एमालेले माग्यो स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा

काठमाडौं – नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ। एक टेलिभिजन अन्तरवार्तामा दिएको अभिव्यक्तिप्रति आपत्ती जनाउँदै उसले राजीनामा माग गरेको हो। खतिवडाले एक टेलिभिजनलाई दिएको अन्तरवार्ताका क्रममा केपी ओली सरकारको पालामा आफूले कोभिडविरुद्धको पहिलो खोप ५ हजार रुपैयाँमा किनेर लगाएको बताएका थिए।
उक्त अभिव्यक्तिमा आपत्ती जनाउँदै एमालेले खतिवडाको अभिव्यक्ति झुटो र अफवाहपूर्ण रहेको बताएको छ। उसले मन्त्री खतिवडाले सिभिल अस्पतालमा पहिलो मात्रा खोप नि:शुल्क लगाएको अभिलेखसमेत सार्वजनिक गरेको छ। तत्कालिन सरकारले २०७७ फागनु १९ देखि २१ सम्म संघीय संसद्का सदस्यहरुलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको उक्त अभिलेखमा उल्लेख छ।
स्वास्थ्यमन्त्री खतिवडाले ओली सरकारको बद्नाम गर्नकै लागि जनसमुदायलाई गलत सुचना दिई कोभिडजस्तो संवेदनसिल विषयमा अफवाह सिर्जना गरेको एमालेले ठहर गरेको छ।
यस्तै, एमालेले २४ लाख मात्रा खोप हराएको तथ्य ढकछोप गर्न सरकारको तर्फबाट प्रयास भइरहेको आरोप पनि लगाएको छ।