स्वास्थ्यका एघारौं तहका आठजनाको जिम्मेवारी हेरफेर, को कहाँ?

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका ८ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै एघारौं तहका ८ स्वास्थ्यकर्मीहरुको जिम्मेवारी हेरफेर गरेको हो।
मन्त्रालयका सचिव रोशन पोखरेलका अनुसार स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रहेका डा. कृष्ण पौडेललाई मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ। सो महाशाखामा यसअघि तारानाथ पोखरेल रहेका थिए। उनले सरकारी सेवाबाट अवकास पाएपछि उक्त जिम्मेवारी पौडेललाई दिइएको हो।
इडिसिडीमा कोशी अस्पतालका मेसु डा. चुमनलाल दासलाई ल्याइएको छ। कोशीमा डा. यज्ञ खरेललाई निमित्त मेसुको जिम्मेवारी दिइएको डा. पोखरेलले जानकारी दिए। त्यसैगरी, कान्ति बाल अस्पतालमा भरतपुर अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधी बसौलालाई कार्यकारी निर्देशक जिम्मेवारी दिइएको छ। यसअघि डा. अजित रायमाझी कार्यकारी निर्देशक थिए।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा डा. यदुचन्द्र घिमिरेलाई ल्याइएको छ। उनी हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान केन्द्रका प्रमुख थिए। उनको ठाँउमा तालिम केन्द्रमा प्रमुख रहेका केशव पण्डितलाई पठाइएको छ। डा. सुधा देवकोटालाई राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रमै फिर्ता गरिएको छ। उनी डेढ महिनाअघि केन्द्रीय कारागार अस्पतालमा सरुवा भएकी थिइन्। केन्द्रीय कारागार अस्पतालमा डा. प्रकाशप्रसाद साहलाई जिम्मेवारी दिइएको छ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. श्रीराम तिवारी गण्डकीको स्वास्थ्य मन्त्रालयको सचिव भएर गएपछि रिक्त रहेको राष्ट्रिय क्षयरोग केन्द्रमा राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रका प्रमुख रहेका डा. सञ्जय ठाकुरलाई पठाइएको पोखरेलले जानकारी दिए।