रोम निम्त्याउन सक्छ भनेर पुष्टि हुने कुनै रिपोर्ट आएको छैन।

कस्ता साधनलाई बेवास्ता गर्ने?

विज्ञहरूका अनुसार, महिलाहरुले यी थुप्रै विकल्पमध्ये त्यही चुन्नु पर्छ जुन उनीहरुलाई प्रयोग गर्दा सहज हुन्छ र राम्रोसँग काम पनि गर्छ।

‘सी स्पन्ज’ ट्याम्पोनहरू पनि उपलब्ध छन्। यो वास्तविक स्पन्जबाट वा सिन्थेटिकबाट बनेको हुन्छ। धेरै महिला स्वास्थ्य वेबसाइटहरूले यसको अत्यधिक प्रशंसा पनि गरेका छन्। यसलाई कटन ट्याम्पोनको प्राकृतिक र दिगो विकल्पको रूपमा चिनिन्छ। तर यस्तै प्रकारका अन्य ट्याम्पोनबाट बच्नु पर्छ।

क्यानडाकी स्त्री रोग विशेषज्ञ जेन गुन्टर जो न्युयोर्क टाइम्समा महिलाको स्वास्थ्य विषयमा मासिक स्तम्भ पनि लेख्छिन्, उनी भन्छिन्, ‘स्पन्ज यसकारण पनि बेवास्ता गर्नुपर्छ किनकि तिनीहरू सफा गर्ने कुनै तरिका छैन। यसको मतलब तिनीहरूले योनीमा बाहिरी ब्याक्टेरियाहरूलाई प्रवेश दिन सक्छन्। साथै तिनीहरूको नराम्रो सतहले योनीको नाजुक झिल्लीमा असर निम्त्याउन सक्छ, जसलाई महिलाले बेवास्ता गरिरहेका हुन्छन्। तर यसले ब्याक्टेरीया सहज प्रवेशका लागि पर्याप्त बाटो बनाएको हुन्छ।

उनी स्पन्जको आकारले पनि योनीमा चोट पुर्‍याउन सक्ने बताउँछिन्। किनभने यो ठाडो नभइ तेर्सो रूपमा फैलिएर बस्छ। यसलाई हटाउने क्रममा समस्या आउन सक्छ।

अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) को गाइडेन्स पेपरका अनुसार सन् १९८० मा महिनावारी स्पन्जमा गरिएको जाँचमा बालुवा, धुलो, ब्याक्टेरीया र अन्य विभिन्न पदार्थहरू पाइएको थियो। पेपरका अनुसार नमुनामा स्ट्याफिलोकोकस ओरियस नामक ब्याक्टेरीया रहेको पुष्टि भएको थियो।

एफडीएको अनुसन्धान पछि वितरकहरूले धेरै स्पन्जहरू बजारबाट फिर्ता ल्याए। तर स्पन्जहरु अझै पनि जेड एण्ड पर्ल जस्ता कम्पनीहरूमार्फत अनलाइन बेचिन्छ। नियामकहरूको अनुसन्धानले उच्च-अवशोषक ट्याम्पोन र रेली ब्रान्डको ट्याम्पोनको प्रयोगमा टक्सिक सक सिन्ड्रोम संक्रमणको जोखिम रहेको पत्ता लगाएको थियो। त्यसपछि ती उत्पादनहरुलाई सन् १९८० मा बजारबाट हटाइएको थियो।

अवरोध र उपलब्धता

अमेरिकामा महिनावारीको समयमा प्याडहरू प्राय: ट्याम्पोन जस्तै प्रयोग गरिन्छ। ट्याम्पोन युरोप मा अधिक बिक्री हुन्छ। कटन ट्याम्पोन चाँडै अर्थात ६ महिनामा नष्ट हुन्छ। जबकि अमेरिकामा पाइने ट्याम्पोनसँग आउने प्लास्टिक एप्लिकेटर र र्‍यापरहरू सड्न धेरै समय लाग्छ।

युरोपमा ट्याम्पोन, एप्लिकेटर वा र्‍यापर बिना नै बेचिन्छन्। यो कागजको प्याकिङमा आउँछ जसले फोहोर कम गर्छ। विश्वका अन्य भागहरूमा ट्याम्पोनहरू विरलै प्रयोग गरिन्छ। अध्ययनले देखाएको छ कि यसको प्रयोग कतिपय ठाउँमा सांस्कृतिक कारणले पनि गरिँदैन। यिनीहरूलाई फोहोर वा अपवित्र मानिन्छ वा यसले महिलाको कुमारीत्व भंग गर्छ भनिन्छ। केही ठाउँमा यसलाई प्रयोग नगर्नुको कारण आर्थिक पनि मानिन्छ।

जाम्बिया, सुडान, इथियोपिया जस्ता देशहरूमा अझै पनि महिलाहरूले महिनावारी हुँदा च्यातिएका वा फाटेका पुराना सुती कपडा प्रयोग गर्छन्। तिनीहरूसँग डिस्पोजेबल साधन प्रयोग गर्न सक्ने वा किन्न सक्ने आर्थिक क्षमता हुँदैन।

दक्षिण सुडानमा सन् २०१५ मा गरिएको एक अध्ययनले सर्वेक्षणमा सहभागी महिलामध्ये केवल १७ प्रतिशतले मात्र बजारमा पाइने डिस्पोजेबल सेनेटरी प्याडहरू प्रयोग गरिरहेको देखाएको थियो। बाँकी केटीहरूले पुरानो लुगा वा बाख्राको छाला प्रयोग गरेको पाइयो।

अध्ययनका अनुसार इथियोपिया, जिम्बाब्वे र तान्जानियामा एक चौथाइ भन्दा कम महिलाहरुले महिनावारीको समयमा डिस्पोजेबल प्याड लगाउँछन्। बाँकीले पुरानो लुगा, कपास र ट्वाइलेट पेपर प्रयोग गर्छन्।

नेपालमा महिनावारीको समयमा छाउगोठमा बस्ने चलन अझै केही भू-भागमा छ। यो गैरकानुनी भए पनि विकट ठाउँ जहाँ शिक्षा र चनचेतनाको कमी छ त्यस्ता ठाउँमा अझै छाउगोठ प्रचलनमा छन्। सन् २०१९ को सर्वेक्षणले मध्यपश्चिम नेपालका गाउँमा रहेका ४०० किशोरीहरूमध्ये ७७ प्रतिशत छाउगोठमा बस्ने गरेका देखाएको थियो। सर्वेक्षणले ६० प्रतिशत महिलाले यो कानुनविपरीत भएको थाहा पनि पाएका बताएका थिए।

इथियोपिया जस्ता देशहरुमा जहाँ महिनावारीका उत्पादनहरू उपलब्ध छैनन् वा पहुँचयोग्य छैनन् त्यहाँ पुन: प्रयोग गर्न मिल्ने फ्रीप्याडहरू वा कपहरु वितरण गर्ने गरिएको छ। तर यी विकल्पहरू धेरै महिलाहरूका लागि समस्या पनि बनेका छन्। किनकि यी ठाउँहरुमा ती साधन प्रयोगपश्चात सफा गर्न पर्याप्त सफा पानीको अभाव छ र घरमा शौचालयको पनि अभाव छ।



Leave a Reply

Your email address will not be published.