देशको मध्यभागमा ज्येष्ठ नागरिक अस्पताल बन्ने

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अर्को आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक अस्पताल निर्माण थालिने बताएका छन्। जिम्मेवारी सम्हालेको एक सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले यसका लागि अध्ययन टोली गठन गरिसकिएको बताए।
उनले देशको मध्यभागमा सबैलाई सहज हुने गरी अस्पताल निर्माण गरिने बताए। ‘सरकारले ज्येष्ठ नागरिक अस्पताल खोल्ने निर्णय गरेको छ। यो देशको मध्यभागमा सबैलाई पायक पर्ने गरी निर्माण हुनेछ। यसका लागि अध्ययन कमिटी बनाइएको छ। तीन महिनाभित्र विस्तृत विवरण आएपछि अर्को आर्थिक वर्षमा अस्पताल निर्माणका लागि बजेट विनियोजन हुन्छ’, मन्त्री खतिवडाले भने।