विपन्न दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

झापा – झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ। गतवर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा स्वास्थ्य बीमा नै प्रभावकारी हुने निष्कर्ष निस्किएकाले यसवर्षदेखि दीर्घरोगी विपन्न परिवार छानीछानी बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए।
स्वास्थ्य स्वयंसेविका परिचालन गरेर पालिकाका ३१८ त्यस्ता रोगीको पहिचान गरिएको छ। उनीहरुको परिवारका पाँचजनासम्मको स्वास्थ्य बीमा गरेर बीमा कार्डसमेत वितरण गरिएको उनको भनाइ छ। वडा नं ४ का ७५ वर्षीय दीर्घरोगी सागिर मियाँले आर्थिक अभावले विगतमा स्वास्थ्य बीमा गर्न नसकेकामा पालिकाले गरिदिएको बीमाले अब वर्षभर औषधि ल्याएर खान सहज भएकोमा खुसी व्यक्त गरे।
पाँचजना परिवारको अभिभावक उनी उच्च रक्तचाप, मधुमेह र छालाको रोगले पीडित छन्। अर्काको घरमा दैनिक मजदूरी गर्दै आएका मियाँले यसअघि महिनामा रु ५०० बराबरको औषधि किनेर नियमित खाँदै आइरहेका थिए। यस्तै सात वर्षदेखि मुटु र उच्च रक्तचापको बिरामी झापा गाउँपालिका–४ की ६६ वर्षीया सुन्दरवती गणेशले मासिक रु २ हजार जति औषधि उपचारमा खर्च गर्दै आएकामा अब निःशुल्क हुने भएपछि खुसी भएकी छन्।
पालिकाले पठाएका स्वास्थ्य स्वयंसेविकाले बिरामीको आर्थिक अवस्था, उपचार गराइरहेको अस्पतालको प्रतिवेदन र रोगको प्रकृति हेरेर स्वास्थ्य बीमा गराउने परिवारको छनोट गरेका पालिकाको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए। ‘पालिकामा दीर्घरोगीको सङ्ख्या धेरै नै छ तर हामीले श्रमिक र विपन्न वर्गका परिवारलाई स्वास्थ्य बीमाका लागि छानेका छौं,’ उनले भने, ‘आर्थिक हैसियत हुनेले आफैं रकम तिरेर बीमा गर्न सकिहाल्छन् र उपचार गराउन खर्च पनि गर्न सक्छन्।’
चालू आर्थिक वर्षमा पालिकाले बजेटमै उच्च रक्तचाप र मधुमेहका दीर्घरोगीलाई निःशुल्क औषधि खरिदका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो। सोही बजेटबाट स्वास्थ्य बीमा गरिएको हो।