वर्षा र हिमपातको सम्भावना, चिसोबाट जोगिन आग्रह

हेल्थपोस्ट नेपाल

काठमाडौं – देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाएको छ ।

बिहान र बेलुकीका समयमा चिसो रहने हुनाले यसबाट जोगिन र पहाडी भू–भागको केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री र अधिकतम तापक्रम १९.४ डिग्री सेल्सियस रहेको छ। त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २.८ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २५.४ डिग्री सेल्सियस छ।



Leave a Reply

Your email address will not be published.