स्वास्थ्यमन्त्रीलाई भेटेर बेलायती राजदूतले दिइन् २१ लाख डोज खोप

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन्। बिहीबार मन्त्रालयमा राजदूत पोलिटले मन्त्री खतिवडासँग भेटवार्ता गरेकी हुन्।
भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको २ सय वर्ष भन्दा पूरानो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड महामारीको बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे। मन्त्री खतिवडाले भने, ‘विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धको यो लडाईंमा बेलायत सरकारले प्रदान गरेको भेन्टिलेटर, भ्याक्सिनलगायत अन्य स्वास्थ्य सामग्रीहरु सहयोग स्वरूप पाएकोमा बेलायती सरकार र बेलायती जनताप्रति हार्दिक आभार ब्यक्त गर्दछु।’
नेपालको पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासको लागि बेलायत सरकारले प्रदान गरेको सहयोग उल्लेखनीय रहेको मन्त्री खतिवडाले बताए। बेलायत, नेपालको पूरानो मित्र मात्र नभइ सबैभन्दा धेरै सहयोग प्रदान गर्ने दात्री निकाय पनि हो। सन् २००४ देखि नै नेपालको स्वास्थ्य क्षेत्र सुधारको लागि नेपाल स्वास्थ्य क्षेत्र रणनीति कार्यान्वयनको लागि बेलयात सरकारले गरेको योगदानको समेत मन्त्री खतिवडाले स्मरण गरे।
राजदूत पोलिटको जिज्ञासाका सन्दर्भमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सेवातर्फका सचिव डा. रोशन पोखरेलले थप प्रष्ट पारेका थिए। कार्यक्रममा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख डोज खोप मन्त्री खतिवडालाई हस्तान्तरण गरेकी थिइन्।
भेटघाट कार्यक्रममा सचिव पोखरेल, प्रवक्ता डा. संगिता मिश्रा, प्रेस सल्लाहकार शन्तराम बिडारीलगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।