मन्त्री खतिवडा कार्यकालको शतक : स्वास्थ्य क्षेत्रमा के-के भए प्रगति? [पूर्णपाठ]

हेल्थपोस्ट नेपाल

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफूले कार्यकाल सम्हालेपछि भएका प्रगति विवरण एक सय दिन पुगेपछि सार्वजनिक गरेका छन्। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रगति विवरण सार्वजनिक गरेका हुन्।

उनले सो क्रममा सरकारको ‘खोप, खोप र खोप’ लाइ मूर्त रुप दिन मन्त्रालयको सम्पूर्ण संयन्त्र परिचालित भएको र कोभिड-१९ विरुद्धको खोप अभियान राष्ट्रव्यापी रुपमा संचालन गरिएको उल्लेख गरे। साथै, आफ्नो कार्यकालमा १२ देखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य सुरु गरिएको बताए।

मन्त्री खतिवडाले १८ वर्षमाथिका सबैलाई बुस्टर डोज प्रदान गरीने बताए। यस्तै, आगामी वैशाखसम्म लक्षित समूहका सबैलाई खोप लगाइसक्ने योजना रहेको उनले सुनाए। हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० मात्रा खोप प्राप्त भइसकेको बताउँदै उनले ३ करोड ४८ लाख २५ हजार ६०१ मात्रा लगाइसकिएको बताए।

मन्त्री खतिवडाले माघ २७ गतेसम्म १२ वर्षभन्दा माथिको लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिसकिएको विवरण सुनाए। उनले चाँडै ५ वर्षमाथिका लागि पनि खोप लगाउन सुरु गरिने उल्लेख गरे।

देशको मध्यभागमा ज्येष्ठ नागरिक अस्पताल निर्माण गरिने बताउँदै उनले यसका लागि टोली गठन गरेर अध्ययन थालिएको बताए। २२०० आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको र जर्मन विकास बैंकको सहयोगमा जिरी, रामेछाप र गोर्खामा सुविधासम्पन्न अस्पताल भवन निर्माण कार्य सम्पन्न भै हस्तान्तरण समेत भैसकेको उनले बताए। यस्तै, ५, १०, १५ बेडका २२६ वटा आधारभूत अस्पतालको टेन्डर प्रक्रिया भई कार्य प्रारम्भ भएको मन्त्री खतिवडाले बताए।

प्रगती विवरणको पूर्ण पाठ-

स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय श्री बिरोध खतिवडाज्यूले २०७८ असोज २२ गते मन्त्रालयको कार्यभार सम्हालेपछिको प्रगती विवरण
कोभिड खोप सम्बन्धी कार्य प्रगति –

१. सम्माननीय प्रधानमन्त्रीज्युले घोषणा गर्नु भएको एक मात्र प्राथमिकता “खोप, खोप र खोप” लाइ मूर्त रुप दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पूर्ण संयन्त्र परिचालित भएको र कोभिड-१९ विरुद्धको खोप अभियान राष्ट्रव्यापी रुपमा संचालन गरिएको :

(क) १२ देखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य सुरु गरिएको छ।

(ख) विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा, हाल सबै गर्भवती महिलाहरूलाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको छ।

(ग) लक्षित सबै जनसंख्यालाई पूर्ण मात्रा खोप प्रदान गर्ने तथा जोखिम समूह लक्षित बुस्टर मात्रा प्रदान गर्ने नीति अनुरुप पर्याप्त मात्रामा खोप अनुदान एबम खरिद मार्फत निरन्तर आपूर्ति भैरहेको छ।

(घ) २०७७ माघ महिनादेखि संचालित कोभिड-१९ विरुद्धको खोप अभियान समय तालिका बनाइ संचालन गरिएकोमा, २०७८ मंसिर महिनादेखि कोभिड १९ विरुद्धको खोप अभियान देशब्यापि रुपमा निरन्तर र नियमित संचालन भइरहेको। ६५ वर्ष भन्दा माथिको उमेर समूह, दीर्घ रोगी एवम् फ्रन्टलाइनरलक्षित गरी बुस्टर डोज भ्याक्सिन प्रदान गरिँदै आएकोमा मिति २०७८ माघ २७ गते देखि १८ वर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज भ्याक्सिन प्रदान गर्ने निर्णय भैसकेको छ।

(ङ) ५-११ बर्ष उमेर समुहको बाल बालिकालाइ समेत कोभिड-१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिस्चितता भएको छ

२. विगतमा संघीय तहबाट निश्चित अवधी निर्धारण गरेर निश्चित समूहलाई कोभिड-१९ विरुद्धको खोप प्रदान गरिएकोमा हाल कार्यनीति परिमार्जन गरी देहाए बमोजिमका रणनीति अबलम्बन गरिएको :

(क) खोपको पहुँच नपुगेको स्थान र समुदायको पहिचान गरी प्रदेश र स्थानीय सरकारको नेतृत्वमा खोप अभियान सञ्चालन गरिएको छ।

(ख) ठूला अस्पतालहरुमा र जनघनत्व बढी भएका शहरका विभिन्न सार्वजनिक स्थानहरुमा खोप केन्द्र निर्धारण गरेर दैनिक रुपमा खोप प्रदान भैरहेको छ।

(ग) दैनिक आवतजावत गर्ने स्थान जस्तै बसपार्क, काठमाडौं उपत्यकाका मुख्य प्रवेश नाकाहरुमा यात्रुहरूलाइ लक्षित गरी दैनिक खोप सेवा प्रदान गरिएको छ।

(घ) सार्वजनिक सेवा प्राप्तिको लागी कोभिड-१९ विरुद्धको खोप अनिवार्य रुपमा लिनुपर्ने कानूनी प्रावधान लागू गरिएको छ।

३. खोप लगाएको क्यू.आर.कोडसहितको प्रमाण पत्र स्थानीय तहबाट उपलब्ध गराउन सुरु गरिएको छ।

४. खोप कभरेजको लक्ष्य

•२०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाइलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भैसकेको छ।

•२०७८ माघ २७ गते सम्म १२ वर्षभन्दा माथिको लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको छ।

•२०७९ बैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड-१९ विरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष निर्धारण गरिएको र त्यस्को लागि आवश्यक पर्ने खोपको मौज्दात सुनिश्चित गरिसकिएको छ। हाल खोप लगाउने दरलाई हेर्दा यो लक्ष्य तोकिएको मिति भन्दा अगावै प्राप्त हुने अवस्था छ।

५. खोपको उपलब्धता (२०७८ माघ २७ सम्म)

•हालसम्म प्राप्त खोप : ४ करोड ६५ लाख ७० हजार ७२०
•खोप लगाएको मात्रा : ३ करोड ४८ लाख २५ हजार ६०१

६. कोभिड-१९को निदान गर्नको लागि पिसिआर परीक्षण गर्ने प्रयोगशालाको संख्या र परीक्षण क्षमता वृद्धि गरिएको र कोभिड-१९ को भेरियन्ट पत्ता लगाउन नेपालमा नै जिन सिक्वेन्सिङ कार्य सुरुवात भैसकेको छ। अनियमितता गर्ने प्रयोगशाला तथा अस्पतालहरुलाई कारबाहीको दायरामा ल्याउने कार्य भैरहेको छ। पिसिआर परीक्षणको मूल्य निजी अस्पताल/प्रयोगशालामा रु २ हजारबाट घटाई रु १५ सय र सरकारी स्वास्थ्य संस्थामा रु १ हजारबाट घटाई रु ८ सय कायम गरिएको छ।

७. कोभिड-१९ संक्रमितको उपचार व्यवस्थापनको लागि अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डर, आइसियु बेड, एचडियु बेडको संख्या वृद्धि गरी अस्पतालहरुको क्षमता वृद्धि गरिएको छ।

८. कोभिड-१९ युनिफाइड अस्पताल (वीर अस्पताल) मा २४ सै घण्टा हट लाइन (११३३) सेवा मार्फत परामर्श सेवा प्रदान गर्न सुरु भएको छ।

९. भारतसँग सिमाना जोडिएका प्रवेश बिन्दूहरुमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरी दैनिक नेपाल प्रवेश गर्ने यात्रुहरु मध्ये ९० प्रतिशतको स्क्रिनिङ भैरहेको तथा स्क्रिनिङ भएका मध्ये ८७ प्रतिशतभन्दा धेरैको कोभिड-१९ को परीक्षण भैरहेको छ।

१०. कपिलबस्तुमा फैलिएको हैजाको प्रकोपलाइ समयमै नियन्त्रण गरी, हैजाविरुद्धको खोप अभियानसमेत संचालन गरिएको छ।

मन्त्रालयका नयाँ नीतिगत दस्तावेजहरू :

१. नसर्ने रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (२०७८-२०८३) मन्त्रिपरिषदबाट स्वीकृत भैसकेको, मृगौला प्रत्यारोपण, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि-उपचार खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ को मस्यौदा, राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७८-२०८८ को मस्यौदा, राष्ट्रिय आँखा स्वास्थ्य रणनीति २०७८-२०८६ को अन्तिम मस्यौदा, जेरीयाट्रीक स्वास्थ्य सेवा रणनीति २०७८, नेपाल स्वास्थ्य लेखा २०१७/१८, नेपाल स्वास्थ्य संस्था सर्वेक्षण-२०२१, टेलिमेडिसिन सेवा संचालन कार्यविधि २०७८, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०७८ तर्जुमा भएको छ।

२. दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले सरकार र विकास साझेदारको संयुक्त पहलमा नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०७९-२०८६ तर्जुमा कार्य सुरु गरिएको छ। आगामी दुई महिनामा लागत अनुमान सहितको मस्यौदा तयार हुनेछ।

३. नेपालमा पहिलोपल्ट संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहमा जनगणना २०७८ मा आधारित मातृमृत्यु अध्ययन सम्पन्न गरिएको छ।

४. नेपालमा ओमिक्रोनका बिरामीहरु बढ्दो क्रममा रहेकोले राष्ट्रिय संयुक्त वार्षिक समिक्षा भर्चुवल माध्यमबाट सम्पन्न गरिएको। यस कार्यक्रममा संघ, प्रदेश र स्थानीय स्तरका स्वास्थ्यसम्बन्धी प्रगती र चुनौती विश्लेषण गर्दै थप प्रभाबकारी स्वास्थ्य सेवाका लागि योजना तर्जुमा गरिएको छ।

५. कोभिड-१९ संक्रमित बालबालिकाहरूको उपचारसम्बन्धी प्रोटोकल, आकस्मिक स्वास्थ्य सेवा, आधारभूत स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य, आँखा, नाक, कान, घाँटी, मुख स्वास्थ्यको लागि स्तरीय उपचार पद्धति (Standard Treatment Protocol)जारी गरिएको छ।

६. रेबिजविरुद्धको इम्यूनोग्लोबुलिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुवाट मात्र वितारण गरिँदै आएकोमा हाल सातै प्रदेशका १/१ ओटा अस्पतालवाट नि:शुल्क उपलब्ध हुने व्यवस्था गरिएको छ।

७. नेपालको मध्य भागमा जेष्ठ नागरिक अस्पताल स्थापना गर्ने उद्देश्यले समिति गठन गरी सम्भाव्यता अध्ययन गर्ने कार्य भै रहेको छ।

स्वास्थ्य सेवा तथा स्वास्थ्य संस्था विस्तारसम्बन्धी :

•२२०० आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको छ।
•जर्मन विकास बैंकको सहयोगमा जिरी, रामेछाप र गोर्खामा सुविधासम्पन्न अस्पताल भवन निर्माण कार्य सम्पन्न भै हस्तान्तरण समेत भैसकेको छ
•५, १०, १५ बेडका २२६ वटा आधारभूत अस्पतालको टेन्डर प्रक्रिया भई कार्य प्रारम्भ भएको छ।

अन्त्यमा, नेपालमा कोभिड-१९ को महामारीलाई नियन्त्रण गर्न एवम् कोभिड-१९ विरुद्धको खोप कार्यक्रमलाई सफल बनाउन योगदान गर्नुहुने स्वास्थ्यकर्मीहरु, जनप्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, कर्मचारीहरु, शिक्षक, विध्यार्थी, सरकारी, गैर सरकारी संघसंस्था, दातृनिकाय, समाजसेवी र संचारकर्मीरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। स्वास्थ्य क्षेत्र सुधारको लागि प्राप्त हुने रचनात्मक सुझावको स्वागत गर्दछु।



Leave a Reply

Your email address will not be published.