बप्पी लहरीको निधन : जसले भारतमा भित्र्याएका थिए डिस्को संगीत

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको बुधबार निधन भएको छ। उनको ६९ वर्षको उमेरमा मुम्बईको जुहु अस्पतालमा निधन भएको हो।

गत वर्ष कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। तर केही समयपछि नै उनी डिस्चार्ज भएका थिए।

उनी एक महिनादेखि अस्पतालमा उपचाररत रहेकोमा सोमबारमात्रै डिस्चार्ज भएका थिए। तर अचानक गए राति स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

जसले भारतमा डिस्को संगीत भित्र्याए

बप्पी लहरी त्यस्ता गायकमध्ये एक हुन् जसले भारतमा डिस्को प्रचलनमा ल्याए। परम्परागतभन्दा फरक धारमा रहेर उनले सिर्जना गरेका लोकप्रिय गीतमा ‘चलते चलते,’ ‘डिस्को डान्सर’ र ‘शराबीकी धूम’ हुन्। उनले अन्तिम गीत सन् २०२० मा टाइगर श्राफ अभिनित फिल्म ‘बागी ३’ को ‘भंकास’ थियो।

बप्पी लहरीलाई सिने उद्योगमा ‘बप्पी दा’ भनिन्थ्यो। उनलाई सुनको गहनासँग अत्यन्त लगाव थियो। त्यसैले हरबखत उनी विभिन्न गहना घाँटीमा झुण्ड्याइरहन्थे।

उनले कम्पोज गरेका मध्ये डिस्को डान्सर, हिम्मतवाला, शराबी, एडभेन्चर अफ टार्जन, डान्स डान्स, सत्यमेव जयते, आजके शहंशाह, थानेदार, नम्बर आदमी, शोला और शबनम बढी चर्चित छन्। उनको गीत ‘जिमी–जिमी, आजा–आजा’ आज पनि निकै चर्चित छ।

बप्पी लहरीको यात्रा

बप्पी लहरीको वास्तविक नाम आलोकेश लाहिडी थियो। चार वर्षको उमेरमा लता मंगेश्करको गीतमा तबला बजाएर उनी सबैको नजरमा परेका थिए। त्यसपछि सबैले उनलाई मायाले बप्पी नामले बोलाउन थाले।

उनी बलिउडमा मात्र नभएर हलिउडमा समेत प्रख्यात थिए। ८० को दशक उनको डिस्को धुनमा नाच्यो र उनलाई डिस्को किङ बनाइदियो। बलिउड संगीतलाई डिजिटल गर्ने संगीतकारमा बप्पीको ठूलो योगदान मानिन्छ।

उनले २०१६ मा बीबीसीसँगको एक अन्तर्वार्तामा भनेका थिए, ‘मैले कैयौं अवार्ड जितेँ, तर ग्रामी अहिलेसम्म जित्न पाएको छैन। मैले ५ पटकसम्म ग्रामीमा आफ्ना गीत पठाएँ। यसपटक इण्डियन मेलोडी नामक एल्बम पठाएको छु।’ उक्त एल्बममा सूफी, लोकगीत र भारतीय संगीत शैलीका अन्य गीत समावेश थिए।

उनका संगीत हलिउडले समेत प्रयोग गरेका थिए। १९८१ मा निर्माण भएको फिल्म ‘ज्योति’ को गीत ‘कलियोंका चमन’ अमेरिकी सूचीमा उत्कृष्ट ४० मा परेको थियो।

उनी २०१४ मा राजनीतिमा प्रवेश गर्ने प्रयास पनि गरेका थिए। उनी सो वर्ष भाजपमा प्रवेश गरे। यद्यपि उनी २००४ मै कांग्रेसको चुनावी अभियानमा सहभागी भइसकेका थिए।

२०१४ मो लोकसभा चुनावमा उनी भाजपाका तर्फबाट हुगली जिल्लाको श्रीरामपुर लोकसभा सिटबाट उम्मेदवार बनेका थिए। तर चुनावमा हारे।



Leave a Reply

Your email address will not be published.