दमक अस्पतालमा अब नसर्ने रोगको पनि उपचार सेवा

हेल्थपोस्ट नेपाल

झापा – सरकारी अस्पतालका रूपमा विकास हुँदै आएको दमक अस्पतालमा अब नसर्ने रोगको उपचारका लागि नयाँ कार्यक्रम विस्तार गरिएको छ। अस्पतालका अध्यक्षसमेत रहेकी नगरपालिका उपप्रमुख गीता अधिकारीले नसर्ने रोगबारे स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न काठमाडौं इन्स्टिच्युट अफ चायल्ड हेल्थसँग नगरपालिकाले सम्झौता गरेको जानकारी दिइन्।

बिहीबार नगरप्रमुख रोमनाथ ओली, उपप्रमुख अधिकारी र काठमाडौं इन्स्टिच्युट अफ चायल्ड हेल्थका तर्फबाट अध्यक्ष प्रा. डा. भगवान् कोइरालाबीच त्यस विषयमा सम्झौता भएको थियो। उक्त कार्यक्रमअन्तर्गत कार्डियो (मुटु) मधुमेह, सिओपिडी र पाठेघरको मुख तथा स्तन क्यान्सर पहिचान गरी स्थानीयस्तरमै उपचार गरिने जानकारी दिइयो। यहाँ उपचार सम्भव नभएका बिरामीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरी पठाइने बताइएको छ। धरानमा यहाँबाट पठाइएका बिरामीका लागि सहयोग गर्न छुट्टै हेल्पडेस्क स्थापना गर्न अस्पतालका सम्बन्धित व्यवस्थापन पक्षसँग परामर्श गरी सहकार्य गर्न सकिने प्रतिष्ठानका प्रा. डा. सञ्जीव शर्माले जानकारी दिए।

सम्झौतामा सेवा सञ्चालनका लागि दुवै पक्ष आवश्यक सहकार्य गरेर काम गर्न तयार हुने, आवश्यकता र उपयोगिताका आधारमा यससँग सम्बन्धित सबै सरोकारवालाले काम गर्ने र गराउने, कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने नीति बनाउन सरोकारवालाबीच सहकार्य गर्ने पनि उल्लेख छ।

सम्झौता कार्यान्वयनका सम्बन्धमा स्पष्ट पार्दै नगरप्रमुख ओलीले अब यो सुविधा लिनका लागि दमक बाहिर रहेका निजी अस्पतालमा महङ्गो शुल्क खर्चिनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे‍। त्यसका लागि आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापनमा केही चुनौती देखिए पनि दमक तथा आसपासका लागि यो कार्यक्रम महत्वपूर्ण भएको उनको भनाइ थियो।

सम्झौतापछि स्वास्थ्य अधिकारीको टोलीले दमक अस्पतालमा निर्माणाधीन भवनसमेत अनुगमन गरेको थियो। अनुगमनपछि मुटुरोग विशेषज्ञसमेत रहेका डा. कोइरालाले भवन भव्य बन्दै गरेको र निर्माण सम्पन्नपछि यस क्षेत्रका नागरिकको स्वास्थ्यसँग जोडिएका अन्य सेवा पनि यहाँबाट सञ्चालन गर्न सकिने सुझाव दिए।

यसैगरी बालबालिकाको स्वास्थ्य समस्या निदान गर्ने उद्देश्यले नगरपालिकाको समन्वयमा काठमाडौं इन्स्टिच्युट अफ चायल्ड हेल्थले दमकमा पनि छुट्टै अस्पताल सञ्चालन गर्ने गरी काम अघि बढाएको डा. कोइरालाले बताए। दमक–७ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवनमा बाल अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ। उक्त अस्पताल निर्माणस्थलसमेत अनुगमन पछि छिटो सेवा सुरु गर्न आफूहरु तयार भएको उनले सुनाए।

एड्भान्स अस्पतालमा सिटीस्क्यान

दमकमा पहिलोपटक एड्भान्स अस्पतालले सिटीस्क्यान सेवा थप गरेको छ। अस्पतालले सिटीस्क्यानका बिरामीलाई लक्ष्य गरी हालै त्यस्तो सेवा सुरु गरेको अस्पतालका निर्देशक चैतन्य बरालले बताए। दमक क्षेत्रमा सिटीस्क्यानको सुविधा नहुँदा बिरामीलाई बिर्तामोड वा विराटनगर धाउनुपर्ने बाध्यता थियो। अस्पतालका अध्यक्ष माधव पराजुलीले अब यस क्षेत्रका बिरामीले अत्याधुनिक प्रविधिसहितको सिटीमेसिन जडान गरिएकाले थप सुविधा पाउने विश्वास व्यक्त गरे।



Leave a Reply

Your email address will not be published.