कोरोना संक्रमणमुक्त भइसकेपछि पनि रहनुस् ‘अलर्ट’, मुटुमा आउनसक्छ समस्या

हेल्थपोस्ट नेपाल

काठमाडौं – संयुक्त राज्य अमेरिकामा गरिएको एक अध्ययनले कोभिड–१९ संक्रमणबाट निको भएको एक वर्षपछि पनि मानिसमा मुटुसम्बन्धी रोगको उच्च जोखिम रहेको देखाएको छ। अध्ययनले देखाएको छ कि कोभिड-१९ पछि कम्तिमा एक वर्षसम्म हृदय रोगको जोखिम हुन्छ।

ती जटिलताहरूमा मुटुको लय बढेको, मुटु सुन्निएको, रगत जम्ने, स्ट्रोक, कोरोनरी धमनी रोग, हृदयघात वा मृत्युसमेत समावेश छ। अनुसन्धानकर्ताहरूले यस्तो मुटुसम्बन्धी समस्या भएकाहरूमा स्वस्थ मानिस र युवाहरू बढी रहेको बताएका छन्।

अध्ययनले कोभिड–१९ बाट निको भएका मानिसहरूमा संक्रमणबाट प्रभावित नभएका मानिसहरूको तुलनामा हृदयघात र स्ट्रोकको सम्भावना निकै बढी रहेको देखाएको छ। र अझ चिन्ताको कुरा के छ भने ६५ वर्ष भन्दा कम उमेरका र मोटोपना वा मधुमेह जस्ता जोखिम नभएका तथा कोभिड संक्रमणपछि अस्पताल भर्ना हुन नपरेकाहरुमा पनि जोखिम बढेको अध्ययनले देखाएको छ।

अमेरिकी अनुसन्धानकर्ताहरुको यो अध्ययन नेचर मेडिसिन जर्नलमा हालै प्रकाशित भएको थियो। यस अध्ययनलाई भारतको दिल्लीका डाक्टरहरूले पनि समर्थन गरेका छन्। उनीहरुले महामारीको दोस्रो लहरमा संक्रमित व्यक्तिहरू मुटु सुन्निएको, हृदयघात र अनियमित मुटुको धड्कनका समस्या लिएर अस्पताल आइरहेको बताएका छन्। डाक्टरहरूले कोभिडबाट निको भइसकेका व्यक्तिहरू, हल्का बिरामी भएकाहरूले पनि संक्रमण भएको ६ महिनापछि मुटुको परीक्षण गराउनुपर्ने सुझाव दिएका छन्।



Leave a Reply

Your email address will not be published.