के हस्तमैथुनले लिंगको साइज घटाउँछ?

काठमाडौं – लगभग ८० प्रतिशत पुरुषहरू आफ्नो लिंगको आकारलाई लिएर चिन्तित हुन्छन्। केही पुरुषहरूको लागि स्वास्थ्य चिन्ताहरू सूचीमा यसको स्थान उच्च छ। किशोरावस्थामा केटाहरूमा अत्यधिक हस्तमैथुनले लिंगको आकार घटाउन सक्छ कि भनेर दशकौंदेखि बहस भइरहेको छ।
अत्यधिक हस्तमैथुनले लिंगको तन्तुलाई नोक्सान पुर्याउन सक्ने चिन्ता व्यक्त गरिएको पनि बेलाबखतमा सुन्ने गरिएको पाइन्छ। साथै यसले लिंगको विकासमा पनि असर गर्छ कि भन्ने आशंकाहरु पनि भेटिन्छ। कतिपयले वयस्क पुरुषहरूका लागि पनि यस्तै चिन्ता व्यक्त गर्छन्। उनीहरु भन्छन् कि, अत्यधिक हस्तमैथुनले पुरुषको लिंगको आकार घटाउन सक्छ।
तर, वास्तविकता यो भन्दा बिल्कुलै फरक छ। वैज्ञानिक रूपमा यी दुवै चिन्ताहरू अव्यवहारिक छन्। वास्तवमा हस्तमैथुनको कुनै शारीरिक रूपमा हानिकारक साइड इफेक्टहरू छैनन्। यद्यपि, अत्यधिक हस्तमैथुनले तपाईंको सम्बन्ध र दैनिक जीवनमा समस्या भने निम्त्याउन सक्छ।
यौन विज्ञहरुका अनुसार हस्तमैथुन सामान्य गतिविधि हो। यसले तपाईंको शरीरलाई राम्रो र खुसी महसुस गराउनुका साथै यौन तनावलाई शान्त पार्ने प्राकृतिक र सुरक्षित तरिका हो। यो सबै पृष्ठभूमि, लिङ्ग र जातिका मानिसले परापूर्व कालदेखि गर्दै आएका छन्।
विज्ञहरूका अनुसार सामान्य अवस्थामा हस्तमैथुनले लिंगको तन्तुमा कुनै क्षति पुर्याए पनि त्यो निकै कम हुन्छ। यहाँ केही क्षति किन भनिएको हो भने कतिपय अवस्थामा पुरुषहरु हस्तमैथुन गर्दा खतरनाक तरिका प्रयोग गर्छन् र लामो समयसम्म लिंगमा धेरै दबाब दिन्छन्। त्यस्ता अप्राकृतिक र अनुपयुक्त विधिहरूले तन्तुहरूलाई क्षति पुर्याउन सक्छ। जसले गर्दा पछि पार्टनरसँग यौनसम्पर्क गर्दा पीडा हुन सक्छ।
सामान्यतया, हस्तमैथुनको कुनै हानिकारक साइड इफेक्ट हुँदैन। तर, हस्तमैथुन गरेपछि कतिपयलाई नराम्रो महसुस हुन्छ। केही मानिसहरू आफ्नो सांस्कृतिक, आध्यात्मिक वा धार्मिक विश्वासका कारण हस्तमैथुनपछि दोषी भएको भावना महसुस गर्छन्। केही मानिसहरूले यसलाई फोहोरी र लाजमर्दो भएको बताउँछन्। यस्ता व्यक्तिहरूले के बुझ्नु आवश्यक छ कि हस्तमैथुन गर्नु न गलत हो न अनैतिक नै हो।
यदि तपाईंलाई हस्तमैथुन गरिसकेपछि दोषी भावना आउँछ भने वा नराम्रो महसुस हुन्छ भने जसलाई तपाईं विश्वास गर्नुहुन्छ यसबारे कुरा गर्नुस् वा आफ्ना भावना व्यक्त गर्नुस्। अथवा यौन स्वास्थ्यका विशेषज्ञ डाक्टरलाई पनि भेटेर यसबारे कुरा गर्न सक्नुहुन्छ।
विज्ञहरूका अनुसार हस्तमैथुन यौनको आत्मसन्तुष्टि प्राप्त गर्ने र स्वास्थ्य राम्रो बनाउने एक प्राकृतिक र प्रभावकारी तरिका हो। हस्तमैथुनले तपाईंको दिमाग र शरीरलाई धेरै फाइदा पुर्याउन सक्छ। यसको बानी लागे पनि तपाईंको स्वास्थ्यका लागि यसले आफैंमा कुनै हानी गर्दैन। यसको कुनै हानिकारक साइड इफेक्टहरू छैनन्। हस्तमैथुन गर्दा न त तपाईंको लिंग खुम्चिन्छ न त साइज नै घट्छ। यो सवै भ्रम हो। त्यसैले विनाकुनै हिचकिचाहट तपाईं प्राकृतिक रुपमा हस्तमैथुनबाट यौन आनन्द लिन सक्नुहुन्छ।