समलिङ्गी सम्बन्धलाई मजाक बनाउने सिनेमा क्षेत्र अहिले गम्भीर बन्न लागेको हो?

हेल्थपोस्ट नेपाल

काठमाडौं – “आदमी हूँ आदमी से प्यार करता हूँ” जब गोपालदास नीरजले फिल्म ‘पहचान’ को लागि यो गीत लेखेका थिए, तब उनको मानिसलाई इंगित गरेर भनेका थिए तर ठट्टामा यसलाई समलैंगिकतासँग जोडेर धेरै मजाक बनाइयो। समय परिवर्तन हुँदै गयो र एलजीबीटीक्यूमा सर्वोच्च अदालतको फैसलापछि समलिङ्गीलाई लिएर हाँस्ने सिनेमाहरु अहिले केही गम्भीर बनेका छन्।

पछिल्लो दशकमा समलैंगिकताको मुद्दामा धेरै फिल्म बने र मन पराइयो। समयसँगै ‘ए’ ग्रेडका कमर्सियल कलाकारले पनि यस्ता चलचित्रलाई गम्भीरताका साथ जनतासामु प्रस्तुत गर्न थालेका छन्। हालै आएको हर्षवर्धन कुलकर्णीको ‘बधाई दो’ यसको पछिल्लो उदाहरण हो। यस फिल्ममा राजकुमार राव र भूमि पेडनेकर मुख्य भूमिकामा छन्। समलिङ्गीहरूलाई तुच्छ ठान्ने र ठट्टा गर्ने चलन पूरै रोकिएको छैन, तर गम्भीरता भने देखिन थालेको छ।

धार्मिक, जातीय र सांस्कृतिक विषयलाई लिएर सिनेमामा देखाइने दृश्यलाई लिएर लगातार हंगामा भइरहेका बेला समलिंगीका मुद्दालाई अब सिनेमामा देखाउन थालिएको छ। पछिल्ला केही वर्षयता ‘पद्मावत’ जस्ता फिल्मदेखि लिएर ‘जश्न–ए–रिवाज’को विज्ञापनसम्म लगातार विवाद भइरहेको छ।

सम्बन्धलाई लिएर मजाक र विवाद

जब हिन्दी फिल्ममा दुईजना पुरुषको नजिकको कुरा आउँछ, एक पात्रले ‘चल हट…मै वैसा नही हुँ’(म त्यस्तो होइन भनेर समलिंगीलाई भन्न खोजिएको) भन्दै मजाक बनाउँदा हाँसोमा उडाइन्छ। चाहे त्यो फिल्म ‘कल हो ना हो’ मा सैफ र शाहरुखको निकटतालाई लिएर कान्ता बेनको भ्रम होस् वा ‘दोस्ताना’ मा अभिषेक बच्चन र जोन अब्राहमको साथ।

मधुर भण्डारकरको ‘पेज थ्री’ र ‘फेसन’मा समलैंगिकताका केही दृश्य देखिएका थिए। चलचित्रमा दुई महिलाको प्रेमलाई देखाइँदा यसको चर्को विरोध भएको थियो। दीपा मेहताको फिल्म ‘फायर’ को सुटिङका ​​क्रममा बनारससहित देशका विभिन्न भागमा भएको हंगामा कसैबाट लुकेको छैन। चलचित्र प्रदर्शनका क्रममा देशका धेरै ठाउँमा तोडफोडका घटना पनि भए।

करण राजदानको फिल्म ‘गर्लफ्रेण्ड’ को बारेमा पनि धेरै विवाद भएको थियो किनभने यो कथा दुई महिला पात्रहरूको प्रेमको बारेमा थियो, जसमा इशा कोप्पिकर र अमृता अरोराले भूमिका निर्वाह गरेका थिए। सन् २००४ मा आएको यो फिल्मलाई लिएर धेरै मानिस आक्रोशितसमेत भएका थिए।

करण भन्छन्, ‘विरोधमा मेरो पुत्ला जलाए पनि मैले आफ्नो कुराहरु फिल्ममार्फत राखेको थिएँ। मेरो फिल्ममा यातना भोगिरहेकी ईशाको त्यो पात्रले समाज र कानुनलाई यो कुरा स्वीकार गर्नुपर्छ भनिरहेको छ। गर्लफ्रेण्डपछि समलैंगिकताको बारेमा खुलेर कुराहरु आउन थाल्यो। केही स्वीकृतिहरु देखिन थाले र बिस्तारै केही वेबसिरिजमा त यसलाई सामान्य जीवन जस्तै देखाउन थालिएको छ। कतिपयले यसलाई हास्यास्पद बनाएका छन्, कतिपयले यसलाई घृणित ढंगले पनि देखाएका छन्। र यी दुवै गलत छन्। प्रकृतिले सृष्टि गरेको कुरालाई तपाईं कसरी गलत भन्न सक्नुहुन्छ? व्यक्तिगत रुचीलाई तपाईंहरुले मान्यता दिनैपर्छ।’

सिरियस सिनेमा

विगतका दशकहरूमा समलैंगिकतालाई लिएर बनेका थुप्रै फिल्महरुले गम्भीर बहस सुरु गराएका छन्। ओनिरको ‘माई ब्रदर निखिल’, सञ्जय शर्माको ‘डन्ट नो ह्वाइ’, ‘बम्बे टाकिज’ मा करण जोहरको कथामा रणदीप हुड्डा र साकिब सलीमको प्रसंग, ‘कपूर एण्ड सन्स’ मा फवाद खानको चरित्र, कल्कीको ‘मार्गरिटा विथ स्ट्र’लगायतका कतिपय फिल्ममा समलैंगिक सम्बन्धलाई गम्भीरताका साथ देखाइएको छ।

सोनम कपूर र रेजिना कसान्ड्राको समलैंगिक प्रेमकथा ‘एक लडकी को देखा तो ऐसा लगा’ ले यस सम्बन्धको बारेमा स्पष्टता र निडरता देखाएको छ। आयुष्मान खुराना र जितेन्द्र कुमारको ‘शुभ मंगल ज्यादा सावधान’ मा पनि यो मामिलामा एक कदम अगाडि छ।

सन् २०१५ मा आएको मनोज बाजपेयीको ‘अलिगढ’ चलचित्रले समलैंगिकतामाथि चलिरहेको बहसलाई नयाँ मोड मात्र दिएन यो मामिलामा सिनेमा पनि गम्भीर हुनेतर्फ ठूलो कदम थियो। प्रोफेसर रामचन्द्र सिरासको भूमिकामा मनोज बाजपेयीको अभिनय निकै लोकप्रिय थियो।

मनोज बाजपेयी भन्छन्, ‘अलिगढ फिल्मले यो बहस जन्माएको थियो र अलिगढलाई सर्वोच्च अदालतको फैसलामा पनि उल्लेख गरिएको छ। जब अलिगढ जस्तो फिल्मले यस्तो बहस सुरु गर्छ तब राजनीति र कानून समाजको यो दृष्टिकोणलाई फर्केर हेर्न बाध्य हुन्छन्।’

तर त्यस्ता फिल्मले समाज परिवर्तन भइरहेको छ त भन्ने विषयमा मनोज बाजपेयी भन्छन्, ‘सिनेमाले समाज बदल्छ भन्ने कुरामा म विश्वास गर्दिनँ। समाज आफ्नै हिसाबले विस्तारै परिवर्तन हुँदै जान्छ। मेरो सबै ज्ञान र शिक्षाले यो तथ्यको प्रमाण दिँदैन। अहिले समाज परिवर्तनलाई स्वीकार गर्ने ठाउँमा वा स्वभावमा आइपुगेको छ। तर के हुन्छ भने हामी राजनीति र समाज बुझ्दैनौं र बुझ्न केही समय लाग्छ।’

उनी भन्छन्, ‘कानुन बदल्नु वा राजनीतिको दृष्टिकोण बदल्नुको अर्थ सिनेमाबाट समाज परिवर्तन हुन्छ भन्ने होइन, दर्शकले सिनेमामार्फत कुनै मुद्दालाई स्वीकार गर्छन् भने त्यो विषयलाई तपाईंले कसरी देखाउनुभयो भन्ने मात्रै हो। दर्शक मनोरञ्जन चाहन्छन्। जब उनी सिनेमा हलमा वा ओटीटीको अगाडि बस्छन्, उनी मनोरञ्जन गर्न चाहन्छन्। र जब त्यो कथाले उसलाई बाँध्छ, तब मात्र त्यो मुद्दा प्रभावित हुन्छ वा उसले यसको बारेमा कुरा गर्छ। यदि कथा खराब छ भने मुद्दा वा उक्त विषयवस्तुको नोक्सान मात्र हुन्छ।’

मनोज बाजपेयीले अर्को चाखलाग्दो कुरा पनि भन्छन्, ‘यदि ग्रामीण भारतमा जानुहुन्छ भने, त्यहाँका मानिसहरूको समलैङ्गिताप्रतिको दृष्टिकोण सहरीको तुलनामा धेरै प्रगतिशील छ। यदि मेरो आफ्नै गाउँको कुरा गर्ने हो भने हामीकहाँ नटुआ नृत्य हुन्छ। जहाँ पुरुष महिलाको लुगा लगाएर नाच्ने गर्दछन्। यसलाई गलत मानिदैन। जब अलिगढ जस्तो फिल्म आयो झन यो विषयमा बहस अगाडि बढेको छ।’

एउटा कुरा पक्का छ कि समलैंगिकतालाई लिएर हटेको कानुनी कठोरताले यी सम्बन्धहरूमा गम्भीरताका साथ फिल्महरू बनाउने हिचकिचाहटको अन्त्य गरेको छ। चलचित्र ‘बधाई दो’का निर्देशक हर्षवर्धन कुलकर्णी भन्छन्, ‘समाज परिपक्व भइसकेको छ। समय लाग्छ तर काम गरेपछि प्रभाव देखिन थाल्छ।’

विवाहित जोडीको सम्बन्ध देखाउने हर्षवर्धन भन्छन्, ‘युवा पुस्तामा यस सम्बन्धको स्वीकार्यता छ। उनीहरुका साथी पहिले जो बन्द ढोकामा बस्थे, मानिसहरू उनीहरुको मजाक उडाउँथे। तर अहिले यस्तो ठूलो परिवर्तन भएको छ कि हामी जस्तो छौं त्यसलाई गम्भीरतापूर्वक देखाउन सक्छौं। अहिले समलिंगी समाजका मानिसहरूलाई पक्षपात वा ठट्टाका रूपमा देखाउने हो भने मानिसहरू रिसाउन सक्छन्, यस्तो परिवर्तन समाजमा आइसकेको छ।’

उनी भन्छन्, ‘धारा ३७७ हटाए पनि धेरै संघर्ष गर्न बाँकी छ। धेरै कथाहरू आइरहेका छन् र जसरी फिल्ममार्फत जनतामाझ पुर्‍याउने छौं, त्यति नै सामान्यतातर्फ अघि बढ्दै जानेछ।’

-बिबिसी



Leave a Reply

Your email address will not be published.