क्वारेन्टाइन अवधि सकिएपछि पनि ६८ दिनसम्म सक्रिय रहनसक्छ कोरोना भाइरस!

हेल्थपोस्ट नेपाल

काठमाडौं – डिसेम्बर २०२१ देखि जनवरी २०२२ सम्म विश्वभरका मानिसहरूले कोरोना महामारीको अर्को लहरको सामना गरे। सम्पूर्ण विश्व यस रोगको चपेटामा पर्न बाध्य छ। भर्खरै सार्वजनिक भएको कोरोनाको ओमिक्रोन भेरियन्टले विश्वभर तहसनहस बनाएको छ। नेपालमा पनि संक्रमणको तेस्रो लहरबाट बच्न सकेन। तर, दोस्रो लहरको तुलनमा मानवीय क्षति भने कमै भयो र जटिलतामा पनि धेरैमा देखिएन। तर, कोरोनाको जोखिमलाई कम आंकलन गर्ने गल्ती भने कहिल्यै गर्नु हुँदैन।

कोरोना निको हुनुको अर्थ अरुको तुलनामा तपाईंले रोग प्रतिरोधात्मक क्षमता बढी प्राप्त गर्नु भयो भन्ने होइन। कोरोनाबाट निको भएर पनि धेरै सचेतता अपनाउन जरुरी हुन्छ। भर्खरै गरिएको एक अध्ययनले क्वारेन्टाइनको अवधि पूरा गरेपछि पनि धेरै व्यक्ति संक्रमित रहेका तर उनीहरूको रिपोर्ट नेगेटिभ आएको खुलासा भएको छ।

बेलायती वैज्ञानिकहरूले एउटा नयाँ अध्ययनमा १० दिनसम्म क्वारेन्टाइनमा बस्दा पनि धेरै व्यक्तिहरू कोरोना संक्रमणबाट निको नहुने र लक्षण नदेखिए पनि अरूलाई सङ्क्रमण गर्न सक्ने खुलासा गरेका छन्। एक्सेटर विश्वविद्यालयका अन्वेषकहरूले यस अध्ययनको लागि नयाँ प्रकारको परीक्षण प्रयोग गरेका छन्। जसले अवधि समाप्त भएपछि पनि भाइरस वास्तवमै सक्रिय रहन्छ कि छैन भनेर पत्ता लगाउन सक्षम छ। शोधकर्ताहरूले एक्सेटर युनिभर्सिटीका १७६ जनामा ​​यो परीक्षण गरेका थिए जसको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो।

अध्ययनको नतिजा ‘इन्टरनेशनल जर्नल अफ इन्फेक्सियस डिजिज’ मा प्रकाशित भएको छ। जसमा वैज्ञानिकहरूले अध्ययनमा संलग्न १३ प्रतिशत व्यक्ति १० दिन क्वारेन्टाइनमा बस्दा पनि भाइरसबाट संक्रमित भएको र अरूलाई पनि संक्रमित गर्न सक्ने अवस्थामा थिए। अध्ययनका अनुसार धेरै मानिसमा ६८ दिनसम्म भाइरसको खतरनाक स्तर रहेको पाइएको थियो।

युनिभर्सिटी अफ एक्सेटर मेडिकल कलेजका प्रोफेसर लरेन ह्यारिस भन्छन्, ‘हाम्रो अध्ययन अन्य अध्ययनको तुलनामा सानो छ। तर, यसको नतिजाले कहिलेकाँही कोभिड भाइरस संक्रमित व्यक्तिमा १० दिन भन्दा बढी सक्रिय रहन सक्छ भन्ने देखाउँछ।’ अनुसन्धानकर्ताहरुका अनुसार धेरै मानिसहरुमा क्वारेन्टाइन पछि पनि भाइरस सक्रिय रहन्छ र यो संक्रमण फैलाउने दिशामा निकै खतरनाक हुन्छ।

बेलायतलगायत अन्य धेरै देशहरूमा कोरोना महामारी तीव्र रूपमा फैलिएको छ। अहिले ओमिक्रोनका केसमा कमी आएको भए पनि यो बढी संक्रामक भएकाले सतर्कता अपनाउन जरुरी छ।



Leave a Reply

Your email address will not be published.